Site icon PALPA SAMACHAR

एकै दिन ११ सय २३ जनाको निःशुल्क आँखा परीक्षण

पाल्पा । कालीगण्डकी गाउँपालिका स्याङ्जामा एकदिने निशुल्क आँखा शिविरमा ११ सय २३ जनाले निःशुल्क आँखा जाँच गराएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविरमा सञ्चालन गरिएको हो ।

आँखा शिविरमा कालीगण्डकी गाउँपालिकासहित गल्याङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको बगनासकाली र रम्भा गाउँपालिकाका बिरामी सेवा लिन आएको सम्पर्क समाजका अध्यक्ष न्यौपानेले बताउनु भयो। उहाँले भन्नुभयो–“एक हजार एक सयलाई औषधि र पाँच सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ।”

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वनमा दसैँतिहार पछाडि आँखा विभाग सञ्चालन गर्ने बताउनुभयो । उहाँले पालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पतालमा रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ओपिडी, इमर्जेन्सी, फार्मेसी, सामान्य शल्यक्रियालगायतका सेवा छन् त्यसबाट पनि सेवा लिन आग्रह गर्नुभयो । आँखा शिविरमा ६ सय १७ जना महिला र पाँच सय छ जना पुरुषले सेवा लिएका थिए मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो। यहाँका स्थानीय जटिल खालका समस्या आँखामा आए पाल्पा, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा उपचारका लागि जाने गर्दछन्।

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षता र प्रदेश सांसद महेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम चलेको थियो ।

Exit mobile version