मास्टरले ध्वस्त पारेको सामुदायिक विद्यालय !

0
1671

नविन श्रेष्ठ

एक विद्यालयको वार्षिकोत्सवमा एक नेताको भाषणको वाक्याशं यस्तो थियो–“सरकारी तलब भत्ता खाएर मास्टरले कतिपय विद्यालय ध्वस्त पारे । यिनको ध्यान दिनभर ठग्ने र स्कूल छुट्टी भएसी राजनीति गर्ने हो । सरकारी स्कूल बनाउने हो भने पहिले मास्टर सुध्रनु पर्छ । खाली तलव थाप्ने र राजनीति गर्ने काम गर्न बन्द गर्नुपर्छ । सामुदायिक विद्यालय ध्वस्त पार्न पाइदैन ।” नेताको यस्तो भाषण सुनेपछि अभिभावक र अतिथिले बेथितिपूर्वक पर्रर्र ताली ठोके । विद्यालयका शिक्षकले मलिन अनुहार लागाए । म टँ्वा परें ।

सोही कार्यक्रमका वक्ता शिक्षाका कर्मचारीले नेताको बोलीलाई सही थामे ।

जिल्ला स्तरको नेताले बोलेको वाक्याशंले मलाई भित्र–भित्रै बोगट्यो । चिथोर्यो । निद्रा हराम बनायो । काउकुती बनायो । के सामुदायिक विद्यालय मास्टरले ध्वस्त बनाएकै हुन् त भन्ने कुरोको खोजीमा लागें ।

खोजीको पहिलो चरणमै यो कुरा पत्ता लाग्यो कि ति भाषण गर्ने नेता र ति शिक्षाका कर्मचारीको छोराछोरी नै नीजि बोर्डिङ् स्कूलमा पढ्दा रहेछन् । यो कुराले मैले खोजी गर्न लागेको विषयमा ध्यान अन्तै मोडियो ।

कुनैबेला देशमा नीजि विद्यालय नै थिएनन् । त्यतिबेला पढ्ने बालबालिका जति सबै सामुदायिक विद्यालयमा पढ्थे । पढ्नेहरुमा शिक्षाको गुणस्तर निकै राम्रो थियो । धनी र गरिबका छोराछोरी एउटै विद्यालयमा पढ्थे । शिक्षित समुदायको प्रभावले सबै बालबालिकालाई शिक्षामा समान अवसर र प्रतिष्पर्धा गराएको थियो । शिक्षा एक धारको मात्रै थियो ।

नेपालमा बहुदल आएपछि नीजि विद्यालय खोल्न धमाधम अनुमती दिइयो । शिक्षाको धार सामुदायिक र नीजिमा परिणत भयो । नीजि स्कूलमा गरिएको लगानीले व्यापक मूनाफा दिन थालेपछि नेता, व्यापारी, निजामती कर्मचारी, क्याम्पसका प्राध्यापक र विद्यालयका टाठाबाठा शिक्षकले समेत नीजि बोर्डिङ स्कूलमा लगानी गरेर मुनाफा प्राप्त गर्न थाले । एउटा समय यस्तो आयो कि नीजि बोर्डिङ र नीजि कलेज खोल्नेको लहड नै चल्यो । नीजि बोर्डिङ र कलेज खोल्न अनुमती दिए वापत शिक्षाका केही कर्मचारी मोटाए ।

नेताले सामुदायिक विद्यालयको भाषणमा मास्टरले विद्यालय भ्याए भन्नुमा अर्को एउटा तर्क के पनि छ भने २०५२ सालमा खोलिएको शिक्षकको विज्ञापन २०६० सालसम्म लन्ठ्याइयो । त्यसबीचमा खुलेका दरबन्दीमा आफ्ना कार्यकर्ता भर्ना गरे । त्यस्तै, २०७० सम्म नेताले आफ्ना कार्यकर्तालाई शिक्षामा कार्यकर्ता भर्तिको केन्द्र बनाए । अब तिनीहरुलाई जति गाली गरेपनि सहन्छन् । चुप लागेर बस्छन् भन्ने मनसाय बन्यो शिक्षामा ।

