Site icon PALPA SAMACHAR

गौ बंश हत्याको विरुद्धमा तानसेनमा र्‍याली तथा सभा सम्पन्न

पाल्पा । गौ बंश हत्याको विरुद्धमा आइतबार तानसेन शान्ति सद्भाव र्‍याली तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको नेतृत्व र ओमकार परिवारको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

देशमा गौ हत्या अन्त्य हुनुपर्ने, गौ हत्या सम्बन्धि बनेको संवैधानिक कानूनको पूर्ण पालना हुनुपर्ने, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्ने लगायतका नारा सहित र्‍याली निस्केको थियो । तानसेनको टुँडिखेलबाट सुरु भएको याली नारायणस्थान हुँदै हुलाक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
धरान लगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताउनुभयो । हिन्दु धर्मका प्रचारक बाबा योगिराजले हिन्दुहरुको आस्थामाथी प्रहार गर्ने खोजिएको बताउदै त्यसो नगर्न आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा धार्मिक अभियान्ता अभिषेक जोशीले नेपालको संबिधानले बर्जित गरेको काम गर्दा समेत सरकार मुखदर्शन बनेको आरोप लगाउनुभयो ।सभामा विष्णु ज्ञवाली, विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य भिमलाल भट्टराई, मालती पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो । डम्बर गैरेको स्वागत रहेको कार्यक्रमको संचालन पुरुषोत्तम अर्यालले गर्नुभएको थियो ।

Exit mobile version