७ बर्ष अघि नै म्याद सकिएको सामान अझै बेच्दैछन् तानसेनका कतिपय ब्यापारी

0 1,435

पाल्पा । झण्डै १ वर्षमा तानसेन बजारमा अनुगमन भएको छ । अनुगमनका क्रममा ब्यापारीहरुले उपभोक्तासित पैसा लिएर म्याद गुज्रेका सामानहरु बेच्दै आएको पाइएको छ । तानसेनका व्यापारीहरुले उपभोक्तालाई म्याद नाघेर ७ वर्ष गुज्रेका सामग्री समेत बिक्री गर्ने गरेको खुलासा गरेको पाइएको छ । तानसेनका केही पसलबाट म्याद नाघेका चकलेट, कस्मेटिक सामग्री, पिउने पानी, पेय पदार्थ लगायतमा ठग्दै आएको पाइएको छ ।

प्रशासन कार्यालय सहित विभिन्न सरकारी कार्यालय, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि रहेको संयुक्त टोलीले बजार अनुगमन गरेका थिए । अनुगमनको क्रममा तानसेन नगरपालिकामा अवस्थित विभिन्न खाद्यन्न पसल, डेरी, वधशाला, मासु पसल , फेन्सी पसल, कस्मेटिक पसल, औषधी पसल लगायतका पसलहरुमा मूल्य सूची, साइनवोर्ड, व्यवसाय दर्ता र नविकरण, नापतौल, म्याद नाघेको सामग्री, यस अगाडिको निर्देशनको पालना लगायतका पक्षमा केन्द्रित रही अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा वर्तमान कोभिड १९को संक्रमणको अवस्थामा माक्स लगायतका स्वास्थ्य र सुरक्षाका मापदण्डको पालना भए नभएकोबारे समेत अनुगमन गरिएको थियो । सोही क्रममा केहि पसलमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई समेत सहभागी भएका थिए ।

तानसेनको मुख्य स्थलको रुपमा रहेको बसपार्कको होटल डायमण्डले एक वर्षअघि नै म्याद नाघेको पानीको बोत्तल अहिले पनि बिक्री गरिरहेको पाइएको छ । एक वर्षअघि नै म्याद नाघेका पानीको बोत्तल बिक्रीका लागि फ्रिजमा राखेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन् । सो होटलबाट अन्य म्याद नाघेका खाद्य सामाग्रीहरु पनि फेला परेको अनुगमन समितिले जनाएको छ ।

सिल्खानटोलको आयुव स्टोर्समा सन् २०१३ मा म्याद नाघिसकेका श्रृंगाारका सामग्री बिक्री गरेको पाइएको छ । सात वर्षअघि म्याद नाघेका पाउडर, अत्तर, विभिन्न प्रकारका अनुहार तथा हातमा लगाउने क्रिम बिक्रीका लागि राखिएको अवस्थामा फेला परेको र ती सामानहरु बरामद् गरिएको अनुगमन समितिले जनाएको छ ।

अनुगमनका क्रममा विभिन्न पेय पदार्थ, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको थियो । म्याद नाघेका सामग्री बिक्री गर्दै आएका व्यापारीलाई प्रशासनमा उपस्थित गराई आवश्यक अनुसन्धान गरिने बताइएको छ । अनुगमनका क्रममा २३ हजार ४ सय ५० रुपैया बराबरको म्याद नाघेका सामग्री जफत गरेर नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीले बताए ।

तस्बिरः जिल्ला प्रशासन कार्यालयको फेसबुकबाट

Comments
Loading...