२०५२ सालमा नेकपा माओवादीले गरेको शसस्त्र द्वन्द्वका कारण गाउँघरको मझेरीसम्म पुगेको बोर्डिङ स्कूल केही बन्द हुन पुगे भने केही मुस्किलले चले । शहर बजारमा पनि बोर्डिङ स्कूल सञ्चालक डरले थरथर काँपेका थिए । द्वन्द्वको समयमा पनि गाउँबाट लखेटिएका ठूलाबडा शहर छिरेर आफ्ना छोराछोरी बोर्डिङ स्कूल मै पढाए । ०६२/०६३ सालको दोस्रो जनआन्दोलन पछि माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी सत्तामा आएपछि नीजि स्कूल बन्द हुन्छ भन्ने थियो । त्यो भ्रम मात्रै भयो । आम्दानी हुने देखेपछि उनीहरु पनि सञ्चालकसँग घाँटी जोड्न पुगे । त्यसपछिका दिनमा पुनः बोर्डिङ स्कूल र नीजि शैक्षिक संस्थाहरु मौलाउने थाले । तिनैको बोलवाला चल्यो ।

द्वन्द्वले थिलो–थिलो भएको सामुदायिक विद्यालय पुनः लयमा फर्काउने ध्यान कुनै नेतामा आएन । राजनीतिक खिचातानी, सत्ताको खेल र संविधान निर्माणको कामले शिक्षा क्षेत्र सधै ओझेलमा पर्यो । सत्ताको स्वाद सबै नेताले चाखे । कर्मचारीले पानी बढुवा खाए । सामुदायिक विद्यालयका शिक्षक भोटर्स र गालीका पात्र मात्रै बने । ०६२/०६३ सालको परिवर्तन पछि नेता, कर्मचारी, व्यापारी प्राध्यापक लगायत लगानी कर्ताको ध्यान नीजि स्कूलमा पर्न गयो । स्कूल नै मुनाफाको केन्द्र बन्न थाल्यो । नीजि स्कूलको प्रभाव यतिसम्म पर्न थाल्यो कि त्यसले प्रभाव नपारेको कुनै क्षेत्र नै बाँकी रहेन ।

मध्यम र निम्न वर्गसम्म अंग्रेजी मोह – धनाड्य वर्गले मात्रै नीजि विद्यालय पढ्छन् भन्ने कुरामा परिवर्तन आउन थाल्यो । अंग्रेजी मोहका कारण मध्यम वर्गीय परिवारले समेत आफ्नो धेरै पैसा छोराछोरीका लागि बोर्डिङ स्कूलमा खर्च गर्न थाले । सरकारी कर्मचारी, शिक्षक, सेना, पुलिस, आर्मि लगायत समाजका सबै मध्यम वर्गका मानिसले धमाधम नीजि विद्यालयमा छोराछोरी भर्ना गर्न थाले । अंग्रेजी विश्व भाषा हो । अंग्रेजी जानेमा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देश जान पाइन्छ भन्ने भयो । हुँदा–हुँदा निम्न वर्गका मानिसले पनि आफूले अत्यन्त दुःख गरेर पनि छोराछोरीलाई नीजि विद्यालयमा पढाएका छन् । यो अहिलेसम्म निरन्तर छ ।

नीजिका निःशुल्क विद्यार्थी- नीजि विद्यालयले जल्दोबल्दो नेता, उच्चस्तरका कर्मचारी, शिक्षा कार्यालयका कर्मचारी र विद्यालय निरीक्षकका छोराछोरीलाई बोर्डिङको दश प्रतिशत निशुल्क शिक्षा अन्र्तगत निःशुल्क पढाए । जिल्ला जिल्लामा कुन कर्मचारीका र नेताका छोराछोरीलाई कुन नीजि स्कूलमा निःशुल्क पढाउने भन्ने भित्र भित्रै कानेकुथी सहित बाँडफाँड भयो । नेता र उच्च तहका कर्मचारी नीजि विद्यालयमा पढ्न थालेपछि नीजि स्कूलका सञ्चालकलाई समेत विद्यार्थी तान्न सजिलो भयो । “फलानोको छोराछोरी हाम्रोमा पढ्छन” भनेर भर्ना अभियान नै चलाउन थाले । समाजमा नीजि विद्यालयमा छोराछोरी पढाए हैसियत उच्च जस्तो व्यवहार हुन थाल्यो ।

