मौरीबाट बगनासकालीमा बार्षिक ४ करोड बढीको कारोवार

0
424
पाल्पा । बगनासकाली–८ बराङ्दीका पशुपति बस्यालले २२ वर्ष अघि माडी कोलडाँडाबाट एक घार मौरी ल्याएर पाल्नुभयो । ४ महिनामै उक्त घारबाट ७ किलो मह निकालेपछि उहाँ मौरीपालनमा आकर्षित हुनुभयो ।
पाल्पा मात्रै नभएर यस क्षेत्रका जिल्लाहरुमै मौरीपालनका अगुवाको रुपमा चिनिनुभएका बस्यालसँग अहिले ३ सय ७२ वटा मौरी घार छन् । त्यस्तै ५ सय खाली घारहरू पनि छन् । सुरुमा पालिएको १ घार मौरीले राम्रो महदिएपछि उहाँले स्थानीय मौरीहरू खोज्ने अभियान चलाउनुभयो । कहिकतै जंगलमा मौरी देखाउनेहरुलाई ५ सय रुपैया दिएर उहाँले मौरी ल्याउनुहुन्थ्यो । उहाँले मौरीपालनका किताव पढ्ने र तालिमहरुमा पनि सहभागी हुन थाल्नुभयो । उहाँले मौरीपालन सम्वन्धी सबै तालिम लिइसकेको बताउनुभयो । अन्नततः उहाँ अहिले मौरीपालनबाट आत्मनिर्भर हुनुका साथै धेरैलाई आत्मनिर्भर बनाउनुभएको छ ।
उहाँले वर्षमा १ हजार भन्दा माथि मौरीघार बेच्नुहुन्छ । उत्तिकै संख्यामा खाली घार पनि बेच्नुहुन्छ । टाढा टाढाका किसान उहाँको मौरीपालन हेर्न र मौरी घार र मह लिन आइपुग्छन् । खाली घारको ३ हजार ५ सय र मौरी सहितको घारको ७ हजार ५ सय रहेको उहाँले बताउनुभयो । १ हजार रुपैयाँ केजीमा मह पनि बिक्री हुन्छ । उत्कृष्ट किसान बस्यालले बगनासकाली गाउँपालिकाको प्रमुख आत्मनिर्भरको माध्यम नै मौरी रहेको बताउनुभयो ।
बगनासकाली मकैको बिउ उत्पादन र मौरीपालनमा आत्मनिर्भर छ । उहाँले भन्नुभयो । बगनासकालीबाट मात्रै बर्षमा ४ करोड बढीको मौरी र मह बिक्री हुने उहाँको भनाई छ । “यहाँबाट मह मात्रै नभएर मौरीघार र खालीघारहरू प्रसस्त रुपमा बिक्री हुन्छ, मौरीपालन थाल्नुभएका सबै साथीहरू ब्यवसायिक रुपमा नै लाग्नुभएको छ ।” उहाँले भन्नुभयो ।
मौरीपालनका प्रशिक्षकको रुपमा रहनुभएका बस्यालले गत आर्थिक वर्षमा मौरी गोला, घार, मह तथा मौरीसँग सम्बन्धीत सामाग्रीहरू गरी ७० लाख वढीको बिक्री गरेको बताउनुभयो ।  यो क्षेत्रमा साना ठूला गरी ४५ वढी व्यवसायिक मौरीपालक किसान रहेका छन् । २०÷२५ देखी ५ सय घारसम्म मौरी किसानले पाल्दै आएका छन् । बगनासकाली गाउँपालिकाका ९ वटै वडामा व्यवसायिक मौरीपालनको सम्भावना छ । बस्यालजस्तै ४५ जना बढी किसानले बगनासकालीमा ब्यवसायिक मौरीपालन गर्दै आएका छन् । बगनासकाली–७ खानीगाउँ कल्लावारीका केशव पचभैयाले पनि ब्यवसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । २० वर्ष नेपाल प्रहरीमा सेवा गरी निवृत हुनुभएका पचभैयासँग अहिले १ सय बढी मौरीका आधुनिक घार छन् । “हामी बच्चै छँदादेखि नै बुवाले काठेघारमा मौरी पाल्नुहुन्थ्यो । मैले पनि ४ वर्षदेखि व्यवसायिक रुपमा मौरी पालन गर्दै आएको छु ।” उहाँले भन्नुभयो ।
जागिरे जीवन भन्दा कृषि पेशा कम छैन्, परिवार सँगै बसेर दुःख सुख साट्दै मेहनत अनुसारको प्रतिफल लिन पाइन्छ । उहाँले भन्नुभयो । कल्लाबारी क्षेत्र मौरीपालनको लागि उपयुक्त मानिन्छ । नजिकमा ठूला ठूला जंगलहरू, फलफुल र फुलका विरुवा छन् । उहाँले मौरीको घार, मौरी, मह तथा मौरीपालनका लागि चाहिने अन्य सामाग्रीहरू समेत उत्पादन र विक्री गर्दै आउनुभएको छ । यसरी उत्पादित मह र मौरी तथा घार पाल्पा सहित अन्य जिल्लाहरुमा पनि बिक्री हुन्छ । कतिपय ग्राहक मौरी र घार खोज्दै घरसम्मै आउने गरेको पचभैयाको भनाई छ ।
बगनासकाली गाउँपालिका आफैमा पनि मौरीपालन र मह उत्पादनमा परिचित छ । बराङ्दी, खानीगाउँ, चापपानी लगायतका स्थानहरू मौरी पकेट क्षेत्रमा रुपमा बिस्तार भएका छन् । चापपानीका ओम बहादुर सारुले मौरीपालन बगनासकालीका लागि बरदान सावित भएको बताउनुभयो । कान्ला ढिक जहाँ घार राखेपनि हुन्छ । मौरीका लागि चरन क्षेत्रको पनि समस्या छैन । उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here