प्रतिभा संगम कार्यक्रम सम्पन्न

0
167

गोपाल प्रसाद वश्याल । पाल्पा
वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाको आयोजनामा नियमित मासिक प्रतिभा संगम कार्यक्रमको ६९ औं श्रृंखला तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा जम्मा १३ जना साहित्यकारहरूले कविता, मुक्तक, लघुकथा, गजल, हाइकु, साइनो, गुलेली कविता र समीक्षा जस्ता विविध विधामा रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार उपप्राध्यापक महेन्द्र पन्थीले “जीवन्त काकाकूल” शिर्षकको कवितामार्फत सिमितबाहेक भोक प्यासका कारण जीवनभर तड्पिनुपरेको नेपाली समाजको नियतिलाई उजागर गर्नुभयो । उहाँले कार्यक्रममा बाचन गरिएका रचनाका बारेमा टिप्पणी गर्दै रचनामार्फत श्रृंगार, ब्यंग्य, सौन्दर्यता र बिम्बमार्फत कविहरूले रोमाञ्चक जीवनका साथै समाजमा भएका विविध विकृतिको चिरफार गरेको बताउनुभयो ।

साहित्यकार राम प्रसाद अर्यालले हाइकुमार्फत सिर्जनाको संरचना तथा वाचन पक्ष बलियो भएको टिप्पणी राख्दै वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाले साहित्य क्षेत्रमा गरेको याृगदानको प्रशंसा गर्नुभयो । त्यस्तै कवि लक्षिमा ज्ञवालीले नारी शीर्षकको शार्दूलबिक्रडित छन्दको कवितामा नारीको योगदानको मूल्य दिनका लागि समाज आनाकानी गरिरहेकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । अर्का कवि पुरुषोत्तम अर्यालले श्रृंगारिक र कारुणिक दुवै भावका भावका कवितामार्फत प्रेम र दया दुवै पक्षको जोडदार प्रस्तुति गर्नुभएको थियो । अर्का कवि धातानन्द शर्मा गहिरेले हाइकु, साइनो मार्फत प्रकृति सौन्दर्य र मानवीय विकृतिको चिरफार सँगसँगै गर्नुभएको थियो । गैरेले कार्यक्रममा प्रस्तुत रचनाहरूमाथि टिप्पणी समेत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार हरि प्रसाद भट्टराईले राजनीतिक विकृतिका लागि सर्बसाधारणको पनि भूमिका दर्शााउने ब्यंग्यप्रधान गद्य कविता प्रस्तुत गर्नुभयो । अर्का साहित्कार गोम विक्रमले कमला भण्डारी ढकालको आधा जुन नामक मुक्तक संग्रह कृतिबाट र आफ्नै हालै प्रकाशित सुस्केरा मुक्तक संग्रहबाट मुक्तकहरूबाचन गर्नुभएको थियो । उहाँका मुक्तकमा राजनीतिक एवम् सामाजिक विकृतिमाथि प्रहार गरेको पाइयो । त्यसैगरी साहित्कार नेत्र प्रसाद न्यौपानेले श्रृंगारिक भावका मुक्तकहरू बाचन गर्नुभयो ।

साहित्यकार शंकर ढकालले आफ्नै कृति सारंगी वियोगबाट झ्याउरे भाकाका कविता वाचन गर्नुभयो । त्यस्तै गुलेली काब्यका रचनाकार रोहितप्रसाद ज्ञवालीले राजनीतिक विकृतिमाथि प्रहार गर्ने गुलेली कविता वाचन गर्नुभयो । उहाँले विकृत बैवाहिक सम्बन्धमाथि टिप्पणी राख्ने लघुकथा पनि सुनाउनुभएको थियो । नवोदित साहित्यकार कुन्दन अर्यालले इन्द्रेणी शीर्षकको कवितामार्फत नयाँ विहानीको आगमनसँगै सुन्दर भविष्यको आशावादी दृष्टिकोण दिएका छन् । वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाका महासचिव गणेश नेपालीले गजल र अध्यक्ष गोपालप्रसाद नारी शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here