धेरै सम्भावना सहितको वडा खानीछापः एक चिनारी

0
730

ओमप्रकाश न्यौपाने
पाल्पा जिल्लामा १० वटा स्थानीय तहहरू रहेका छन् । बगनासकाली गाउँपालिका पनि एक स्थानीय तह हो । बगनासकाली गाउँपालिकाको वडा नं. ४ मा खानीछाप पर्छ । संघीयता लागु हुन पूर्व यो खानीछाप गा.वि.स. को रुपमा थियो । उक्त सिंगो गाविस. हाल सिंगो वार्डको रुपमा छ ।

खानीछाप पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि पूर्व उत्तरमा रहेको छ । तानसेनदेखि चिलाङदी–नायर–चौपारी हुँदै कच्ची सडक खानीछाप करिव १२ कि.मी. को दुरीमा छ । खानीछापको क्षेत्रफल ७.९६ वर्ग कि.मी. रहेको छ । समुद्री सतहदेखि करिब ४०० मी. देखि १२०० मी. उचाइमा खानीछाप पैmलिएको छ । खानीछापभित्र राम्दी, सेरा, मलेङ्ग, गुडुवाखोला, भालेबास, पित्लुमछाप, आमडाँडा, साझेडाँडा, तिखुम, तिनछाँगा, गोवान्दी, खानीछाप, महछाप आदि टोल वस्ती रहेका छन् ।

खानीछाप २७.९६ डिग्री उत्तरी अक्षांस र ८३.६३ डिग्री पूर्वी देशान्तरमा पैmलिएको छ । यसको सिमाना, पूर्वमा रम्भा गाउँपालिका र कालीगण्डकी पर्दछ । पश्चिममा नायरनम्तलेस उत्तरमा दर्लमडाँडा र दक्षिणमा नायरनमतलेस पर्दछन् ।

पञ्चायती समयमा खानीछाप र नायर नम्तलेस हाल क्रमशः बगनासकाली गाउँपालिकाका वार्ड नं. ४ र ३ छुट्टाछुट्टै अस्तित्वमा भएपछि २०३४ सालतिर एउटै गाउँपञ्चायत भएको गाउँ पञ्चायतका पुर्व अध्यक्ष चेतनारायण तिमिल्सेनाले बताउनुभयो । करिब २ वर्षपछि २०३६ सालमा पुनः छुट्टाछुट्टै गाउँ पञ्चायतको रुपमा स्थापित भएका थिए । खानीछाप गाउँ पञ्चायतको प्रशासनिक भवन खानीछाप भञ्ज्याङमा रहेको र पछि नायर नम्तलेस मिसिदा पनि सोही स्थानमा रहेको थियो । तत्कालीन पञ्चायती समयमा प्रशासकीय भवन खानीछाप भन्ने स्थानमा रहेका कारण यस वडाको नाम खानीछाप रहेको हो ।

हाल खानीछाप शब्दले समग्र वडा नं. ४ लाई प्रतिनिधित्व गर्दछ । समय अन्तरालसँगै स्थानीय तहको पहिलो निर्वाचित २०७४ मा निर्वाचित जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुको बैठक र सहमतिमा २०७८÷१२÷२७ देखि वडा कार्यालयको नयाँ भवन पित्लुमछापबाट सेवा प्रदान प्रवाह हुँदै आएको छ । खानीछाप आफैमा एउटा वृहत सभ्यता हो । संस्कार हो । परिचय हो । खानीछापले सिंगो वडाको सभ्यता, संस्कार र परिचयको प्रतिनिधित्व गर्दछ ।

राजनीति तथा नेतृत्व
बहुदलीय व्यवस्था लागु हुन पूर्व पञ्चायती समयमा खानीछापमा पार्टी राजनीतिभन्दा व्यक्ति, राजनीति र व्यक्तिगत प्रभावको राजनीति बढी थियो । तथापि पञ्चायत कालखण्डमा यहाँ नेपाली काँग्रेसको प्रभाव बढी थियो । पञ्चायत समयमा भए गरेका विभिन्न स्थानीय चुनावहरुको नतीजामा प्रायः नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित हुने गर्दथे ।

बहुदलीय व्यवस्था लागू भएपछिको पहिलो स्थानीय चुनाव २०४९ सालमा गा.वि.स. अध्यक्ष र उपाध्यक्ष सहित ६ वटा वडाहरुमा नेपाली काँग्रेसका उम्मेदवारहरु निर्वाचित हुनुभएको थियो भने ३ वटा वडा अध्यक्ष एमालेमा उम्मेदवार निर्वाचित हुनुभएको थियो । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा गा.वि.स. अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष एमालेका उम्मेदवार निर्वाचित हुनुभयो भने ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको थियो ।

