पाल्पा । रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम सञ्चालन गरिएको छ । सोमवारबाट सञ्चालन भएको तालिम मंगलवार अर्थात् आजसम्म चल्नेछ ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना र रम्भा गाउँपालिकाको सहयोगमा संचालन भएको तालिममा गाउँपालिका भित्रका २२ जना प्रशिक्षार्र्थी पत्रकारहरूको सहभागिता रहेको छ । रानिबास सामुदायिक होमस्टे रम्भा २ फोक्सिङ्गकोटको सभा हलमा चलेको तालिममा पत्रकार मिलन बिश्वकर्माले सहजीकरण गर्नुभएको छ ।
तालिममा पत्रकारिताको परिचय, समाचारका परिचय पहिचान, संचारका माध्यम, समाचारका प्रकार र तत्व लगायतका बारेमा सिकाइएको छ । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य भोबिसरा सारुले समाजमा छिटो परिवर्तन ल्याउन र व्यक्तिमा उर्जा थप्न पत्रकारको महत्वपूर्ण भुमिका रहेकोले रम्भा गाउँपालिकाले पत्रकारिता तालिम संचालन गरेको बताउनुभयो । कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका सचिव दयाराज न्यौपानेको संचालन तथा सदस्य खुमबहादुर पौडेलको अध्यक्षतामा चलेको थियो । रम्भा गाउँपालिकाले रानिबास सामुदायिक होमस्टेको प्रवद्र्धन र प्रचार गर्न होमस्टे स्थलमा तालिम संचालन गरेको हो ।