पाल्पा । जनता माध्यमिक विद्यालय तानसेनको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्नुहुँदै विद्यार्थीहरुलाई उच्चशैक्षिक उपलव्धि हासिल गर्न आह्वान गर्नुभयो । उहाँले पाल्पालाई शिक्षाको हब बनाउन यस विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले विद्यालयको अतिक्रमित जग्गा प्राप्तिका निम्ति सदैव आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले विद्यालय व्यवस्थापनको आफ्नो कार्यकालमा विद्यालयको प्रगतिका निम्ति आफू र आफ्नो टिमले खेलेको भूमिकाको स्मरण गर्दै जनता मावि समयसापेक्ष शैक्षिक गतिविधिहरु संचालन गर्न सकेको छ भन्नुभयो । उहाँले नेपाल राज्यभरिमा जेभिटीले मात्र सामुदायिक स्तरमा आवासीय विद्यालय संचालन गर्न सकेको तथ्य प्रस्तुत गर्नुभयो । विद्यालयको आफ्नो भोगाधिकार रहेको जग्गा अतिक्रमण भएकोमा आपत्ति जनाउँदै विद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाउने व्यवस्था हुनुपर्छ भन्नुभयो ।
लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले विद्यालयको भौतिक विकासका लागि आफ्नो भूमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षामा आमूल परिवर्तन गरी यसलाई युग सुहाउँदो बनाउनु पर्नेमा जोड दिँदै सुविधासम्पन्न बिग स्कुलको अवधारणा अनुसार विद्यालय संचालन हुनु राम्रो हुने विचार राख्नुभयो ।
लुम्बिनी प्रदेशका अर्का सांसद खेमबहादुर सारुले जेभिटीबाट उत्पादित हजारौं विद्यार्थीहरुले देश विदेशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको चर्चा गर्नुभयो । उहाँले शिक्षालाई श्रमसंग जोड्नु आजको प्रमुख चुनौती रहेको छ भन्नुभयो । शिक्षा प्रविधिमैत्री हुनुपर्ने विचार राख्दै विद्यालयका भावी योजनाहरुमा आफू सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । ¬
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जेभिटीले समाजमा शैक्षिक जागरण ल्याई थप उपलव्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विषम परिस्थितिमा विद्यालय स्थापना भई शैक्षिक क्षेत्रमा यसले अग्रणी भूमिका खेलेको विचार राख्दै थप शैक्षिक गुणस्तर हासिल गर्न विद्यालयलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिल कुँवरले विद्यालय स्थापना कालदेखि वर्तमान अवस्थासम्म विद्यालयको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अग्रजहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले विद्यालयको संक्षिप्त इतिहास, विद्यालयको दूरदृष्टि र हासिल प्रगति विवरण उल्लिखित ६ करोड ८ लाख रु बराबरको आम्दानी खर्चसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको भावी योजनाका साथैे आगामी आर्थिक वर्षको लागि रु ४ करोड ५६ लाख बराबरको अनुमानित बजेट पनि प्रस्तुत गर्नुभयो ।
वार्षिकोत्सव समारोहका अध्यक्ष वि व्य समितिका अध्यक्ष भोजराज पोखरेलले विद्यालयका शिक्षक र वि व्य स परिवारले आफ्ना छोराछोरीलाई जेभिटी मै पढाएको जानकारी गराउनु भयो । पाल्पामा जे भि टी अगुवा विद्यालय भएपनि यस विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो पोख्नुभयो । आफ्नो जग्गा विद्यालयले भोगचलन गर्न नपाउँदा विद्यालयको प्रगतिमा बाधा परेको कुरा राख्नु भयोे ।
सो अवसरमा पूर्व शिक्षक सरस्वति भट्टराईले आफूले स्थापना गरेको अक्षय कोषको रकम ५१ हजार पुर्याउन रु ३६ हजार विद्यालयलाई प्रदान गर्नुभयो । पूर्व प्रअ झमेन्द्रप्रसाद नेपालकी धर्मपत्नी लक्ष्मी नेपालले विद्यालयमा रु १ लाख को अक्षय कोष स्थापना गर्नुभयो । त्यस्तै गरी पूर्व शिक्षक केदारलाल श्रेष्ठले पनि आफूले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा रकम थप गर्नुभएको थियो । कार्यक्रममा पूर्व वि व्य स पदाधिकारी तथा अक्षयकोष दातालाई प्रशंसा– पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई स्वागत शिक्षक रामप्रसाद ढकालले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नै मौलिक गीत संगीतमार्फत स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हरिप्रसाद घिमिरेले गर्नुभएको थियो ।