मुलुकमा संघीयता लागू भएपछि बगनासकाली ४ खानीछापमा २०७४ सालको स्थानीय निर्वाचनमा वर्डा अध्यक्ष र दलित महिला सदस्य नेपाली कांग्रेस र ३ जना वडा सदस्य नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । २०७९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष सहित ५ जना एमालेका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ ।

खानीछापको पार्टी राजनीतिमा नेकपा एमाले र नेपाली काँग्रेस प्रायः बराबरी जस्तै छन् भने नयाँ पार्टी मंगोल नेशनल अर्गनाइजेसन पार्टी पनि उल्लेख्य संख्यामा वृद्धि भइरहेको छ । जनमुक्ति पार्टी र नेकपा माओवादी पार्टीको पनि प्रभाव छ । नयाँ दलको रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा समाजवादी पार्टीले पनि संगठन विस्तार गरिरहेको जनाएपनि औपचारिक रुपमा संगठन गठन भएको देखिदैन ।

हालसम्म भएका चुनावबाट निर्वाचित अध्यक्ष एवं सदस्यहरु
१) मिति २०१७/१८ साल – यादव अर्याल (प्रधान)
२) मिति २०२५/२६ साल – चिन्तामणि न्यौपाने (प्रधान)
३) मिति २०२८/२९ साल – सन्तवीर चौहान (प्रधान)
४) मिति २०३०/३२ साल – केशरसिह चौहान (प्रधान)
५) मिति २०३४ साल – मथुरा श्रेष्ठ (प्रधान)
(उहाँ सोही समयमा जिल्ला पञ्चायतमा निर्वाचित भएकाले उहाँकोे राजीनामा)
६) मिति २०३४ साल – शंकर नारायण श्रेष्ठ (प्रधान)
७) मिति २०३८ साल – चेतनारायण तिमिल्सेना (प्रधान)
– हुम ब. दर्लामी (उपप्रधान)
८) मिति २०४२ साल – चेतनारायण तिमिल्सेना (प्रधान)
– हुम ब. दर्लामी (उपप्रधान)
(सोही समय चेतनारायण तिमिल्सेना जिल्ला पञ्चायतमा चुनाव लड्न जाँदा राजीनामा दिनुभएको र पुनः चुनाव भएको)
९) मिति २०४२ साल – मेधनीलाल न्यौपाने (प्रधान)
– हुम ब. दर्लामी (उपप्रधान)
१०) मिति २०४९ साल – मेधनीलाल न्यौपाने (गा.वि.स. उध्यक्ष)
– टीकाराम गाहा (गा.वि.स. उपाध्यक्ष)
ं११) मिति २०४९ साल – हुम ब. दर्लामी (गा.वि.स. उध्यक्ष)
– नामदेव न्यौपाने (गा.वि.स. उपाध्यक्ष)
१२) २०५९ सालदेखि २०७४ सालसम्म वडा सचिव कुलप्रसाद अर्यालको अध्यक्षतामा सर्वदलीय बैठकमा कार्यक्रम सञ्चालन भएको ।
१३) मिति २०७४ – हुतमान सिह दर्लामी –वडा अध्यक्ष)
(वडा सदस्यहरु ः धर्मराज अधिकारी, जित ब. कनौजे, पविसरा दर्लामी, सरस्वती वि.क.)
१४) मिति २०७९ – जित ब. कनौजे –वडा अध्यक्ष)
(वडा सदस्यहरुः खडग ब. गाहा, हरि प्रसाद न्यौपाने, पविसरा दर्लामी, मिना वि.क.)
(तथ्यांक स्रोत ः चेतनारायण तिमिल्सेना, कुलप्रसाद अर्याल, लक्ष्मण गाहा, नामदेव न्यौपाने)
भौगोलिक बनावट

खानीछाप पूर्णतः पहाडी क्षेत्र हो । महछाप डाँडो खानीछापको अग्लो स्थान हो भने कालीगण्डकी किनार सबैभन्दा होचो स्थान हो । सेरा, कोरौधी, वस्पा, आम्बोटे, गुडुुवा, नौविसे आदि सम्म फाँट हुन् भने भालेबास, खानीछाप, मलेङ्गको डाँडाको थाप्लोमा करिब सम्म परेको जमिन छन् । अन्य स्थान पूर्णतः भिरालो डाँडाहरु रहेका छन् । हलुका माटो भएकाले वर्षादको समयमा बाढी पहिरोको अत्याधिक जोखिममा रहेको छ ।

जनसङख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या १६३१ छ । यहाँ ७५३ पुरुष र ९०६ महिला बसोबास गर्दछन् । यहाँ ४५३ घरपरिवार छन् ।

