तानसेनको ल्याण्डफिल्ड साइट प्रयोगमा ल्याउनै सकस

0
292

पबित्रा पराजुली । पाल्पा
तानसेन नगरपालिकामा निर्माण सम्पन्न स्यानेटरी ल्याण्डफिल्ड साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन । २०६९ असोजमा निर्माण सम्पन्न तानसेन शिवपोखरीमा रहेको ल्यान्डफिल्डमा २०७० असोजबाटै फोहर फाल्न बन्द गरिएको थियो । त्यसपछि तानसेनको फोहर बनदेवी स्थित बाटो छेउको जंगलमा बिर्सजन हुदै आएको छ ।

निर्माण पछि करिव एक बर्षसम्म मात्र संचालित उक्त ल्यान्डफिल्ड साइटले स्थानीय बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीय बासिन्दाले उक्त स्थानमा फोहर फाल्न रोक लगाएका थिए । स्थानीयको अवरोधकै कारण करोडौं रुपैयाँ खर्चिएर निर्माण गरिएको ल्यान्डफिल्ड साइट प्रयोग बिहिन भई जीर्ण बन्दै गएको छ भने बनदेवी क्षेत्रमा जथाभावी फालिएको फोहरले यस क्षेत्रमा दुर्गन्ध बढाएको छ । तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा संकलन फोहर अहिले देउराली सामुदायिक बनको गुल्मी जाने सडक खण्डको साइडमा फालिन्छ जसले गर्दा सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई दुर्गन्धको सास्ती खेप्नुपरेको स्थानीय माधव पौडेलले बताउनुभयो ।

तानसेन नगरपालिकाले ३४ रोपनी जग्गा व्यस्थापन गरी ल्यान्डफिल्ड साइट निर्माणको काम सुरु गरेको थियो । नगरपालिकाको २५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको ७५ प्रतिशत गरी एक करोड ६१ लाख रुपैयाँमा उक्त ल्याण्डफिल्ड साइट निर्माण गरिएको थियो । ल्यान्डफिल्ड साइट प्रयोगमा आउन नसकेतापनि २०७९ मा तानसेन नगरपालिका र वातावरणीय सुन्दर नेपाल, रुपन्देहीका बीचमा तानसेनको फोहर व्यवस्थापन गर्न दुई पक्षीय सम्झौता भएको थियो । सम्झौता अनुरुप हाल तानसेन नगरपालिका क्षेत्रका फोहोर देउराली सामुदायिक वन क्षेत्रमा बिर्सजन हुदै आएको छ । १० बर्षका लागी सम्झौता भएको सो कम्पनीसँग तानसेन नगरपालिकाले उचित काम नगरेको भन्दै यहि साउन १ गते देखि सम्झौता तोड्ने तयारी थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हरेक जोर गते कुहिने र बिजोर गते नकुहिने र हरेक महिनाको एक गते सीसाजन्य फोहर संकलन गर्ने गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सफा र सुन्दर तानसेन शहर हामी सबैको रहर भन्ने नारालाई सार्थकता तुल्याउन नगर कटिबद्ध रहेको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले ल्याण्डफिल्ड साइटलाई पुनः प्रयोगमा ल्याउन आफुहरू छलफलमै रहेको बताउनुभयो । भदौको पहिलो हप्ता सम्ममा ल्यान्डफिल्ड साइटमा प्लाष्टिक जन्य फोहोर संकलन गर्ने योजना रहेको बताउनुभयो । नगरपालिकाले बसपार्क साइडको एक सय रोपनी जग्गा मध्य १९ रोपनी जग्गा फोहोरमैला ब्यबस्थापन केन्द्र अन्तर्गत कुहिने फोहोरमैलाबाट फोहरमैला उर्जा ब्यवस्थापन केन्द्र संचालन गर्ने योजना भएतापनि बजेट अभावका कारण रोकिएको भण्डारीले बताउनुभयो ।

उक्त ल्यान्डफिल्ड साइट प्रयोगमा आउन नस्कदा संरचना भत्कदै गएका छन् । यसरी संरचना बनाउने र प्रयोगमा आउन नसक्ने हो भने सरकारको लगानी बालुवामा पानी खन्याए जस्तै हुन समय नलाग्ने सरोकारवाला ब्यक्तिहरुले बताएका छन् ।
१४ वटा वडा रहेको तानसेन नगरपालिकामा दैनिक करिव १० टन फोहोर संकलन हुँदै आएको छ । आर्थिक बर्ष ०८०,०८१ मा मात्र सरसफाईको क्षेत्रमा नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको छ । फोहर संकलनका लागि नगरपालिकामा २ टिप्पर, १ कम्प्याक्टर र १ ट्याक्टर रहेका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here