तानसेन महोत्सवको समिक्षाः उपलब्धी एउटा मात्रै , धेरै हानी

0
590

पाल्पा । १० दिनका लागि तय भएको तानसेन महोत्सव २ दिन थप गरियो । थपिएको समयसँगै १२ दिने तानसेन महोत्सव बिहीवार सकियो । थपिएको २ दिनको विषय र आर्थिक चलखेलबारेको समाचार यसअघि पाल्पा समाचार डटकममा प्रकाशन भइसकेको छ ।

यो महोत्सव अन्य संघ संस्थाले गर्नु र स्थानीय सरकारले गर्नुमा धेरै फरक छ । स्थानीय सरकारको आयोजना रहेको महोत्सव भएकोले पनि नागरिकको चासो बढी हुनु स्वभाविक हो । यस वर्ष भएका कमीकमजोरीलाई महसुस गर्दै आगामी बर्षको योजना निर्माणमा नगरपालिकाले बिशेष ध्यान दिनु आवश्यक छ ।

एउटा मात्रै उपलब्धीः ६१ लाख आन्तरिक आय
महोत्सवका नाममा ठेकेदार कम्पनी राजधानी राइड्ससँग तानसेन नगरपालिकाले बोलकबोलबाट ६१ लाख रुपैयाँ आन्तरिक आय संकलन गरेको छ । यही रकमबाट नगरपालिकाले महोत्सव प्रयोजनमा १७ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिसकेको छ । कम्तीमा १७ लाख खर्च भयो भयो भने नगरपालिकामा महोत्सवबाट बापत रहने रकम ४४ लाख मात्रै हो । नगरपालिकाको भनाईमा सबैभन्दा ठूलो उपलब्धी यही हो ।

यसअघि भएका महोत्सवमा नगरपालिकाले २ लाख रुपैयाँ पनि संकलन गर्ने अवस्था थिएन । कतिपय महोत्सवमा नगरपालिकाले टुँडिखेलसँगै उल्टै आर्थिक सहयोग समेत ग¥यो । अघिल्लो वर्ष टुँडिखेलम मैदानमै उद्योग बाणिज्य संघले गरेको महोत्सवबाट १ लाख ५० हजार हाराहारी मात्रै राजश्व संकलन नगरपालिकाले गरेको थियो । उद्योग बाणिज्य संघले महोत्सवको आय ब्यय औपचारिक रुपमा अहिलेसम्म पनि सार्वजनिक गर्न सकेको छैन । महोत्सव सकिएको १५ दिनभित्रै आयब्यय सार्वजनिक गरिने जनाइएपनि बर्ष दिन हुन लाग्दा समेत तानसेनबासीले यसबारे जान्ने बुझ्ने मौका पाएका छैनन् । यद्यपी संघका सचिव बिदुर घिमिरेले संघको साधारणसभामा सदस्यहरुलाई यसबारे जानकारी गराइएको बताउनुभयो । उक्त प्रतिबेदन कतै सार्वजनिक भएन ।

६१ लाख भित्रिदा करोडौ रकम बाहिरियो
तानसेन नगरपालिकाले महोत्सवको मुख्य सफलताको रुपमा ६१ लाख रुपैयाँ सकंलनलाई लियो । तर महोत्सवका नाममा जिल्लाको करोडौ रकम बाहिरिएकोमा नगरपालिकाको नजर छैन । महोत्सव स्थलमा घरेलु तथा उद्यमशीलताका २० वटा हाराहारी मात्रै स्टल थिए । त्यसबाहेक २८० हाराहारी स्टल लत्ताकपडा, खानेकुरा, होटल, जुत्ता चप्पल, श्रृंगारिक सामान लगायतका देखिए । यी मध्ये ८० प्रतिशत बढी स्टल जिल्लाबाहिरबाट आएका थिए ।

अव लागौ बाल उद्यानतर्फ । बालउद्यान अधिकांश भारतीय नागरिकका हुन् । बाल उद्यानबाटै करोडौ रकम बाहिरएको छ । बालउद्यानका लागि प्रवेशद्धारका भन्दा मंहगा टिकट थिए । सर्वसाधारणले बाल उद्यानमा कम्तीमा ५० देखि १५० रुपैयाँसम्म बुझाए ।