हावापानी र मनसुन
खानीछापको हावापानी उष्ण मनसुनी खालको छ । गर्मी समयमा चर्को घाम लाग्ने र गर्मी हुने तथा जाडो समयमा अत्याधिक जाडो हुने गर्दछ । खानीछाप, महछाप जस्ता अग्लो लेकमा सधैभरी मध्यम खालको हावापानी पाइन्छ । यहाँ औषत वार्षिक वर्षा करिब १८०० मि.लि. हुने गर्दछ । यहाँको माटो रातो तथा हलुङ्गो भएकाले वर्षादको समयमा बाढी पहिरोले ठूलो क्षति पु¥याउँदै आएको छ ।

शिक्षा
खानीछापमा हाल पाँचवटा विद्यालयहरु सञ्चालनमा छन् । महछापमा श्री हिमालय प्रा.वि., खानीछापमा श्री हिमालय आ.वि., भालेबासमा श्री गंगादेवी प्रा.वि., मलेङ्ग राम्दीमा श्री राम मा.वि. र राम्दीमा श्री राम्दी प्रा.वि. सञ्चालनमा छन । गुडुवाखोलाको नवदुर्गा प्रा.वि. मिति २०७५/०१/०९ मा श्री राम मा.वि. मा मर्ज भएको हो । यस वडामा ३ प्रा.वि., १ आ.वि., १ मा.वि.मा कक्षा १२ सम्म पढाई हुन्छ । विद्यालय उमेर समूहका सबै जसो विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।

स्वास्थ्य
खानीछापमा एउटा स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीको नयाँ भवन खानीछापमा निर्माणाधीन छ । हालसम्म पुरानो भवनबाट सेवा प्रदान गर्दै आइरहेको छ । यहाँ सुरक्षित सुत्केरी गराउनका लागि तालिम प्राप्त नर्स सहितको बर्थिङ सेन्टर पनि संचालनमा छ । भौगोलिक बनावटका कारण मलेङ्ग, सेरा, राम्दीका प्रायः बिरामी सेवा लिन गलेङ्ग तथा तानसेन जाने गर्दछन् भने स्वास्थ्य चौकी नजिकका बिरामी प्रायः सो स्वास्थ्य चौकीबाट सेवा लिइरहेका छन् । साविक ९ वटा वडाका ९ वटा महिला स्वास्थ्य स्वयंसेविका मार्फत् सुत्केरी एवं अन्य बिरामीहरूको नियमित निगरानी रहन्छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले समयसमयमा गाउँघरमा डुलेर समस्या बुझेर समाधान गर्ने प्रयास गरिरहनुभएको छ ।

खानेपानी
खानीछापमा हालसम्म करिब ३० प्रतिशत मानिसहरुले शुद्ध खानेपानी प्रयोग गर्दछन् । पुरानो पानीको बाँधबाट गाउँघरमा पाइपद्वारा पानी ल्यााई खाईरहनु परेको छ । महछापमा लिफ्टिङ खानेपानी सञ्चालनमा रहेको छ । खानीछापमा लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ । मलेङ्गमा लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । गुडुवाखोलामा खानेपानी आयोजनाको काम भइरहेको छ । एक घर एक धाराको राष्ट्रिय अभियान खानीछापमा पूरा हुन सकेको छैन् ।

रोजगारी
खानीछापमा रोजगारीको प्रमुख क्षेत्र कृषि नै हो । यहाँको प्रमुख खेती मकै खेती हो । सिँचाइ सुविधा भएको स्थानमा धान खेती हुन्छ । मकै, धान, गहुँ, कोदो लगायतका खाद्यान्न बालीको खेती हुन्छ । नगदेबाली तर्फ केरा, सुन्तला, कागती, मौसम लगायत खेती गरिन्छन् । रोजगारीको दोस्रो क्षेत्र वैदेशिक रोजगार हो । बलिया युवाहरु प्रायः वैदेशिक रोजगारमा संलग्न छन् । नेपाल सरकारको निजामती क्षेत्रमा, शिक्षण सेवा, नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना र प्रहरी, वकिल, डाक्टर, इन्जिनियर भएर राष्ट्र सेवामा संलग्न पनि छन् ।

