अधकल्चो शिक्षक आन्दोलन

0
434

झविन्द्र देवकोटा

“शिक्षकहरुलाई थाङ्नोमा सुतादिए”, “संघ संगठन र महासंघको सदस्यता त्याग गर्न किन नसकेको हुतिहारा शिक्षकहरुले ?”, “चौटा खान गएकी बुढी झोलमा डुबेर मरी”, “ब्ल्याङ्क चेक बोकेर घर फर्कियौं”, “धन भन्दा विद्या ठूलो भन्ने शिक्षक नै धन माग्न काठमाण्डौमा तर हात लाग्यो शून्य”, “अझै पनि कति झोले बन्छौ ए मास्टर हो ? अब त चेत्यौ होला तुरुन्त शिक्षक बन”, “सहमतीका बुँदा हेर्दा सर्बोच्चको फैसला जस्तो”, “शब्दजालमै टुङ्गो लागेछ शिक्षक आन्दोलन”, काठमाण्डौबाट घर फर्किदा यी र यस्ता विषयहरु सामाजिक सञ्जालमा छरपस्ट आउन थाले । मन निकै खिन्न भयो ।

सामाजिक सञ्जाल हेर्दा सहमतीले सबै विषय र आन्दोलनको माग सम्बोधन गर्न नसकेको कुरा यथार्थ हो । ठूलो अवसरबाट चुकेकै हो । सहमतीका बुँदामा लेखिए अनुसार कार्यान्वयन होला कि नहोला ? भन्ने कुरामा आन्दोलनमा होमिएका शिक्षक ज्यादै सशंकित छन् । मैले निकै घोत्लिएर सहमती पढें । शब्दजालले रिँगाटा लागेजस्तै भयो । सुतें ।

अर्को दिन नियामक निकायका प्रमुख शिक्षा मन्त्रीले नै “शिक्षक महासंघसँग भएको ६ बुँदे सहमती कार्यान्वयन मेरो हातमा छैन सार्वभौम संसदका सदस्यको हातमा छ ।” भनेपछि मनमा हुण्डरी चल्न थाल्यो । दाह्रा किटेर आयो । सहमती पुनः एकपल्ट पढें । मनमा आगो बल्न थाल्यो । हुण्डरी चल्यो । आँखा झिलिमिली बन्यो । यी र यस्ता कुरामा…….

महासंघसँग के यी प्रश्नको जवाफ छ ?
१.जनप्रतिनिधि, निजामती कर्मचारी, सेना, प्रहरी तथा स्वयम् शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीतिका विषयमा किन बोल्न डराएको ? स्कुल रित्तिदै छन, कसलाई हो शिक्षकले पढाउने ?
२. शिक्षालाई संबैधानिक आयोगको रुपमा स्थापित गर्नुपर्ने कुरामा किन चुकेको हो ?
३. खै, शिक्षालाई संघमा राख्नुपर्ने आवाज ? चुइक्क पनि गरेनौ कि क्याहो ? कि स्थानीयमै राख्नुपर्छ भन्ने भ्रम छ ? नेतृत्वमा ?
४. खै, निजामती सेवा सरह शिक्षकलाई सेवा सुविधा ? अझै १० प्रतिशत बढी तलव मागको कुरा कता हरायो ? आन्दोलनमा भाषण ठोकेको हैन र ?
५. पेन्सन सुविधामा किन निजामती सरहमा मानेको हो हँ ? के निजामतीलाई जस्तै पेन्सनमा सुविधा लेखाउन जान्दा अरु सेवा सुविधा पनि लेखाउन सकिन्थेन ? आन्दोलनको मर्म नबुझ्ने ? हाम्रो माग त हालसम्म र शिक्षक सेवा प्रवेश गर्ने सबैले पेन्सन सुविधा पाउनु पर्छ भन्ने होइन र ? कि कोठाभित्र पुगेपछि विर्सेऊ ? दिमागै निजामती सरह जान सकिन्न भन्ने छ कि क्या हो ?
६. पूर्ण छात्रबृत्ति बाहेक अन्य विद्यार्थीलाई विदेश पढन जान पूर्ण रोक लगाउने विषयका कुरा उठाउन किन विर्सेको हो ? कि आफ्ना छोराछोरी विदेश गइसके ? या नेपालकै बोर्डिङ स्कुलमा धद्दाछन् ?
७. तपार्इँ नेतृत्वकर्ताहरुसँग एउटा सामान्य शिक्षकसँग जत्तिको पनि विवेक नभाकै हो ? आन्दोलन केही दिन थेग्न सकिन्थेन र ? नेपाली शिक्षकलाई नेतृत्वले त्यति कमजोर ठानेकै हो ?
८. हामी समग्र शिक्षा सुधार्ने गरी आन्दोनमा हामिएका थियौं । न कि तलव सुविधा र वृत्ति विकासका लागि मात्रै । यो कुरा महासंघ र घटकका नेताहरुले रत्ति पनि बुझेनन् जस्तो लाग्यो ।
९. स्नातक प्राथमिक र स्नातकोत्तर माध्यमिक शिक्षकका लागि योग्य हुने कुरामा सहमती जनाएको हो ? यसले लाइसेन्स लिएर बसेका तमाम विद्यार्थीको भविश्य माथि कुठाराघात भएन र ?
१०. केही थान मन्त्रि र सचिवका भरमा के आन्दोलनको माग पुरा हुन्छ ? प्रमुख राजनीतिक दलका सचेतक सहित वार्ता बस्नु पर्दैनथ्यो ? सहमतीमा सचिवको मात्रै हस्ताक्षरले हुन्छ ? भोली अन्य राजनीतिक दलले सहमती मान्दैनौं भनेमा के हुन्छ ? भाषणमा मात्रै हो तपाँईहरुलाई सबै दलका सचेतक चाहिएको ? के संसदमा पेश भएको विधेयकमा हाम्रा सहमती संबोधन होलान ? सबै दलले हुबहु मान्लान ?

