घन्किन्छन् बगनासकालीका पञ्चेबाजा

0
367
भोजराज तिमिल्सिना
बगनासकाली–९ चापपानी केवराचिदीका ३७ वर्षीय बिनोद पृथीले पञ्जेबाजा बजाउन थालेको २९ वर्ष भयो । यस क्षेत्रमा बिनोद सहितको समूहले बजाउने लिधिनडाँडे बाजा चर्चित छ । दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको तालमा बाजा टोलीले सबैलाई नचाउँछन् । बिनोदका बावु बाजेले पनि बाजा बजाउँथे । अहिले सीप सरेर नाती पुस्तासम्म आइपुगेको छ । पुर्खाले बजाउँदै आएको बाजालाई आफूहरुले संरक्षण गर्दै आएको बिनोदले बताउनुभयो ।
बगनासकाली–९ चापपानीमा २ ओटा बाजा समूह छन् । साविक वडा नं. ४ लिधिनडाँडामा लिधिनडाँडे बाजा समूह र गोपाल्दीको कानुङ गोपाल्दी पञ्चेबाजा समूह । यी दुबै समूहले ब्यवसायिक रूपमा बाजा बजाउँदै आएका छन् । लिधिनडाँडे बाजा समूहमा परियार जातिको सहभागिता छ । यो बाजा यस क्षेत्रकै पुरानो बाजा समूह हो । गोपाल्दीमा पनि करिव डेढ बर्ष अघिदेखि स्थानीय मगर युवाहरूले बाजा बजाउन थालेका हुन् । बाजा टोलीका सदस्य ४६ वर्षीय एक बहादुर रानाले फागु खेलेर संकलन भएको रकमबाट बाजा किनेर ब्यवसायिक रूपमा बजाउन थालेको बताउनुभयो । अहिले जिल्ला र जिल्ला बाहिरसम्म पनि आफुहरू बाजा बजाउनका लागि जाने गरेको उहाँले बताउनुभयो ।
वडा नं. ६ यम्घाको यम्घेली बाजा पनि यस क्षेत्रमा चर्चित छ । साविक यम्घा ८ टोकल्दीका परियार जातिका ब्यक्तिले पहिलेदेखि बाजा बजाउने गर्दथे । नयाँ पुस्तामा पनि यो सीप सरेको छ । ५७ वर्षीय रविलाल पौडेलले बालक समयदेखि नै बाजा बजाउने गरेको बताउनुभयो । “टोलका युवाहरू पनि हामीसँगै बाजा बजाउन हिँड्छन्, हामीले सिकेको सीप युवाहरूलाई सिकाउदै पनि आएका छौं ।” उहाले भन्नुभयो । बाजा बजाउनका लागि यो समूह पनि जिल्ला र जिल्ला बाहिरका धेरै ठाउहरूमा पुग्ने गरेका छन् । पुख्र्यौली बाजा खुबै घन्किन्छन् । यो समूहले पोषाक बनाएका छन् । यसका लागि वडा नं. ६ यम्घा आर्थिक सहयोग भएको थियो ।
पञ्चे बाजाको आफ्नै बेग्लै धार्मिक महत्व छ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ । त्यस्ता साइतहरूमा मंगल धुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।
परम्परागत रूपमा नेपालका परियार जातिले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरूमा महिलाहरूले पनि ब्यवसायिक रूपमा बजाउन थालेका छन् । देवी देवताको मन्दिरमा, बिवाह, बर्तबन्ध अन्य यज्ञादीहरूमा बजाउने बाजाको राग फरक–फरक रहेको पौडेलले बताउनुभयो ।
मन्दिरमा ढोग नमस्कार बाजाको रागमा सुन्न सकिन्छ । बिवाहमा पर्छिदा, सिन्दुर, हाल्ला, जल खाँदा, कन्यादान दिँदा र दुलही अन्माउदाको समयमा फरक फरक रागमा बाजा बजाइन्छ । बगनासकाली–७ खानीगाउँको खानीगाउँले बाजा पनि यस क्षेत्रकै चर्चित बाजा हुन् । यो टोलीले पनि अग्रजहरूको पालादेखि बाजा बजाउँदै आएका छन् । बाजा टोली सदस्य ६४ वर्षीय भिम बहादुर दर्नालले बावु बाजेले जोडेका बाजा उहाँहरुसँगै बजाउन सिकेको बताउनुभयो ।
