समाचारघर साप्ताहिकको सार्वजनिकरण

0
523

पाल्पा । पाल्पाबाट समाचारघर साप्ताहिक पत्रिका प्रकाशन शुभारम्भ भएको छ । यसअघि बगनासकाली–८ बराङ्दीबाट प्रकाशन हुँदै आएको पाल्पा आवाज पाक्षिकलाई किसिम र नाम परिवर्तन गरी समाचारघर साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन सुरु भएको छ ।

पत्रिकाको मंगलवार तानसेनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पत्रिका सार्वजनिक कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले पत्रकारिता क्षेत्रलाई अगाडि लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताउँदै ग्रामिण क्षेत्रका समस्या र विभिन्न विकृतिको उठान गर्न आग्रह गर्नुभयो ।
उहाँले केही पहिलासम्म पनि पत्रपत्रिकाका पढ्ने प्रचलन बढी रहेकोमा पछिल्लो समयमा पत्रिका पढ्ने प्रचलन कम हुँदै गएकोले आम पाठकहरुको मन जित्ने गरी समय सापेक्ष विषय उठान गर्न समाचारघरलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पाल्पाको सन्दर्भमा धेरै पत्रिकाहरु नियमित सञ्चालनका लागि अप्ठेरो परिरहेको अवस्थामा अर्को पत्रिका सञ्चालन गर्ने अठोट सहित यो समूह आउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पाल्पाको पत्रकारिता देशकै नमुना पत्रकारिता रहेकोले यसलाई कायम राख्न सबै पत्रकार र सञ्चारगृहहरुको उत्तिकै भूमिका रहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता क्षेत्र पैसा तन्त्रको भक्ति र शक्तिको मुखपत्र बन्न नहुने बताउनुभयो । अर्यालले समाचारघर साप्ताहिक विकृतिको भण्डाफोर गर्ने केन्द्र बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व उपाध्यक्ष गोपाल बस्यालले पत्रिकाले समाजमा नभनिएका, नलेखिएका र नसुनिएका विषयबस्तु उठान गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रिकामा नयाँ र आम पाठकले अपेक्षा गरे अनुसारका बिषय समावेश गर्न सुझाव दिनुभयो ।

कार्यक्रम पत्रिकाका प्रकाशक दयाराज न्यौपानेको संचालन, सम्पादक सुदर्शन पाण्डेको स्वागत र प्रधानसम्पादक कमलराज तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here