अर्सा रोटी बनाएर लाखौ रुपैयाँ आम्दानी

0
348

सृजना घिमिरे । (रामपुर) पाल्पा
रामपुरका घनिसरा आलेलाई यतिबेला रोटी पकाउन भ्याइनभ्याई भएको छ । घरको आँगनमा रोटी तयार गर्दागर्दै घरबाटै रोटी बिक्री भएपछि सानो लगानीमा थाल्नुभएको व्यवसाय अहिले लाखौं रुपैंया आम्दानी गर्ने माध्यम बनेको छ ।

शुरुमा करिब ६,७ हजार रुपैंया लगानीबाट रामपुर नगरपालिका वडानम्बर ४ देविस्थानमा अर्सा एण्ड रोटी हाउस संचालन गर्नुभएका आलेले यतिवेला रोटी बिक्री गरेर मात्रै दैनिक करिब दैनिक ३ देखी ४ हजार रुपैंया आम्दानी गर्नुहुन्छ । कोभिड–१९ को जोखिम लगतै केही न केही त गरेर पैंसा आउने बाटो खोज्नुपर्यो भन्दै गाउँ नजिकैका मिलमा चामलबाट पिठो तयार गरेर घरमा एक्लै रोटी पकाएर बिक्री गर्ने घनिसरा रोटी बेचेरै करिब १ लाख ५० हजार खर्चमा मिल समेत किन्नुभएको छ । यसरी घरमा मिल राखेपछि चामल पिसेर पिठो बनाउन तथा गाउँघर छिमेकीलाई कुटानी पिसानीको लागि सेवा सहज भएको उहाँले बताउनुभयो ।

महिलाहरु केही रोजगार भएन भनेन बस्नु पर्दैन हातमा सिप भए जसरी पनि आम्दानी गर्ने प्रशस्त माध्यम रहेको उहाँले उल्लेख गर्नुभयो । उमेरले करिब ५८ बर्षिय आले अहिले घरमा तयार पारेका बटुक, सेल तथा अर्सा रोटीका परिकार बनाउनुहुन्छ । उहाँले यसरी तयार पारेका परिकार खरिद गरेर विदेशका कतार, लन्डन, दुवै, अमेरिका लगायतका देशमा यहाँबाट पाहुर बनाएर पठाउने गर्छन उहाँले भन्नुभयो । प्रतिवटुक १५, अर्सा रोटी २० तथा सेलरोटीलाई २५ रुपैंयामा बिक्री गर्ने आलेको घरमा अहिले थुप्रै व्यक्ति आएर दर्जनका दर्जन रोटी लैजाने गर्छन् । दुई सय रुपैंया दर्जनमा खरिद गरेर रोटी लैजाने गरेको र घरबाटै बिक्रि हुने गरेको घनीसराको भनाई छ ।

त्यसो त घनिसरामा परालका चकटी, गुन्द्री बनाउने, कपडा सिउने, तथा सुइटर बुन्ने लगायतका सिप छन् । कुनै तालिम बिना नै पुरानै शैलिमा तयार गरेका रोटीबाट त यसरी राम्रो आम्दानी भएको छ , उहाँले भन्नुभयो । अरुबेला एक्लै रोटी तयार गर्ने आलेले चाडपर्वका बेला भने अन्य महिलाहरुलाई पनि रोजगार दिनुहुन्छ ।

रोजगार पाइएन भनेर खाली बस्नुपर्दैन । मात्रै काम गर्नुपर्छ राम्रो आम्दानी लिन सकिन्छ । अहिले त धेरैको पढाई लेखाई समेत भएकोले अन्य धेरै काम गर्न सकिने र स्वरोजगार बन्न सकिने उहाँले बताउनुभयो । यसरी सानो लगानीबाट पनि लाखौं आम्दानी लिन सकिने घनीसरा उदाहरणीय व्यक्तिको रुपमा रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here