राम्दी एकादशी मेला एवम् वनसँग सेलीब्रेटी कार्यक्रम सम्पन्न

0
291

पाल्पा । राम्दी एकादशी मेला एवम् वनसँग सेलीब्रेटी कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिकाको संरक्षकत्व, डिभिजन बन कार्यालय पाल्पाको वनसँग सेलीब्रटी कार्यक्रम र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाको मुख्य आयोजनामा ठुली एकादशीको अवसरमा राम्दी धाममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले राम्दी धाम आफैमा धार्मिक तथा साँस्कृतिक हिसावले निकै महत्वपूर्ण रहेकोले यसप्रकारको मेलाले यस क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य बीर बहादुर रानाले यो मेलाले राम्दी धार्मिक पर्यटन प्रवर्धनका लागि सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकाले राम्दी सहित पालिकाभित्रका सबै धार्मिक साँस्कृतिक स्थलहरुको प्रवर्धन र प्रचार प्रसारका लागि योजना बनाई काम गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापाले पाल्पा प्रतिष्ठानले सराहनीय कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले प्रतिष्ठानले लोक दोहोरी कलाकारको हकहीत र नेपाली लोक संस्कृतिको संरक्षण सम्वर्धनका लागि काम गर्दै आएको बताउनुभयो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण भट्टराई र अधिकृत यमलाल पोखरेलले डिभिजन वन कार्यालय मार्फत बन संरक्षणका लागि भएगरेका कार्यक्रमबारे जानकारी गराउँदै वनसँग सेलीब्रेटी कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष कमल भट्टराईले राम्दी एकादशी मेला यस वर्ष पहिलो भएकोले आगामी वर्षहरुमा पनि अझ व्यवस्थित रुपमा संचालन गरिने बताउनुभयो । उहाँले यस कार्यक्रमबाट वनक्षेत्रको संरक्षणबारे चेतना बिस्तार हुने, कला संस्कृतिको संरक्षणमा टेवा पुग्नुका साथै राम्दी क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अवसरमा चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गरिएको थियो । बगनासकालीकै यम्घा दर्पुकमा जन्मनुभएकी गायिका न्यौपानेले ६ हजार बढी गीतमा स्वर दिुनुभएको छ । सो अवसरमा गायिका न्यौपानेले आफु जन्मभूमिका आउँदा सम्मानित हुन पाउँदा खुशी महसुस गरेको बताउनुभयो ।

कार्यक्रममा कलाकारहरु पुरुषोत्तम भण्डारी (पुर्खे बा), शिलु भट्टराई, गणेश अधिकारी, सकुन्ताल गैरे, गणेश न्यौपाने, जयप्रकाश उप्रेती सहितका कलाकारहरुले आआफ्नो प्रस्तुती राख्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीको स्वागत, अध्यक्ष कमल भट्टराईको अध्यक्षता र पत्रकार यज्ञमूर्ति तिमिल्सिना र रामकृष्ण थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here