९२ बर्षमा पनि सजिलै कोरोना जितियोःनामदेव न्यौपाने

0 316

सुशीला रेग्मी । पाल्पा
रामपुर नगरपालिका वडा नं ३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उनका परिवार, इष्टमित्र सबै खुसी छन् । घरमै आइसोलेशनमा करिव २२ दिन उच्च आत्मबल र अनुशासनका साथ बसेका न्यौपानेको अनुभव यतिखेर बालबालिकादेखि बृद्धसम्म सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उमेरले नौ दशक काटेका न्यौपानेले कोरोना पोजेटिभ देखिएपछि अनुशासनमा रहेर सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बसी, औषधोपचार, खानपानमा राम्रै ध्यान दिएकाले कोरोना जित्न सफल भएको अनुभव सुनाए । । अनुशासनमा बसेमा कोरोना सहजै जित्न सकिने उनको अनुभव छ ।

“कोरोना केही होइन भनेर जथाभावी हिड्डुल गर्ने, खानपानमा ध्यान नदिने, स्वास्थ्य सुरक्षा नअपाउँदा जोखिम बढेको छ, मलाई लाग्छ कोरोना हाउगुजी जस्तै हो, अनुशासनको पालना गरौँ, कोरोना भन्दैमा नआत्तिऔँ, आत्मबल बढायौँ भने कोरोना जितिन्छ”, – उनले भने ।

उनले घरायसी तथा अस्पतालका औषधी उपचार पनि गरिन् । कोरोना रोग जितेपछि उनी अहिले घरभित्र बाहिर मज्जाले हिड्डुल गर्छन् । उनलाई गत वैशाख १२ गते देखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । बुबाले कोरोना जितेको देख्दा घर परिवार सबै हर्षित बनेको छोरा विष्णु न्यौपानेले बताए ।

“बुबालाई कोरोना पोजेटिभ देखिएपछि उहाँको रेखदेखमा हामी सबै परिवार सर्तक भएर लाग्यौँ, बुबाले आइसोलेशनमा रहदा केही दिन होस नपाउने, आत्तिने गर्नुहुन्थ्यो, रेखदेख उपचार निरन्तर गरिरहदा २२ दिनपछि कोरोना जित्नुभयो”, उनले भने ।

रामपुर नगरपालिका वडा नं ५ सुन्दरटोल बस्ने दोवराज तिवारी पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि २२ दिन घरमै आइसोलेशनमा बसे । उनमा सुरुमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । तैपनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि आफूु, परिवार, आफन्त र छिमेकीको सुरक्षाका लागि घरमै बसे ।

उनले आइसोलेशनमा रहदा सरकारले निर्देशन गरेका स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित औषधोपचार, स्वास्थ्यकर्मीसँगको परामर्श तथा सल्लाहमा रहे । उनी भन्छन्, “पिसिआरमा पोजेटिभ रिपोर्ट आयो तर आफूुलाई सुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण कुनैपनि देखिदैन, कोरोना हो या होइन भन्ने दोधार पनि भयो, बीचमा भने सामान्य अप्ठ्यारो महसुस भयो, तर कोरोना लाग्यो भनेर म आफुलाई कत्तिपनि डर भएन” ।

उनलाई सङ्क्रमण देखिएको खबर सुनेपछि आफन्त, साथीभाइ भेटघाटका लागि जादा उनी आफैले अरुलाई सङ्क्रमणबारे सजग रहन सिकाउने, आत्मबल बढाउँने जस्ता सल्लाह दिने गर्थे । अहिले उनी आइसोलेशनबाट कोरोनालाई पराजित गरेर निस्केपछि सङ्क्रमितका घर घरमा स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्ने र सङ्क्रमित र उनका परिवारलाई आत्मबल बढाउन प्रेरित गर्छन् ।

पाल्पाको सामूदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छबिलाल खनालले दुई÷दुई पटक कोरोनासँग लडाइँ लडे । खनाललाई गतवर्ष र यसवर्ष कोरोना सङ्क्रमणको भाइरसले आक्रमण ग¥यो । तर उहाँ भने कोरोनासँग कत्तिपनि हतोत्साहित हुने, डराउने र बिचल्लित भने भएनन् । आफूुलाई सङ्क्रमण देखिएपनि हिम्मत गरे । आत्मबल बढाए, पटकसम्म कोरोना जित्नुभयो । उमेरले ५८ वर्ष पुगेका खनालमा गतवर्ष पहिलो पटक कोरोना सङ्क्रमण देखिदा ढाड धेरै दुख्ने, स्वाद, गन्ध थाहा नपाउने, सामान्य ज्वरो आउने समस्या थियो ।

पहिलो पटक सङ्क्रमित हुदा उनी २६ दिन घरमै आइसोलेशनमै बसेर कोरोना जिते । दोस्रो पटकको कोरोनाले आक्रमण गरेपछि १६ दिन घरमै आइसोलेशनमा बसेर कोरोना जित्न सफल भएका छन् । “पहिलो पटक पोजेटिभ देखिदा कोरोनासँग मिल्दोजुल्दो केही समस्या देखिएको थियो, दोस्रो पटकको कोरोना देखिदा एक दुई दिन रुघाखोकी लाग्ने बाहेक खासै समस्या भएन, आफुमा कुनै समस्या नभएपनि पोजेटिभ देखिएपछि सतर्क भएर घरमै बसेँ अहिले निको भएपछि आफ्नै दैनिक कामकाजमा लागेको छु”, उनले भने ।

अहिले उनी पनि कोरोना सङ्क्रमितलाई आत्मबल बढाउन आफ्ना अनुभव सुनाउने गर्छन् । उनले आफूुमा पोजेटिभ सङ्क्रमण देखिएपछि नियमित रुपमा बेसारपानी, तेजपत्ता, तुलसीपत्र लगायतका विभिन्न घरायसी जडिबुटी, स्वास्थ्यकर्मीले दिएका औषधी र सल्लाह तथा परामर्शलाई निरन्तर अबलम्वन गरे ।

Comments
Loading...