बाख्रा बेचेर ३ करोड रकम बढी भित्रिन्छ रम्भामा

0
336

पाल्पा । बाख्रापालनका लागि राम्रो सम्भावना रहेको रम्भा गाउँपालिकामा बाख्रा बेचेरै बार्षिक ३ करोड बढी रकम भित्रिने गरेको छ ।

यहाँका बिभिन्न सहकारीले बाख्रापालन कार्यक्रमलाई अगाडि बढाएका छन् । सहकारीले बाख्रापालन र बजारीकरणमा सहयोग गर्दै आएका छन् । त्यस्तै ब्यक्तिगत रुपमा बाख्रापालन गर्नेहरुको संख्या पनि उत्तिकै रहेको छ ।

गाउँपालिकाभित्रका ३ वटा सहकारी मार्फत भएको खसीबोका बिक्री गरेर २ करोड ७२ लाख ३० हजार रुपैंयाँ आम्दानी भएको छ । गत आर्थिक बर्षमा वडा नं. २ फोक्सिङकोटको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानको १ करोड ८० लाख रुपैंयाँको खसीबोका बिक्री भएको छ ।

वडा नं. ३ पिपलडाँडाको पिपलडाडा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ४९ लाख ५० हजार रुपैंया र वडा नं. १ को रम्भादेवी सानाकिसान कृषि सहकारी संस्था मार्फत ३७ लाख ८० हजार रुपैंयाको खसीबोका बिक्री भएको छ । यी बाहेक अन्य सहकारी मार्फत पनि खसीबोका बिक्री हुन्छ । किसानले आफै पनि प्रत्यक्ष रुपमा खशी बोका बिक्री गर्दै आएका छन् । सहकारी र ब्यक्तिगत गरी रम्भाबाट मात्र बर्षमा ३ करोड बढीको खशी बोका बिक्री हुने गरेको छ ।

बाख्रपालन किसानको उत्साहका लागि गाउँपालिकाले पनि सहयोग गर्र्दै आएको छ । सहकारी मार्फत खशी बोका बिक्री गर्ने किसानहरुलाई सहकारीको सिफारिसको आधारमा प्रतिकलोमा ५० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले रम्भा गाउँपालिका बाख्रापालनका लागि निकै सम्भावना रहेको स्थानको रुपमा रहेको बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here