Site icon PALPA SAMACHAR

बिरामीको मन जित्दै पाल्पा अस्पताल

पाल्पा । कुनै बेला पोष्टमार्टम केन्द्रको रुपमा मात्र सीमित रहेको पाल्पा अस्पताल अहिले दैनिक सयौ बिरामीहरुको रोजाईमा छ । यो अस्पतालमा १० वर्षअघिसम्म पनि दैनिक ५० जना बिरामी पनि बिरलै हुन्थे ।

तर अहिले यो अस्पतालमा दैनिक ५ सय सम्म बिरामीहरु आउने गरेका छन् । अस्पतालले सय सापेक्ष सुविधा तथा उपकरणहरु थप्दै लगेको छ । अस्पतालले पुरानै भवनबाट थोरै मात्रै जनशक्तिबाट पनि बिरामीहरुको उचित उपचार गर्दै आएको छ । यसबाट बिरामीहरु पनि खुशी छन् । अस्पतालमा भएका १५ बेडमा पूरा बिरामी भर्ना भएको अवस्था छ । अस्पताल विकास समितिमा गुरास आत्रेयले पाल्पा अस्पताललाई जनताको अस्पताल बनाउने गरी आफू सहित सम्पूर्ण टीमा लागि परेको बताउनुभयो । दरबन्दी अनुसार जनशक्ति नहुदा पनि आन्तरिक रुपमा व्यवस्थापन गरेर सहज रुपमा सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

हालैदेखि अस्पतालले बिरामीको चाप र मागलाई हेरी बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन थालेको छ । यसबाट बिरामीहरु उपचार गराउनका लागि लामो समय लाइनमा बस्नुपर्ने समस्या टरेको छ । फार्मेसीमा प्रयाप्त औषधिका साथै नयाँ व्यवस्थापन गर्दा बिरामीलाई सहज भएको आत्रेयले बताउनुभयो ।

ओपिडी व्यवस्थापन तथा चिकित्सकको संख्या थप, प्रविधिमैत्री प्रयोगशाला सेवा, भर्ना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा, रेडियोलोजिष्टलगायतका विशेषज्ञ सेवा थप तथा पहल, शौचालय निर्माण, बिरामीका लागि प्रतिक्षालय निर्माण, अक्सिजन प्लाण्टबाट अस्पतालले आम्दानी लिन सुरू गरेको उहाँले बताउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले बिरामीहरुको चाप बढ्दै गएपनि डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अवेरसम्म बसेर पनि उहाँहरुको उचित उपचार गरि उचित परामर्श दिई पठाउने गरेको बताउनुभयो ।

अस्पतालले १ वर्षमा ९० हजार ५६ जना बिरामीलाई सेवा दिएको जनाएको छ । जसमा महिला ५१ हजार ७ सय ८६ र पुरुष ३८ हजार २ सय ७० रहेका छन् ।

Exit mobile version