नीजिको अब्बल नतिजा- उच्च वर्ग र टाठाबाठा सबैका छोराछोरी नीजि विद्यालयमा पढ्न थालेपछि नतिजा पनि उच्च हुने नै भयो । अब, सामुदायिक र नीजि विद्यालयको नतिजामा तुलना हुन थाल्यो । जसले आफ्ना छोराछोरी नीजिमा पढाएर नतिजा देखाए तिनैले सामुदायिक विद्यालयको दोहोलो काढ्न ताले । अर्कोतर्फ, तिनै कर्मचारी र नेता जसले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाएर सामुदायिक विद्यालयको वार्षिकोत्सवमा अतिथि बनेर गए अनि सामुदायिक विद्यालयलाई तथानाम गाली बर्षाउन थाले । क्षमतावान विद्यार्थी जति नीजिमा राखेर सामुदायिकलाई शैक्षिक गुणस्तर खोज्नु र शिक्षकमाथि गाली बर्षाउनु अपराध सम्झेनन् । गर्व ठाने ।

राज्य नै नीजिको पोल्टामा –राज्यको नीति बनाउने ठाउँमा नै नीजि विद्यालयको सञ्चालक छ । नीजि विद्यालयको लगानी कर्ता छ । चुनावका बेला नीजि विद्यालयको खर्चले चुनाव जितेको मनुवा छ । स्थायी सरकार मानिएको कर्मचारी सबैका छोराछोरी नीजि विद्यालयमा पढ्छन् । उसले कसरी आफ्ना छोराछोरीका विद्यालयको विरोध गर्छ ? शिक्षामा नियमनकारी निकायमा नीजिले जे भन्यो त्यहि हुन्छ । जता मोड्यो उतै मोडिन्छ । जता बटार्र्यो उतै बटारिन्छ । सामुदायिक विद्यालय त गरिवका छोराछोरीले पढ्ने विद्यालय उपमा बनाइएको छ । मन्त्रालय देखि कतिपय गाउँपालिका शिक्षा शाखासम्म त्यही वर्गको वोलवाला छ ।

बञ्जर गाउँ- ठूलाबडाका छोराछोरी नीजि विद्यालयमा पढेर अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देश जाने आउने गर्न थाले । क्षमता भएका मान्छेले रोजगारी सृजना नगरी आफै विदेशिएपछि देशमा रोजगारीको अवस्था ज्यादै नाजुक बन्दै गयो । निम्न वर्गीय र मध्यम वर्गीय युवा जति खाडी लगायतका कठिन काममा विदेशिन थाले । अब उनिहरुमा यस्तो भावना पलायो कि मेरा छोराछोरीलाई समेत नीजि विद्यालयमा पढाएर ठूला देश पठाउन सकिन्छ भन्ने कुरा गडेर आयो । श्रीमानको भिषा लागेपछि श्रीमतीहरु छोराछोरीलाई काखी च्याँपेर बोर्डिङ पढाउने भन्दै शहर पस्न थाले । उनिहरुको लागि शहर पस्नु एउटै कारण हो, छोराछोरीलाई राम्रो बोर्डिङ स्कूल पढाउने । गाउँ रित्तिदै गयो । गाउँमा मान्छे बस्न छाडेपछि रुखविरुवा हुर्कदै गए । जंगली जनावर घरघरमा आउन थाले । बाँकी रहेका मानिसलाई पनि गाउँ बस्न मुस्किल पर्दै गएको छ । अहिले हेर्दा गाउँ बञ्जर बनेको छ ।

गुल्जार शहर- दैनिक गाउँबाट शहर बसाइ सर्नेको ताँती नै लाग्न थाल्यो । लहर चल्यो । तराई र शहर नजानेहरुलाई गाउँमा केही गर्न नसक्ने मान्छे जस्तो बोली व्यवहार हुन थाल्यो । केही बँचेका घरहरु पनि शहरका काँठ र तराइका कँन्दरा तिर बसाइ जान थाले । रोजगारी र शिक्षाको कारण देखाउँदै धमाधम बसाइसराईले तिब्रता लियो । त्यहि मौकामा नेता र ठूला दलालले शहर र तराइका उर्वर भूमीमा विभिन्न ठाउँ प्लटिङ् गरेर घडेरी बेच्न थाले । शहर गुल्जार बन्दै गयो ।

