बगनासकालीको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित

0
985

पाल्पा । बगनासकाली गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि गत असार ७ गते प्रस्तुत नीति कार्यक्रम र बजेट सोमवार सम्पन्न गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

सोमवार भएको गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले यस अघि सभामा प्रस्तुत आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम उपर छलफल र निर्णयार्थ पेश गर्नुभएको थियो । गाउँसभा सदस्यहरुले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत् रुपमा पारित गरेका थिए ।

सभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बिनियोजन विधेयक २०८० उपर छलफल र निणयार्थ पेश गर्नुभएको थियो । त्यस्तै उपाध्यक्ष पाठकले आर्थिक विधेयक २०८० उपर छलफल र निर्णयार्थ पेश गर्नुभएको थियो । यी दुई वटै बिधेयक गाउँसभा सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरे ।

यस वर्ष गाउँपालिकाले टोल र वडाहरुबाट आएका योजनाहरुको आवश्यकता र महत्व हेरि बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो । बगनासकाली गाउँपालिकाले आगामी वर्षका लागि आर्थिक विकासतर्फ २ करोड २८ लाख ५० हजार, सामाजिक विकास तर्फ २४ करोड ८५ लाख ३७ हजार, पुर्वाधार विकास तर्फ ११ करोड ८९ लाख ७५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ६२ लाख ४३ हजार र कार्यालय संचालन र प्रशासनिक तर्फ ७ करोड ६८ लाख ५९ हजार ५२४ गरि जम्मा ४९ करोड ३४ लाख ६४ हजार ५ सय २४ रुपैयाँ बरावरको बजेट निर्माण गरेको छ । आगामी वर्ष पालिकाले आन्तरिक आयतर्फ ९० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ । वडाबाट सञ्चालन हुने योजनाहरुका लागि पालिकाले वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बजेट बिनियोजन गरेको छ । जस अन्तरगत वडा नं. १ र ६ मा ३८ लाखका दरले, वडा नं. २, ३, ४, ५ ७ र ९ मा ३४ लाखका दरले र वडा नं. ८ मा २८ लाख बजेट बिनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिका प्रशासनिक भवन निर्माणको निरन्तरताका लागि ५० लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, स्वास्थ्यतर्फ ३५ लाख, बालमैत्री कार्यक्रमका लागि २० लाख, कृषि कार्यक्रम संचालनका लागि ३५ लाख, पशु सेवा कार्यक्रमका लागि २० लाख, शैक्षिक गतिबिधि सुधार र गतिबिधि सञ्चालनका लागि ८२ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै युवा स्वरोजगार कार्यक्रमका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

पालिकाले चालु आर्थिक वर्षमा हुँदै आएकाअनुदान र लोककल्याणकारी कार्यक्रमहरुलाई आगामी वर्ष पनि निरन्तरता दिनेछ । खानेपानी लिफ्टिङको बिद्युत महसुलमा ६० प्रतिशत अनुदान निरन्तर हुनेछ । अभिभावक बिहीन बालबालिकाहरुका लागि स्याहार सम्भार र शिक्षाका लागि मासिक १ हजार, र ग र घ बर्गका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५०० र ३०० भत्ता दिने कार्यक्रम आगामी वर्ष पनि निरन्तर हुनेछ । स्वास्थ्य स्वयमसेविकाहरुको मासिक सुविधा बापतको १ हजार उपलब्ध गराइनेछ ।

भाषा, साहित्य तथा संस्कृति शिक्षा, स्वास्थ्य पर्यटन युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सुचना तथा सञ्चार, बालबालिका, महिला जेष्ठ नागरिक आदिवासी जनजाति, अपांगता भएका ब्यक्ति, सिमान्तकृत बोटे र कुमाल जातिलाई समेत ध्यानमा राखेर प्राप्त स्रोत र साधनको दायरामा रही कार्यक्रम र बजेटद्धारा यथोचित समेट्ने प्रयास गरिएको गाउँपालिका उपाध्यक्ष पाठकले बताउनुभयो ।

यस वर्ष पालिकाले गौरवको योजनाको रुपमा चिलाङ्दी चापपानी सडक अन्तरगत चिलाङ्दी देखि मालारानीसम्मको सडकको स्तरोन्नतीका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो ।
सभामा गाउँसभा सदस्यहरु ठानेश्वर तिमिल्सिना, लक्ष्मी अधिकारी, यमलाल तिमिल्सिना, कृष्ण भुसाल, कृष्ण बस्याल, राजेन्द्र बस्याल लगायतले आ–आफ्नो धारणा र सुझावहरु राख्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here