पत्रकार महासंघ पाल्पाले २५ जना सदस्यको सदस्यता नविकरण नगर्ने

0
810

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको बैठकले शाखामा आवद्ध २५ जना सदस्यहरुको नविकरण नगर्ने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय शुद्धिकरण अभियान अन्तरगत शाखामा आवद्ध रहेका स्थायी शिक्षक कर्मचारी, राजनीतिक दलका पदाधिकारी तथा जिल्ला कमिटि सदस्य, बिदेशमा रहेका ब्यक्तिहरु र स्वेच्छिक सदस्यता त्याग गरेका गरि जम्मा २५ जनाको नविकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

मंगलवार तानसेनमा सम्पन्न शाखाको बैठकले हाल बिदेशमा रहनुभएका ४ जना, पत्रकारिता बाहेक अन्य पेशालाई मुख्य पेशा बनाएको भन्दै स्वेच्छिक रुपमा राजीनामा दिनुभएका ७ जना, स्थायी शिक्षक कर्मचारी र राजनीतिक दलका पदाधिकारी १४ जना गरि २५ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । शाखामा हाल ९६ जना सदस्य रहेका छन् ।

बैठकले  हाल नविकरण नगर्ने निर्णयमा पर्नुभएका व्यक्तिहरुले यदि संलग्न रहेको दल वा कार्यालयबाट एउटा क्षेत्र मात्रै रोज्ने गरि प्रमाण पेश गर्न चाहेमा असार ७ गते साँझ ४ बजेसम्मको समय दिने निर्णय गरेको छ । तत्पश्चात निर्णय र पत्रकारहरुको नामावली नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा सिफारिस गरिने अध्यक्ष रानाले बताउनुभयो ।

बैठकले जिल्लाका स्थानीय तहहरुले हाल नीति तथा कार्यक्रम बनाउँदै गरेको सन्दर्भमा उक्त नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र, पत्रकार महासंघ र पाल्पाली पत्रकारहरुको संस्थागत एवम् क्षमता विकासका विषयमा सम्वोधन गर्न अनुरोध गर्ने निर्णय गरेको शाखा सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here