Site icon PALPA SAMACHAR

किशोरीहरुलाई आत्मरक्षा तालिम

गोपाल प्रसाद बस्याल । पाल्पा
तानसेन, पाल्पास्थित मोहन कन्या माध्यमिक विद्यालयमा किशोरीहरूका लागि ५० दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत जम्मा ३५ जना छात्राहरूले हरेक दिन बिहान तालिम पूरा गरेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित आत्मरक्षा तालिममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक वीर बहादुर कुमालले किशोरीमाथि हुने बलात्कार, लाठीले टाउकोमा हान्ने, पछाडिबाट हान्ने, कम्मर अठ्याउने, चुल्ठोमा लुछ्ने लगायतका शारीरिक हिंसाको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्ने सिपको अभ्यास गराएका थिए । यसका साथै छात्राहरूलाई कराँतेका केही सिपहरू पनि सिकाइएको थियो ।

तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रकुख महेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त सिपका आधारमा किशोरीहरूले आत्मरक्षाका साथै शारीरिक तन्दुस्ती, स्वास्थ्य स्फूर्ती प्राप्त गरेका र राष्ट्रिय स्तरमा समेत यी आत्मरक्षा कार्य सिप र खेलको माध्यमबाट आफ्नो ब्यक्तित्व विकास गर्न सक्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले प्रदेश सरकारले छात्राहरू लक्षित यस कार्यक्रमबाट छात्राहरूमा आत्मरक्षा सिप विकास भएको बताउनुभयो । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक एवम् प्रशिक्षक धनपति गैरेले यस तालिमबाट आफूमाथि हुने हिंसात्मक आक्रमणबाट बच्नका लागि किशोरीहरू सक्षम भएको बताउनुभयो ।
तालिममा सहभागी कक्षा ११ का छात्रा प्रकृति थापाले आफूहरूमाथि हुने शारीरिक आक्रमणको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्न प्रशस्त सिप विकास गर्न सकेको बताउनुभयो । उहाँले तालिमका क्रममा गरिएको अभ्यासबाट आफ्नो रक्षाका लागि प्रतिकार गर्ने आत्मविश्वास बढेको, अनुशासन, आत्मसम्मान जस्ता सिपको विकास भएको बताउनुभयो ।

डिभिजन कार्यालयका प्रमुख मित्र प्रसाद गौतमले यो पहिलो चरणको कार्यक्रमबाट आधारभूत सिप प्रदान गरिएको बताउँदै सबैलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रम डिभिजन कार्यालयका दल बहादुर रास्कोटीले सञ्चालन गर्नुभएको थियो ।

 

Exit mobile version