Site icon PALPA SAMACHAR

बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
बगनासकाली गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाको चालु् आर्थिक वर्षको हालसम्मको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले चालू आर्थिक वर्ष २६० वटा योजना सम्झौता भइ काम भएको बताउनुभयो । उहाँले यो अवधिमा ६० बढी योजना सम्पन्न भएको र पुँजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

सेवाग्राहीहरुका जिज्ञाशाको सम्बोधन गर्नुहुँदै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिका आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा प्रतिबद्ध रहेको बतानउभुयो । उहाँले जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनमैत्री काम गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो । सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिनुहुँदै उहाँले गाउँपालिका र मातहतका कार्यालयका कर्मचारीहरुको कार्य चुस्ततामा कुनै समस्या भए जतिबेला पनि गर्न उहाँले सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले विकास योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले गाउँपालिकाले काम गर्ने दौरानमा केही सच्याउन पर्ने विषय भए तत्काल सुझाव सल्लाह पालिकामा दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि ढकेश्वर बस्याल, नेपाली कांग्रेसका गणेशप्रसाद नेकपा माओवादीका खुमबहदुर बिक ,जनता समाजवादीका खिकबहादुर रेश्मी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, रामप्रसाद ढुङ्गाना,श्रीबहादुर कँवर, कुलप्रसाद ढुंगाना लगायतले गाउँपालिकालाई थप सुझाव सल्लाह सहित जिज्ञाशाहरु राख्नुभएको थियो । सहभागीहरुले बाँदर नियन्त्रणका लागि खास पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्य खानेपानी लगायत गाउँपालिकाको करको दायरा सेवा प्रवाह विषयमा जिज्ञाशा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जनताले दिएको सुझावलाइ ग्रहण गरेर अघि बड्ने बताउनुभयो । जनताबाट संकलित नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले गर्नुभएको थियो ।

Exit mobile version