Site icon PALPA SAMACHAR

१० औं राष्ट्रिय परिवार योजना दिवस कार्यक्रम सम्पन्न

पाल्पा । १० औं राष्ट्रिय परिवार योजना दिवस ६५ औं नेपाल परिवार नियोजन दिवसका अवसरमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा दुबै दिवस एकैसाथ मनाइएको हो ।

‘परिवार योजना सेवाको लक्ष्य ः आमा र बच्चाको स्वास्थ्य सुधार्न लागौं सबै पक्ष’ भन्ने नाराका मनाइएको दिवस कार्यक्रममा परिवार नियोजन संघ पाल्पाका पूर्व कर्मचारी तथा तानसेन ११ का वडाध्यक्ष यादब सिं कार्की, दर्लमडाँडाकी महिला स्वास्थ्य स्वयसेविका कुन्ति माया बराल र संघमा कार्यरत सिनियर अनमी सरस्वती पन्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री वीरबहादुर रानाले आमाहरु स्वस्थ नभए सम्म स्वस्थ बच्चा हुर्कन नसक्ने र त्यस्तो अवस्थामा स्वस्थ समाज पनि नहुने भएकोले आमा स्वस्थ हुने बिषय महत्वपूर्ण रहेको बताउनुभयो । आमाहरु सुरक्षित नहँुदा सम्म सक्षम शिशुहरु बढ्न नसक्ने भएकोले सरकारले आमा सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रमा जिल्ला संमन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रजनन् स्वास्थ्य सम्बन्धी किशोर युवाहरु जिज्ञासु रहने तर बुझ्नको लागि विद्यालयमा प्रयाप्त पाठ्यक्रमको अभाव रहेको बताउनुभयो । कार्यक्रममा तानसेन ११ का वडाध्यक्ष यादव सिं कार्की, जिल्ला संमन्वय समितिकाका समन्वय अधिकारी जनार्दन अधिकारी, नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका निर्देशक रचेल कारख, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिब यज्ञमूर्ति तिमिल्सिनाले यौन तथा प्रजनन् स्वास्थ्यको महत्वको विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले संघले जिल्लामा सम्पादन गरेका सेवा तथा काम, भएका उपलब्धी र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । यसका साथै उहाँले जिल्लाको समग्र यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था, अवसर र चुनौतीका विषयमा सहजीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारीको स्वागत, संघका सभापति सुशीलराज शाक्यको धन्यवाद ज्ञापन, कमल बस्यालको सञ्चालन तथा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Exit mobile version