घरघडेरीको मालामाल – नेता र ठेकेदारका हातमा कसको श्रीमान विदेश छ भन्नेको लिष्ट नै हुन थाल्यो । शहर र तराइमा घडेरी जोड्न सके निकै फाइदा हुन्छ भन्ने भ्रम फैलाइयो । केही समय फाइदा भयो पनि । आफ्ना छोराछोरीलाई एउटा कटेरो भएपनि शहरै बनाइदिन पर्छ भन्ने माहोल सृजना गरियो । शहर र तराइमा एकटुक्रो घडेरी नभए केटालाई विवाह गर्न पनि मुस्किल पर्ने भास्य बनाइयो । २०६५ देखि कोरोना काल अघिसम्म घरघडेरीको कारोवार निकै मौलायो । बैंक तथा वित्तिय संस्थाले अनुत्पादक क्षेत्र घरघडेरीको कारोवारमा निकै लगानी गरे । विदेशबाट आएको सबै रेमिटेन्स अनुत्पादक क्षेत्रमै व्यापक लगानी भयो । राम्रा घर बने । चिल्ला गाडि किनिए । विदेशको पैसा मोजमस्तीका सामग्री खरीदमा विदेशतिरै पठाइयो । कोरोना कालपछि घर घडेरीको कारोवारमा मन्दी आउन थाल्यो । बैक तथा वित्तिय सञ्चालक भागाभागको स्थितिमा पुगे । धेरथोर लगानी कर्ताहरुको बचत यतिबेला निकै जोखिममा परेको छ । जसबाट नेता र दलाल मालामाल बने । पिसिने मकै पिसिएकै छन् ।

विदेशीको गुलाम – कोदो रोपे कोदो नै फल्छ । तोरी छरे तोरी नै फल्छ भनेझै नेपालमा झाँगिएको अंग्रेजी शिक्षाले नेपाल र नेपाली माटोलाई त काम लाग्ने कुरै भएन । बालबच्चाले जे सिके त्यहि अनुसार आफ्नो क्षमताको काम खोज्दै विदेशिन थाले । जब क्षमतावान मानिसहरु विदेशिन थाले उनिहरुका छोराछोरीलाई उतै लगेर शिक्षा दिन थाले । त्यसपछि यहाँका ठूलाबडाका छोराछोरी प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षाको नाममा उतै पठाउन थाले । हुँदाहुँदै अहिले आएर मध्यम वर्गीय र निम्न वर्गीयका छोराछोरीमा समेत पछिको पढाई बाहिरी देश जाने भन्ने भावनाले जरो गाडिसकेको छ । अहिले पाँच कक्षा पढ्ने बच्चोलाई सोध्यो भने “म त विदेश जाने हो भन्छ ।” कुरा आयल्स र टोफेलको गर्छ । क्षमतावान व्यक्ति कुनै पनि हालतमा देशमा बस्ने अवस्था छैन । वातावरण पनि छैन । अहिले अधिकाशं नेता, प्राध्यापक, ठूलावडाका छोराछोरी विदेश छन् । देश केटाकेटी हुर्काउने र बुढाबुढी पाल्ने देश बनेको छ । बोर्डिङ स्कूल पढ्ने विदेश जानेको बजार मालामाल बनेको छ ।

राजनीतिमा प्रभाव – वास्तवमा राजनीति भनेको राज्यको नीति वदल्ने र देशलाई सही मार्गमा डोर्याउने माध्यम हो । राजनीति यति हदसम्म विकृत बनाइयो कि ढाँट, छलकपटी, भ्रष्टाचारी र दलाल गर्नसक्ने मात्रै रानीतिमा टिक्न सक्ने अन्यथा पत्तासाफ हुने अवस्था आयो । जो पढालेखा छैन । जो धेरै बोल्न मात्रै जानेको छ । काम फिटिक्कै गर्दैन । भिजन छनै । सोंचविचार छैन । त्यस्ताको हातमा राजनीति गयो । राम्रा त सबै विदेश पठाइसके दलालले । अब यहाँ उनिहरुको हालीमूहाली हुन थाल्यो । जसका कारण देश अस्थिरतामा धकेलियो । यतिसम्म कि विदेश पठाउने नीति सरकारले नै बनायो । विदेश पठाउने दलाल कम्पनीलाई राजनीतिक संरक्षण भयो ।