अग्रजसँगै बसेर बाजा बजाउँदा तालिमको आवश्यकता नहरेको उहाँले बताउनुभयो । यो समूहले पछिल्ला वर्षमा नयाँ बाजा ल्याएका छन् । पोषाक पनि बनाएका छन् । टोलीका सदस्यहरुको साथमा कम्तीमा पनि एक–एक फरक–फरक बाजा रहेका छन् । ती बाजाहरूको संरक्षण पनि ब्यक्ति स्वयम्ले गर्दै आएका छन् ।  खानीगाउँकै टाँकीचौरका मगर युवाहरूले पनि बाजा बजाउदै आएका छन् । यो टोली पनि ब्यवसायिक रुपमा बाजा बजाउन हिड्छ । रानीमहल मगर पञ्चेबाजा समूहको नाममा परिचित यो समूहले २०६३ सालदेखि पञ्चेबाजा बजाउन थालेका हुन् । बाजा टोली सदस्य ३५ वर्षीय भेष बहादुर साठीघरेले मगर संस्कृति भल्किने गरी पोषक समूहले बनाएको र बाजा बजाउँन जादा पोषक लगाएरै जाने गरेको बताउनुभयो । आफूहरुलाई अगाडि बढ्न गाउका लाहुरेहरू खड्क बहादुर थापा र भीम बहादुर थापा सहित सम्पूर्ण टाँकीचौरबासीहरुले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
वडा नं. ३ नायरको पञ्चेबाजा पनि चर्चित छ । नायरी बाजा भनेपछि घन्किने बाजाका रुपमा चर्चा अहिले पनि छ । युवा पुस्ताहरुले बिदेश जाँदा नायरमा अहिले बाजा टोलीका लागि सदस्य नपुगेपनि बाजा माग हुदा चापपानी लिधिनडाँडे बाजासँग सहकार्य गरेर बाजा बजाउन जाने गरेको नायरका ३९ वर्षीय गणेश नेपालीले बताउनुभयो । “हामीसँग बाजा सबै सेट छ, पहिला पहिलाभन्दा आजकल बाजा खोज्ने क्रममा कमी आएको छ ।
नायरको साविक वडा नं. १ मा ३२ वर्षीय हरि बगालेको नेतृत्वमा १ वर्ष अगाडि देखि सिंचास भेजा मगरी बाजा समूह गठन गरी बजाउन थालेका छन् । मगर दिवसका दिन बाँसमा गिलास राखेर सहनाई, मादलको ढोलकी र ५० लिटरको गाला ग्यालिनको दमाहा, थाललाई झ्याली र बाल्टिनलाई टयाम्को बनाईा बाजा बनाएपछि बाजाको छन्द आएपछि त्यहाँका युवाहरू वडा नं. ३ का वडाध्यक्षलाई भेट्न वडा कार्यालयमा पुगे । बगनासकाली गाउँपालिकाबाट प्राप्त १ लाख रुपैया सहयोगबाट बाजा किनेर ब्यवसायिक रुपमा बजाउन थालेको बगालेले बताउनुभयो । बगनासकाली गाउँपालिकाले २०८० असार १५ गते माडीफाँटमा आयोजना गरेको धान दिवस कार्यक्रम लगायत पञ्चवली, गाउँका पुजाआजा बिवाह र लाहुरेहरू आउदा स्वागत स्वरुप बाजा बजाई प्राप्त रकम कोषमा जम्मा गरेको र अहिले समूहको कोषमा १ लाख रुपैया रहेको उहाँले बताउनुभयो ।
बगनासकाली भित्र रहेको सबै बाजा समूहहरुको दररेट मिल्दो जुल्दो छ । बाजा टोली लैजान चाहनेहरुले निम्तोको क्रममा १ हजार बैना दिन्छन् । त्यो बैना टोली नाइकेले यातायात र सञ्चारमा खर्च गर्छन् । अन्य पारिश्रमिक बजाउने समय, दुरीमा निर्भर गर्छ ।  बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बगनासकाली गाउँपालिका भित्र रहेका हरेक कला, धर्म, संस्कृतिको संरक्षण गर्ने दायित्व गाउँपालिकाको रहेको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिका भित्रका पञ्चेबाजा संरक्षणमा पालिकाले मागका आधारमा प्रोत्साहन गर्दै जाने बताउनुभयो ।
–बगनासकाली फिचर संग्रहको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here