जातजाति एवं धर्म संस्कार र संस्कृति
यो वार्डमा मगर जातिको बाहुल्यता छ । यद्यपि सेरा, राम्दी, मलेङ्ग र गुडुवाखोलामा बाहुन बस्ती रहेको छ । अन्य सम्पूर्ण क्षेत्रमा मगर बस्ती रहेको छ । मगर समुदायमा मातृभाषाको रुपमा मगर भाषा प्रचलनमा छ । गुडुवाखोला र खानीछापमा दलित वस्ती रहेको छ । जातजाति बीचमा धार्मिक सहिष्णुता कायम भएको छ । यहाँको प्रमुख धर्म हिन्दु नै हो । हिन्दु धर्म परम्परा अनुसारका विभिन्न चाडपर्वहरु यहाँ मनाइन्छन् । क्रिश्चियन धर्मावलम्बीहरु पनि छन् । यहाँ दसैं, तिहार, तीज माघी लगायतका प्रमुख चाडपर्वहरू मानिन्छन् । मगर समुदायमा ठूलो नाच, झाम्रे, मारुनी नाच प्रचलनमा छन् भने ब्राहम्ण समुदायमा खैजडी किर्तन, भजन संस्कृतिको रुपमा प्रचलनमा छन् । जन्म, बर्तबन्ध, छेवार, विवाह एवं मृत्युसंस्कारमा आआफ्नो धर्म परम्परा अनुसार प्रचलनमा छन् । यस क्षेत्रमा राम्दीमा रामहनुमान मन्दिर, मलेङ्गमा भयरथान मन्दिर, कालिका मन्दिर, शिव मन्दिर, गुडुवाखोलामा कालिका मन्दिर, भालेबास थपना मन्दिर एवं खानीछापमा मन्दिरहरु आस्थाको केन्द्रका रुपमा पुजिन्छन् । तिनछाँगामा रहेको खोलामा गुरु बशिष्ठ ऋषिले तपस्या गरेको ठाउँमा संरक्षण र विकास गरि पर्यटन विकास गर्न सकिन्छ ।

यातायातः
सिद्धार्थ राजमार्ग निर्माणसँगै खानीछाप यातायातको सहज पहुँचमा प्रवेश ग¥यो । सिद्धार्थ राजमार्गले खानीछापको करिव २ किलो मिटर भुभाग समेटेको छ । हाल यहाँ तानसेन, चिलाङ्दी, नायर खानीछाप मलेङ राम्दी मोटरबाटो प्रमुख बाटो बनेको छ । नायर चौपारी देखि राम्दीसम्म करिव ११ किमि कच्ची बाटो यस वडाको प्रमुख सडक हो । हाल प्रत्येक टोल टोलमा बस्ती बस्तीमा कच्ची सडक पुगेको छ । अप्ठेरो कच्ची सडकमा ढलाई भएका छन् । हाल तानसेनदेखि चिलाङ्दी हुँदै खानीछाप दिनहुँ यात्रु जीप संचालनमा छन् ।

अन्तमा अझैसम्म पनि खानीछापको सर्वाङ्गिण विकास हुन सकेको छैन । बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडा मध्ये भौगोलिक हिसावले सबैभन्दा विसमताको वडाको रुपमा खानीछाप रहेको छ । यहाँ विकासका पर्याप्त सम्भावनाहरु छन् । गुडुवा, तिखुम, तिनछाँगामा व्यवसायिक सुन्तलाखेती गर्न सकिन्छ । गुरु बरिष्ठले तपस्या गरेको स्थानलाई संरक्षण, प्रवर्धन गरि धार्मिक पर्यटनको विकास गर्न सकिन्छ ।

मगर समुदायमा प्रचलित नााचहरुको संरक्षण तथा सम्बर्धन गरि साँस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना छ । भालेवास र खानीछापमा मगर संस्कृति सहितको होमस्टे सञ्चालन गर्न सकिने सम्भावना छ । भालेवास र खानीछापमा मगरी संस्कृतिको होम स्टे सञ्चालन गर्न सके आर्य आर्जन मार्फत स्थानीय क्षेत्रको विकास गर्न सकिन्छ ।

मलेङमा ब्राह्मण संस्कृति सहितको होम स्टे संचालन गर्न सकिने आधारहरु छन् । गुडुवाखोलाको चेमेरे ओढारको प्रचार प्रसार र सहज पहुँचमार्ग निर्माण गरि चेमेरे ओढार देखि दर्लमपसलसम्म झोलुङ्गे पुल निर्माण गर्दा लामो र साहसिक पुल निर्माण हुन्छ । खानीछाप क्षेत्रको कालीगण्डकी राम्दीको किनार त्रिवेणीको रुपमा पुजिन्छ । राम्दीघाट व्यवस्थित गरि स्नानघाट तथा शव दाह स्थल बनाउनु पर्नेछ । यस क्षेत्रमा उत्पादन हुने फलफुल तथा कृषि उपजले सहज बजार पाएका छैनन् । यो क्षेत्र गाई भैसी पालनको लागि उपयुक्त ठाउँ हो । व्यावसायिक गाई भैसी पालनको वातावरण सृजना गर्न सके बैदेशिक पलायन रोक्न सकिन्छ । खानीछाप बाख्रापालनका लागि जिल्लामै प्रख्यात छ । मगर जातिमा बनाईने स्थानीय रक्सीलाई ब्रान्डिङ गरि व्यवासायिक बनाउन सके पुरानो परम्परा पनि जोगिइरहने र आम्दानीमा पनि बृद्धि हुने देखिन्छ ।

बगनासकाली –४ खानीछाप मलेङ्ग पाल्पा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here