गोपाल प्रसाद बस्याल । पाल्पा
तानसेन, पाल्पास्थित मोहन कन्या माध्यमिक विद्यालयमा एक दिने खाना महोत्सव सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भई विभिन्न १५ प्रकारका परिकारहरू राखिएका थिए ।
विद्यार्थीहरूले मःम, पकौडा, फ्रेञ्च फ्राइ, ससेज, चिकन छोइला, भेज छोइला, बटुक, आलु कवाफ, चुकाउनी, पानी पुरी, चटपटे, कफि लगायतका परिकार विद्यालय आँगनमै पकाउँदै बिक्री गरिरहेका थिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरू विभिन्न परिकार खाँदै रमाउँदै देखिन्थे । कार्यक्रममा छात्राहरूले नाँचगानसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमबाट ४५ हजारभन्दा बढीको बिक्री भएको शिक्षक टंक भुसालले बताउनुभयो । विद्यार्थीहरूलाई कक्षा शिक्षक रिता अधिकारी, शान्ता सोमै थापालगायत शिक्षकहरूले सहयोग गर्नुभएको थियो । खाना महोत्सवमा सहभागी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिधान श्रेष्ठले विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रम सिपको विकास हुने, सामान खरिद र खाना परिकार बनाउने सिपको विकास हुने र सञ्चार सिप, नेतृत्व सिप जस्ता क्षमता विकास हुने बताउनुभयो ।
विद्यार्थीको अध्ययनका साथै यस प्रकारका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यान दिएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताउनुभयो ।