पाल्पा । बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरी उनीहरुलाई शैक्षिक प्रोत्साहन भत्ता वितरण गरेको छ ।
शुक्रवार एक कार्यक्रमका बीच १० जना बालबालिकालाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ । बालमैत्री कार्यक्रम अन्तर्गत गाउँपालिकाले शुक्रबार गाउँपालिका सभाहलमा एक कार्यक्रम आयोजना गरी उक्त भत्ता प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार ती बालबालिकालाई मासिक १ हजार रुपैंयाका दरले जनही १२ हजार रुपैंया प्रदान गरिएको हो ।
अध्यक्ष चिदीले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री घोषणा भएदेखि नै गाउँपालिकाले अभिभावक विहीन बालबालिकालाई प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बताउनुभयो । भत्ता रकम आमाबुवा गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले कार्यविधि जारी गरेर प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बालमैत्री फोकल पर्सन नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले अतिविपन्न एवम् गरिवीका कारण आफ्ना बालबालिका विद्यालय पठाउन नसक्ने परिवारलाई आयमूलक कार्यमा समेत सहयोग गर्ने नीति लिएको जनाएको छ । गरिब, असहाय, अनाथ बालबालिकाको सबै किसिमको अधिकार तथा सेवा सुविधाको लागि गाउँपालिकाले बजेटको सुनिश्चितता गर्दै आउको उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।
बालमैत्रीका सवै सूचकहरू पूरा गरी बगनासकाली गाउँपालिकालाई २०७७ चैत्र १४ गते बालमैत्री पालिका घोषणा गरिएको थियो । बालमैत्री कार्यक्रम अन्तर्गत गाउँपालिकाले यसअघि बालदिवसको अवसरमा अभिभावकविहीन बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको एम।आई।एस।अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो । बगनासकाली लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री घोषणा भएको गाउँपालिका हो ।