एकपल्ट सहमतीको नजिक पुगेपछि जिल्ला स्तरका महासंघ नेता र आन्दोलन घटकहरु बीच बसेर बार्तामा यस्ता कुरामा सहमती हुनेवाला छ हामीले के गरौं ? भनेर एक आखर सोध्न मिल्दैन थ्यो ? नेतृत्वले आफैलाई सर्बेसर्वा ठान्ने ? आन्दोलनमा तिम्रा लागि आएका थिएनौं हाम्रो अधिकार खोज्न आएका थियौं महाशय !

शिक्षक महासंघले अझै आन्दोलनलाई दुई चार दिन थेगेर माथिका विषयमा समेत सबै राजनीतिक दलसँगको सहमतिमा मात्रै निर्णायक निष्कर्षमा पुर्याउनु पर्दथ्यो । यतिबेला केही भूरे राजा बाहेक सबै ठूला राजनीतिक दलको सदासयता थियो । शिक्षकमाथि गरिएको अपमान बाहिरिने क्रम जारी थियो । आन्दोलनले मूर्त रुप लिदै थियो । सारा शिक्षकहरु एकजुट भइ लागेका थिए । विभिन्न जिल्लाबाट शिक्षकहरुको ओइरो लाग्ने क्रम जारी थियो । महान त ०३६ सालका शिक्षकका नेता रहेछन भन्ने भयो । त्यतिबेलाका नेता र अहिलेका शिक्षक आन्दोलनमा भाको भए क्या मजा आउने रहेछ भन्ने कुरामा मन बोल्यो । अहिले होतोर्लाेक्कै आन्दोलन छाडेर खत्तम भएन ?

