पाल्पा । महेन्द्र बोधि माध्यमिक विद्यालय तानसेनका सामाजिक शिक्षक झविन्द्र देवकोटाले आफ्ना छोराछोरी पनि आफूसँगै आफँैले पढाउने विद्यालयमा डोर्याउँदै पढाउन लैजानुहुन्छ । देवकोटाका छोरा निक्षणले कक्षा ४ र छोरी मानुशीले कक्षा २ मा महेन्द्र बोधिमै पढ्छन् ।
देवकोटा मात्रै होइन यो बिद्यालयमा अध्यापनरत सबै शिक्षकले स्कूल पढ्ने उमेर समूहका आफ्ना छोराछोरी आफैले पढाउने बिद्यालयमा पढाउँदै आएका छन् । तानसेन नगरपालिका वडा नं २ असनटोल स्थित महेन्द्र बोधि माध्यमिक बिद्यालयले जिल्लामै यसखालको नमूना अभ्यास गर्दै आएको छ । यहाँ अध्यापनरत शिक्षकहरूले आफ्ना छोराछोरी अनिवार्य रुपमा आफ्नै विद्यालयमा पढाएका छन् ।
विद्यालयकी शिक्षिका सुस्मा ढकाल ज्ञवालीका छोरा सुयोगले पनि महेन्द्र बोधिमै कक्षा २ मा पढ्छन् । आफ्नो छोरालाई आफैँले पढाउने विद्यालयमा पढाउन पाउँदा शिक्षिका ज्ञवाली खुशी हुनुहुन्छ । “विद्यालयको अभियान अन्तर्गत घरदैलोमा जाने क्रममा पनि अभिभावकहरूलाई बिश्वास दिलाउन सजिलो भएको छ ।” उहाँले भन्नुभयो । अर्का शिक्षक पूर्ख बहादुर दर्लामीका छोरा योगेशले महेन्द्र बोधिमै कक्षा १० मा पढ्छन् । आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा ल्याएर पढाउँदा उनीहरूको शिक्षण शैलीसँगै हरेक कुराको बारेमा जान्न बुझ्न सजिलो हुने गरेको दर्लामीको भनाइ छ ।
विद्यालयका सहायक प्रधानाध्यापक हरिलाल गैरेले विद्यालयले अन्य सामुदायिक तथा नीजि विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेको बताउनु भयो। उहाँको छोरा असिमले कक्षा ८ मा पढ्छन । बिद्यालयका प्रधानाध्यापक केशव के.सी.का छोरा विराट के.सी.ले पनि सोही विद्यालयको कक्षा ८ मा पढ्छन् । समयको मागसँगै यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । “यो विद्यालयमा नर्सरीदेखि केजी सहित कक्षा १० सम्म नै अंगे्रजी माध्यमबाट विगत ५ बर्षदेखि पठनपाठन हुँदै आएको छ ।” प्रधानाध्यापक के.सी.ले बताउनुभयो । गजब पक्ष त के छ भने यो विद्यालयको व्यवस्थापन समितिमा रहेका व्यक्तिहरुले पनि स्कूल पढ्ने उमेर समूहका बालबालिकाले यही विद्यालयमा अनिवार्य रुपमा पढाउने व्यवस्था गरिएको छ ।
कतिपय सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्ना छोराछोरी नीजि विद्यालयमा छोडेर वा पठाएर आफू सामुदायिक बिद्यालयमा पढाउन जान्छन् । यसकारण पनि कतिपय अवस्थामा सामुदायिक विद्यालयका शिक्षकहरूको योग्यता र उनीहरूले आफै पढाउने विषयको गुणस्तरीयताको विश्वास माथि प्रश्न उठ्ने गरेको छ । अझ ग्रामीण क्षेत्रका कतिपय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीले घण्टौसम्मको गाडीमा पठाएर आफू घर नजिकैको सामुदायिक विद्यालयमा पढाउन जाने गरेको देखिन्छ ।
विद्यालयका प्रधानाध्यापक केशव के.सी., सहायक प्रधानाध्यापक हरिलाल गैरे, शिक्षकहरू सुस्मा ढकाल ज्ञवाली, झविन्द्र देवकोटा, कमलराज बस्याल, भोजराज बस्याल, पूर्ख बहादुर दर्लामी, सृजना शर्मा र कविता अधिकारीले आफ्ना छोराछोरी महेन्द्र बोधिमै पढाउनुहुन्छ । यो विद्यालयमा अध्यापनरत ९ जना शिक्षक शिक्षिकाको १२ जना बालबालिका आफ्नै विद्यालयमा पढ्दै आएका छन् । शिक्षकका छोराछोरीले आफ्नै विद्यालयमा पढेपछि समुदायको पनि विश्वास बढ्दै गएको छ ।
नगरपालिकाको अनावश्यक हल्लाले शिक्षक निराश
कक्षा १२ सम्म पढाइने हुने महेन्द्र बोधिमा २ सय १३ जना बिद्यार्थी छन् । गत वर्ष भर्ना अभियान विद्यालयले प्रभावकारी रुपमा चलाएको थियो । भर्ना अभियान पनि सफल भएको थियो । विद्यालयमा गत बर्ष नर्सरीदेखि ९ सम्म ७९ जना र कक्षा ११ मा १९ जना नयाँ विद्यार्थी भर्ना भएका थिए । त्यही समयमा नगरपालिकाले विद्यालयको मर्जको अनावश्यक हल्ला चलाएपछि केही विद्यार्थी अन्यत्र गए । हल्लाका कारण यो वर्ष विद्यालयको कक्षा ९ सम्म ४९ जना मात्रै नयाँ बिद्यार्थी भर्ना भएका छन् । भने कक्षा ११ मा ३० जना नयाँ भर्ना भएका छन् ।
तानसेन नगरपालिकाको शिक्षा नीति र शिक्षा क्षेत्रको व्यवस्थापनबारे उचित योजना छैन । व्यक्तिको सोचको भरमा यहाँ क्षणिक निर्णय हुन्छ । त्यसको दीर्घकालिन प्रभावको मूल्याङ्कन हुने गरेको छैन । यसको मारमा कतिपय सामुदायिक विद्यालय परेका छन् । नीजि विद्यालयहरुलाई धमाधम कक्षा थपको अनुमति दिई सामुदायिक विद्यालयलाई मर्ज गर्ने हल्ला चलाएर तानसेन नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई निराश बनाउने गरेको छ । यसबाट गरिव तथा विपन्न परिवारका बालबालिकाहरूको शैक्षिक अधिकारलाई कुण्ठित हुने आशंका उत्पन्न हुन्छ । नगरपालिकाका केहि जनप्रतिनिधिको बोर्डिङ स्कूलमा लगानी रहेकाले पनि सरकारी मास्न खोजेको सामुदायिक विद्यालयका अभिभावकले गुनासो गरेका छन् ।