माथागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

0
207

पाल्पा । माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारबाट माथागढी–३ स्थित सराई खेल मैदानमा सुरु भएको छ । प्रतियोगिता मार्फत पन्ध्रौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि प्रतियोगी छनौट समेत गरिनेछ ।

यही ६ गतेसम्म चल्ने प्रतियोगितामा १६ बिधाका खेलमा छात्र २ सय ५५ र छात्रा ३ सय ३० गरी जम्मा ५ सय ८५ जना बिद्यार्थीको सहभागिता रहने र ७८ स्वर्ण, ७८ कास्य र ७८ रजत पदकका लागि प्रतिस्पर्धा हुने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

उहाँले माथागढी गाउँपालिका खेल क्षेत्रका लागि राम्रो सम्भावना रहेको पालिका भएकै कारण गाउँपालिकाले बिशेष महत्वका साथ कार्यक्रम बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो–“शैक्षिक ज्ञानसँगै खेलकूद पनि महत्वपूर्ण छ ।” उहाँले गाउँपालिकाले स्वास्थ्यसँगै स्वास्थ्यका लागि फाइदा हुने खेलकूद क्षेत्र पनि प्राथमिकताको विषय बनेको बताउनुभयो । माथागढीमा सराई खेल मैदान सहित बिभिन्न वडाहरुमा खेलमैदानहरु पनि रहेको र ती मैदानहरुलाई व्यवस्थित गर्दै अन्य स्थानमा पनि मैदान बिस्तार गर्दै जाने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायण आचार्यले बिद्यालय, पालिका र जिल्ला स्तरमा हुने हरेक किसिमका अतिरिक्त क्रियाकलाप र खेलकूदहरुमा बिद्यार्थीहरुको सहभागिता गराउने बिषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलका माध्यमबाट आफू पनि चिनिदै राष्ट्रलाई चिनाउने र आफू पनि आत्मनिर्भर बन्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य खेम सारुले देशलाई चिनाउनमा खेलाडीहरुले  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले खेलकुदबाट स्वास्थ्यसँगै खेलाडीहरुमा अनुशासनको पनि विकास हुने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले राष्ट्रपति रनिङ शिल्डका माध्यमबाट बिद्यार्थी खेलाडीहरुको मनोवल बढाउनमा धेरै सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मा, माथागढी गाउँपालिका–३ का अध्यक्ष तेज घर्ती, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कपर्दीका प्रदेश प्रशिक्षक घनपति गैरे र खेलाडी बिद्यार्थी आशिका थापाले रेफ्री र खेलाडीको तर्फबाट प्रतिबद्धता जनाउनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष बिष्णु माया लुङ्चेको स्वागत, दिब्यज्योति माविका प्रअ लोकेन्द्र थापाको संचालन र गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा उद्घाटन कार्यक्रम चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here