धरासायी अर्थतन्त्र- श्रमशील युवाशक्तिलाई विदेश धकेलेपछि उत्पादन गर्ने मानिस नै भएनन् । बौद्धिक पलायन भयो । भएका उद्योगधन्दा समेत कौडिको भाउमा बेचियो । कच्चा पदार्थ उत्पादन गर्ने कृषकको मनोबल कहिलै नउठ्ने गरी गिराइयो । आयात व्यापक हुन थाल्यो । निर्यात योग्य बस्तु हुनै छाडे । तातो रगतमा होली खेलियो । विदेशमा सुविधा सम्पन्न ठाउँमा बसेकाले नेपाल फर्केपछि पनि उत्पादनमा लगानी नगरी सुखसुविधाकै क्षेत्रमा लगानी गर्न थाले । देशकै अर्थतन्त्र भत्क्यो । अहिले कराडौं रुपैयाँको कोदो, मकै गहुँ, फापर तोरी, अराबौ रुपैयाँको धान चामल आयात गर्ने देश बनाइयो ।

व्यक्तिमा एकलकाटे स्वभाव- पहिले संस्कृत शिक्षा थियो । नैतिक शिक्षा थियो । ठूलो परिवारमा हुर्कने र बढ्ने हुन्थ्यो । परिवार, छिमेकी, नातागोता, समुदाय र समाजका सबै मानिसलाई गर्ने व्यवहार सानै उमेरदेखि सिकाइ हुन्थ्यो । अंग्रेजी शिक्षासंगै भित्रिएको विकृतिले व्यक्तिलाई एकलकाटे बनायो । आफू बाहेक अरु कसैलाई नगन्ने, मर्यादा राख्न नजान्ने, हठी, अटेरी, उच्छृङ्खल, बुबाआमा प्रति हेयको भाव जस्ता कुरा पैदा हुँदै गयो । अहिलेका तन्नेरी र प्रौढ पिढीले बुढेसकालमा कुन आश्रममा बस्न पर्ने हो ? भन्ने अवस्था आइलाग्न थाल्यो । बुढाबुढी रोएको, विलौना गरेको, छटपटाएको सुन्ने र देख्ने कोही हुन छाड्यो । घरमा भएका बाआमाले छोराबुहारीबाट प्रताडित जीवन विताउन बाध्य हुने अवस्था सृजना भयो । मानवीयता हराउँदै गयो । मै खाउँ मैलाउँको भावना विकास हुँदै गयो ।

भाषा माथिको हमला- अंग्रेजी भाषाका कारण नेपाली भाषा माथि ठूलो हमला भयो । आफ्नै बालाई ड्याडी, आमालाई मम्मी, हजुरआमालाई आमा, काका काकीलाई अंकल अंटी । ऊ नाता चिन्दैन । मेरो अध्ययनले आफ्नो बोलीमा बृद्धबृद्धाले ५ प्रतिशत, ४० बर्ष उमेर माथिका सामान्य व्यत्तिले पनि २५ प्रतिशत, १५ देखि ४० बर्ष सम्मकाले ३५ प्रतिशत र १५ बर्षसम्मकाले ४० प्रतिशत बढी नेपाली भाषामा अंग्रेजी मिसाएर बोल्छन् । अझ पछिल्लो पुस्तामा त कि हिन्दी कि अंग्रेजी भाषाले ढाक्दै गएको छ । नेपाली भाषा र मातृभाषा पाखे भाषा बन्न पुगेको छ । शुद्ध नेपाली बोल्ने र मातृभाषामा बोल्नेको उछितो काढिन्छ ।

