मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा सम्पन्न

0
484

पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सभामा अस्पतालका निर्देशक डा. रचेल कारखले अस्पतालको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै यो अस्पतालबाट आर्थिक वर्ष २०७९, ०८० मा १ लाख ५ हजार ९ सय २ जना बिरामीले सेवा लिएको जानकारी गराउनुभयो ।

उहाँले अस्पतालबाट एक वर्षको अवधिमा २ हजार ३ सय ७३ जनाले प्रसुती सेवा लिएको बताउनुभयो । उहाँले आधुनिक प्रविधिहरुलाई समेत थप गर्दै अस्पतालले समयसापेक्ष सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । उहाँले यो अस्पतालमा पाल्पा गुल्मी सहित १२ भन्दा बढी जिल्ला र भारतका बिभिन्न स्थानहरुबाट पनि उपचारका लागि बिरामीहरु आउने गरेको बताउनुभयो ।
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले अस्पतालले १ वर्षको अवधिमा १ करोड ५९ लाख ९८ हजार ९ सय ९१ रुपैयाँ बरावरको सेवा गरिब तथा विपन्न परिवारका बिरामीहरुलाई प्रदान गरिएको जानकारी गराउनुभयो । उहाँले अस्पतालमा हाल स्थगन अवस्थामा रहेको स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताको बिषयमा छलफल भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि युनाईटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलप्मेन्ट ट्रष्ट अस्पताल सेवा निर्देशक युवराज आचार्यले यो अस्पतालमा छिटै २ सय शैया बनाइने र भविष्यमा ३ सय शैयासम्मको अस्पताल बनाउने योजना रहेको बताउनुभयो । उहाँले अस्पतालमा बिभिन्न क्षेत्रका बिशेषज्ञ सहितको सेवा प्रवाह भएकै कारण यस क्षेत्रका बिरामीहरुको मन जित्न सफल भएका बताउनुभयो । उहाँले बिमा बोर्डबाट प्राप्त हुन बाँकी रकम समयमा प्राप्त हुन नसक्दा अस्पतालमा आवश्यक उपकरण थप गर्न समस्या भएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य खेम सारुले अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताको विषयमा आफु पनि लागिपरेको बताउनुभयो । उहाँले अस्पताललाई थप ब्यवस्थित बनाउने विषयमा नीतिगत तहमा आफूले गर्न सक्ने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरी, तानसेन वडा नं. १ का वडाध्यक्ष सुनिल बस्याल, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बावुराम कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो ।
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईको स्वागत, जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल सल्लाहकार समितिका अध्यक्ष टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अस्पतालका कर्मचारी प्रवन्धक गणेश प्रसाद घिमिरेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here