Site icon PALPA SAMACHAR

प्रभावकारी बन्दै बगनासकालीको शिभिल प्रयोगशाला

पाल्पा । बगनासकाली गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये पहिलो सञ्चालनमा ल्याएको शिभिल प्रयोगशाला प्रभावकारी बनेको छ । बगनासकाली–९ चापपानी स्थित चिलाङ्दी भञ्ज्याङमा स्थापना गरिएको प्रयोगशाला उपयोगी भएको हो । यो प्रयोगशाला पुल्चोक इन्जिनियरिङ कलेजबाट मान्यता प्राप्त गरेर सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट विभिन्न १५ प्रकारका सिभिल कामको प्रयोगशालामा जाँच हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले पालिका भित्र सञ्चालनमा रहेका विकास योजनाहरुको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने अवस्था रहेको र रिपोर्ट आउन ढिलाई हुने तथा जान आउनका लागि अतिरिक्त खर्च हुने गरेकोमा पालिकाभित्रै प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको बताउनुभयो । प्रयोगशालाबाट सस्तो राजश्वमा तत्काल रिपोर्ट पाइने अवस्था बनेको छ । गाउँपालिका भित्रका भौतिक निर्माण, संरचनालाई गुणस्तरीय, पारदर्शी बनाउन यो प्रयोगशाला सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । यो प्रयोगशालाबाट जिल्ला र जिल्ला बाहिरका ब्यक्ति र कार्यालयहरुले पनि सेवा लिन सक्ने प्रवन्ध मिलाइएको छ ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यो प्रयोगशालालाई प्रभावकारी र पारदर्शी ढंगले संचालन गरि विकास योजनाहरुको कामलाई गुणस्तरीय बनाउन सघाउने बिश्वास व्यक्त गर्नुभयो । बगनासकालीले यो प्रयोगशालाबाट आन्तरिक राजश्व बृद्धि गर्ने सोच बनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सरकारी, गैरसरकारी तथा नीति भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउनका लागि प्रयोगशाला सहयोगी हुने बताउनुभयो । यो प्रयोगशाला पारदर्शीताको एउटा उदाहरण रहेको उहाँको भनाई छ । प्रयोगशालाबाट जे हो त्यही रिपोर्ट आउँछ यसबाट विकास योजनाका कामहरू गुणस्तरीय छन् कि छैनन् भनेर जान्न बुझ्न सकिन्छ । उहाँले भन्नुभयो ।

प्रयोगशालाबाट एग्रीगेट क्रसिङ भेल्यु टेस्ट, इम्प्याक्ट भेल्यु टेस्ट, फ्लाकिनेस इन्डेक्स, फिल्ड डेन्सिटी टेस्ट, प्रोक्टर कम्प्यासन, सिभ एनालाइसिस लगायत १५ प्रकारको परीक्षण गर्न सकिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । प्रयोगशालाबाट कम्प्रेसिभ स्ट्रेन्थ अफ कन्क्रिट क्युब मोर्टार, मेकिङ मोर्टार क्युब, स्लम्प टेस्ट, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट, एवस्वरप्सन टेस्ट, मेजरमेन्ट अफ ब्रिक लगायतको पनि जाँच हुन्छ ।

व्यक्तिगत रूपमा पनि प्रयोगशालाको सेवा लिन सकिन्छ
यो प्रयोगशालाबाट सरकारी तथा गैरसरकारी क्षेत्रमा भएका विकास योजनाहरुको गुणस्तरीयता परीक्षण गरिन्छ । मोटरबाटो, कुलो नहर, भवन, घर लगायतमा आवश्यक मात्रामा सिमेन्ट बालुवा प्रयोग गरिएको छ कि छैन ? सम्झौता र मापदण्ड बमोजिम विकास योजनाको काममा गुणस्तरीयता काम भएको छ कि छैन भन्नेबारे यो प्रयोगशालाबाट परीक्षण हुन्छ । यो प्रयोगशालाबाट ब्यक्तगत रुपमा गाउँपालिकामा नक्सा पास गरी घर भवन बनाउँदै गरेका नीजि पनि उचित राजश्व तिरेपछि सेवा लिन सक्नेछन् । यो प्रयोगशाला स्थानीय तहमा जिल्लाकै पहिलो भएका कारण पनि अन्य पालिकाहरुबाट समेत यहाँ सेवा लिन आउने गरेका छन् ।

Exit mobile version