कलाकारको अपमान भयो
महोत्सवका नाममा बनेका ब्यानर, प्रचार सामाग्रीमा पाल्पाली सहित धेरै कलाकारको नाम राखिएको थियो । चर्चित कलाकारहरु नारायण रायमाझी, पुष्कल शर्मा, एलिना चौहान, राजु परियार, समिक्षा अधिकारी, अस्मिता अधिकारी, पुरुषोत्तम भण्डारी, हुम गैरे, पुरुषोत्तम गैरे, शान्तिश्री परियार लगायतको पनि नाम चर्चा भयो तर यी मध्ये धेरै कलाकारले मेलाको सुइको समेत पाएनन् ।

एउटा स्थानीय सरकारको मुख्य आयोजना रहेको महोत्सवमा यति हदसम्मको कमजोरी होला भन्ने धेरैले सोचेका पनि थिएनन् । तर यस्तो संवेदनशील बिषयमा तानसेन नगरपालिकाले ध्यान दिन सकेन । आफ्नो जिल्लाका लागि परेमा निःशुल्क सेवा गर्न आतुर कलाकारहरु नगरपालिकाको यो कार्यबाट निराश भए ।

मेयरको काम अध्यक्षता ग्रहण मात्रै
तानसेन नगर क्षेत्रको बिकास कमजोर हुँदै गएको छ । अहिलेका जनप्रतिनिधिबाट नगरका जनतामा कुनै आशा छैन । अध्ययन बिनाको दैनिकी र सीमित गुटका कारण तानसेन नगरपालिका थप सुनसानतर्फ उन्मुख हुँदै

छ । जम्बो टोली सहितको सल्लाहकार समिति छ तर सल्लाहकारलाई नै सल्लाह चाहिने अवस्था छ ।
यो महोत्सवको सन्दर्भमा तानसेनका मेयर सन्तोषलाल श्रेष्ठको भूमिका अध्यक्षता ग्रहण गर्नेमा मात्रै सीमित देखियो । उद्घाटन र समापन कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने बाहेक महोत्सव र यसको औचित्यबारे मेयर श्रेष्ठले १ मिनेट पनि सोचेको हामीले पाएनौं ।

महोत्सवको अवधि २ दिन थप्ने कार्यपालिकाको निर्णय लगत्तै हामीले मेयर श्रेष्ठलाई प्रश्न गरेका थियौ तर मेयर श्रेष्ठ आफ्नै अध्यक्षतामा भएको निर्णय प्रति जानकार देखिनुभएन ।

जनप्रतिनिधि कर्मचारी नाचगानमा सेवाग्राही मर्कामा
तपाइँले महोत्सवको प्रत्यक्ष प्रसारणको भिडियो त पक्कै हेरिरहनुभएको थियो होला । भिडियोमा को को नाचेको देख्नुभयो । पक्कै यहाँहरुको जवाफ आउँछ जनप्रतिनिधि र कर्मचारी बढी । स्टेजमा मच्ची मच्ची नाच्ने उनै जनप्रनिनिधि र कर्मचारी नै हुन् ।

हाम्रो आसय उनीहरु नाच्नुहुँदैन भन्ने हुँदै होइन । सोही समयमा उनीहरुको कार्यालयमा आएका सेवाग्राहीहरुको हालत के थियो होला ? अव नाच्ने जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार हेर्ने कि सेवाग्राहीको ? तलव खाएर जनताको सेवा गर्न आएका जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार सम्झेर सेवाग्राही खुम्चनुपर्ने अवस्था भयो ।

यो महोत्सवले खास प्रभाव पार्न नसकेको धेरैको बुझाई छ ।  बरु आयातित म्याद गुज्रनै लागेका सामाग्रीहरुको बिक्रीका लागि टेवा पुर्यायो । स्थानीय सरकार स्थानीय नागरिकको गौरव पनि हो । सरकारलाई परेको बेला नागरिकले सहयोग पनि गर्छन् । महोत्सव स्थलबाहिर रहेका एक जना सचेत नागरिकले भन्दै थिए । नगरपालिकालाई ६१ लाख नै चाहिएको हो भने बरु मेला हेर्न आएका ३ लाख दर्शकबाट २० रुपैयाँ ३३ पैसा बढी रकम टिकटमा जोडेर लिएर यो मेलालाई हेर्न लायक बनाउन सकिन्थ्यो नि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here