मासिएको संस्कृति- बर्थ डेमा केक नकाटे अचेलको बच्चोलाई थाम्न सकिन्न । न्वारनमा केक, भातख्वाइमा केक, बर्तनमा केक, विवाहमा केक र हुँदा–हुँदा पितृकर्मको श्राद्धमा समेत केक काटने चलन भित्रिएको छ । धत ! हाम्रो संस्कार । हुर्कदै गरेको बच्चो सानै उमेरमा नै उम्लिएको दूध झै गर्छ । परम्परादेखि चलिआएका राम्रा चलनलाई समेत इन्कार गर्छ । रितिथिति बारे सिक्न खोज्दैन । अघिल्लो पुस्तालाई जंगली मान्छ । सानै उमेरदेखि आफ्ना बा आमाको खिसिटिउरी गर्छ । अल्ली उमेरको भएसी गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड भन्दै हिड्छ । यता आफ्नो वृद्धावस्थामा आफ्नो अविगत के हुने भन्ने चिन्ता छैन । मृत्यु संस्कार कसले गर्छ पनि टुंगो छैन । गाउँमा लास उठाउने मान्छे छैन । विवाह, ब्रतबन्ध र चौरासी पूजामा क्याट्रिन नखोेजे पाहुना भोकै फर्कन पर्छ । छोराछोरी फलानो देशमा छन् भनेर बाउले गफ चुट्छ । समाजमा मैहुम् भन्छ । विरामी हुँदा सिटामोल कस्ले देला भन्ने अवस्थाको मान्छेकै ठूल्याईँ बढी छ । यि र यस्ता गतिविधिले संस्कार र संस्कृति नै धब्बा लागेको छ ।

हराएको राष्ट्रियता-  अन्तराष्ट्रिय मोहले राष्ट्रियता कमजोर बनेको छ । देशमै केही गरौं भन्ने सोचाइ हराउँदै गएको छ । यहाँको माटो चिन्ने क्षमतावान विद्यार्थी छैनन् । क्षमतावानलाई सानैदेखि विदेशको मोहमा फसाइएको छ । राष्ट्र र राष्ट्रियतालाई धमिलो परिएको छ । ठूला भनौदा अधिकाशं नेताका छोराछोरी विदशे पठाइसके । यहाँ तलवितल परे उनीहरु छोराछोरी कै शरणमा पुग्ने हुन् । यतिबेला देश बनाउँछु भन्न छाडेका छैनन् । धेरै नेताको राष्ट्रियता विदेशतिर छ ।

नेताज्यू, के मास्टरले विगारेको हैछ सामुदायिक विद्यालय ? के ति ठूलाठालूका छोराछोरी र गरिव गुरुवाका छोराछोरीले एउटै विद्यालयको एउटै बेन्चमा बसेर पढ्न मिल्दैन ? अर्थात तपाईँको छोराछोरीले सामुदायिक विद्यालयमा पढ्न मिल्दैन ? सामुदायिकमा पढाउने शिक्षकले ति क्षमतावान विद्यार्थी पढाउनै नपाउने हो ? मास्टरलाई गाली गरेर सामुदायिक विद्यालय सुध्रन्छ ? आफ्ना छोराछोरी निजीमा पढाएर मास्टरलाई गाली गर्न सुहाउँछ ? ए जनप्रतिनिधि, ए कर्मचारी, ए प्रध्यापक, ए शिक्षक पहिले आफ्ना छोराछोरी लगेर सामुदायिक विद्यालयमा भर्ना गर अनि मात्रै शिक्षकमाथि औंला ठड्याउ । खवरदार, आइन्दा सामुदायिक विद्यालयको शिक्षकलाई गाली नगर ।

सामुदायिक विद्यालयका आदरणीय गुरुवर्ग, आगामी भर्ना अभियानमा तिनै नेता, जनप्रतिनिधि, पत्रकार, प्राध्यापक, कर्मचारी र कतिपय सामुदायिक विद्यालयमा पढाएर छोराछोरी नीजि विद्यालयमा पढाउने नैतिक हराम शिक्षकका घर–घर गएर सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न दबाव दिनुस् । तपाईँहरु शिक्षक मात्रै होइन, यो समुदायको सचेत वर्ग हो । असल नागरिक पनि हो । सरकारी तलवभत्ता बुझ्नेले सामुदायिक विद्यालयमा पढाउनै पर्ने बाध्यता र्सिजना गर्नुस् । अनि मात्रै तिनले तपाईँलाई गुरुको सम्मान दिनेछन् नत्र तपाईँ जहिलेसुकै मास्टर बन्नुहुन्छ । ति नैतिकहिन वर्गले तपाईँलाई कहिलै गाली गर्न छाड्नेवाला छैनन् ।

 

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here