यस्तै हुण्डरी धेरै शिक्षकमा चलेको रहेछ । अब जति मन भाँचे पनि तुहेको आन्दोलन भित्र केही सुवास मनले खोज्न थाल्यो । विद्यालयबाट फर्केपछि पुनः एकपल्ट सहमती पढे । मन अल्ली हल्का हुनेभयो सहमती कार्यान्वयन भएमा । यि र यस्ता कुरामा …..
१. शिक्षकको मर्यादा क्रम बनाउने ।
२. दश बर्षमा आवधिक बढुवा गर्ने ।
३. माध्यमिक विशिष्ट श्रेणीमा बढुवा हुन ५ बर्ष सेवाको विषय ।
४.विभागीय कारवाही र सजायमा पुनरावलोकन हुने ।
५. प्राथमिक र निमाविको द्धितीय श्रेणीमा नियुक्ति लिएकाको पद समायोजन हुने ।
६. स्थानीय तहभित्र सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतीमा गर्ने ।
७. उपचार खर्च नियमावली २०५९ बमोजिम हुने ।
८. निवृत्तिभरणका लागि अपुग हुने अवधि अस्थायी सेवाबाट गणना गर्ने ।
९. शिक्षक सेवा प्रवेशको अधिकतम अवधि ४० बर्ष हुने ।
१० साविक उच्चमावि, राहत, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको एकपटकका लागि ७५ प्रतिशतमा आन्तरिकमा प्रतिष्पर्धा गर्न पाउने ।
११. कार्यसम्पादन मूल्यांकन, विद्यालय व्यवस्थापन समिति, शिक्षकको दुर्गम भत्ता, महंगी भत्ता, ग्रेड बृद्धि तथा समायोजन, संचित विरामी विदाको रकम, तहगत प्रणाली र समायोजन, शिक्षक अभिभावक संघ सम्बन्धी विषय, बालविकास सम्बन्धी यस अघि महासंघसँगको सहमती प्रत्यायोजित गर्ने विषय समावेश भएको ।
१२. विद्यालय कर्मचारीको दरवन्दी, पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने विषय राट्रिय मापदण्डमा समावेश गरिने ।
१३ दरवन्दी मिलान र विद्यालय शान्ति क्षेत्रका कुरा ।
समग्रमा, यि र यस्ता केही विषय स्वागतयोग्य रहेछन् ।
मनमा च्वास्स चिसो पसेको विषय के भने राहत शिक्षहरु अझैपनि आन्दोलनमा हुनुहुन्छ । उहाँहरुको विषयमा ७५ प्रतिशत आन्तरिक लडन पाउने व्यवस्था रहेछ । आन्दोलन सफलताको शुभकामना । तर शिक्षा क्षेत्रका विद्यार्थीले यस अघि जस्तै ५१ प्रतिशत खुला र ४९ प्रतिशत आन्तरिक बनाउने माग राखेर सडकमा ओर्लिए भने झन के होला भन्ने चिन्ताले पिरोलेको छ ।

सामाजिक सञ्जालमा व्यापक रुपमा महासंघलाई गाली गलौज रोकिएको छैन । दलालहरु मूर्दावाद ! मूर्दावाद !!, हार्दिक श्रदाञ्जली जस्ता कुरा सुपाच्य छैनन् । महांघले यस्ता टिकाटिप्पणी प्रति आधिकारिक धारणा सार्वजनिक गर्नै पर्छ । या त नसकेकै हो भनेर जिम्मेरावीबाट हात धुनुपर्छ । अधकल्चो शिक्षक आन्दोलन भएको विषय स्विकार्नै पर्छ । यो आन्दोलन गरेपछि अब कहिलै शिक्षकले आन्दोलन गर्नुपर्ने छैन भन्ने आम शिक्षकको मनमा थियो । तर यो सहमती र शिक्षा मन्त्रिको भनाइले आन्दोलन अझै पूर्ण र निर्णायक भएको छैन । “आन्दोलन जारी छ । हाम्रा माग पुरा गर ।”

“तपाईँहरुलाई पढाएका शिक्षकहरुसँग तपाईँहरुको तुलना म कसरी गर्न सक्छु ? जसले तपाईँलाई पढायो र यो लायक बनायो । सबै साधारण मानिसहरु शिक्षक हुन सक्तैनन् र सबै शिक्षकरु साधारण मानिस पनि हुँदैनन् । जबसम्म तपाईँ शिक्षक बन्नका लागि योग्य वा लायक हुनुहुन्न तबसम्म तपाईँले शिक्षकको तलब पाउने सपना नदेखेकै राम्रो ।” –जर्मन चान्सलर एन्जेला मर्केल । जर्मनीमा शिक्षाको अवस्था के छ उनको भनाइबाट स्पष्ट छ । शिक्षालाई हामीले बनाउन चाहेको यस्तै थियो । सबै क्षेत्रको मियो शिक्षा हो । जबसम्म शिक्षा क्षेत्रमा आमूल परिवर्तन र शिक्षाको उत्पादनले काम गर्न सक्तैन तवसम्म देश विकासको परिकल्पना नगरे हुन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here