सडक डिभिजन कार्यालय पाल्पामा कर्मचारीको मनोमानीः हाजिर गर्दै घर जाँदै

0
397

पाल्पा । प्रभावकारी अनुगमन नहुँदा जिल्ला स्थित सरकारी कार्यालयहरुमा मनोमानी बढेको छ । सरकारी निकायहरुको अनुगमन गर्ने निकाय प्रमुख जिल्ला अधिकारीको कार्यालयले यसखालको अनुगमनमा ध्यान दिन सकेको छैन । जसका कारण कतिपय कर्मचारीहरु कार्यालयमा हाजिर गर्दै घर जाँदै गरेको पाइएको छ ।

सडक डिभिजन कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालय समयमै मनोमानी ढंगबाट हिडडुल गर्ने गरेको पाइएको हो । बुधवार नेपाल पत्रकार महासंघ पाल्पाको टोली सडक डिभिजन कार्यालयमा पुग्दा ५ जना मात्र कार्यालयमा रहेका थिए ।
पत्रकार टोलीले तत्काल प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई टेलिफोन गरी जानकारी गराएका थिए । सोही लगत्तै जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत रमा श्रेष्ठ सडक डिभिजन पुगेर हाजिरी किताब र आवश्यक कागजपत्र माग गर्दा हाजिरी नभएको दिनको पुष्टि हुने कुनै कागजपत्र प्रशासन प्रमुख तिलबहादुर थापाले पेश गर्न सक्नुभएन । उहाँको समेत २ दिन हाजिरी भेटिएन । तर के विषयमा हाजिरी नभएको भन्ने बारे स्वयम प्रशासन प्रमुख थापाले बताउन सक्नुभएन । २० र २१ चैत्रका लागि कार्यालय प्रमुख बाबुराम सापकोटा, लेखा प्रमुख र २ इन्जिनियर पोखरा तालिममा गएको भनिएपनि कार्यालयको रेकर्डमा भम्रण आदेश नभेटिएको प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।

कार्यलयमा रहेका दरबन्दी, करारमा कार्यरत अधिकांश कर्मचारीले दैनिक हाजिरी गर्नुपर्ने भएपनि व्यवास्ता गरेको भेटिएको हो । यसका साथै कार्यालयमा हाजिरी भएपछि काम गर्न साइडमा जाँदा लक बुक भरेर जानुपर्नेमा त्यो प्रकृया पूरा नगरी आफूखुसी हिडेको पाइएको उहाँले बताउनुभयो ।

यसका साथै तालिम गोष्ठीमा जाँदा भम्रण आदेश स्वीकृता गरेर हिडनुपर्ने भएपनि यस विषयमा पनि ध्यान नदिएर मनोमानी रुपमा हिडने गरेको भेटिएको छ । महासंघको टोली करिव पौने ४ बजे कार्यालयमा पुग्दा प्रशासन प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, एक जना कार्यालय सहायक र एक जना चालक बाहेक अरु कोही कर्मचारी नदेखेपछि सोधीखोजी भएको थियो ।
कार्यालयका सूचना अधिकारी दुर्गा गौतमलाई टेलिफोन सम्पर्क गरी जना लिन खोज्दा आफू १, २ दिनका लागि बिदामा रहेको बताउनुभयो तर हाजिरी पुस्तिकामा भने उहाँको ११ दिनदेखिको हाजिरी देखिएन । कार्यालयको हाजिरी किताव हेर्दा तालिममा सहभागी कार्यालय प्रमुख सहितको समूहको भ्रमण आदेश नभरिएको, प्राविधि कर्मचारी फिल्डमा जाँदा लक बुक भर्नुपर्ने भएपनि नभरिएको र प्रशासन प्रमुख नासुकै हाजिरी नियमित नभएको देखिएको श्रेष्ठले बताउनुभयो ।

सडक डिभिजन कार्यालयमा कार्यालय प्रमुख, ४ जना इन्जिनियर, लेखा प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, तीन कार्यालय सहायक र २ सवारी चालकसहित २१ जना कर्मचारी कार्यरत छन् । स्रोतका अनुसार कर्मचारीहरुले हाजिरी पुस्तिकामा १, २ दिनदेखि १० दिनसम्म स्वार्थका लागि खाली राख्ने गरेका छन् । महिना सकिएपछि कुन कर्मचारीलाई कति दिन भ्रमण बिदा मिलाउने र अतिरिक्त भत्ता लिने टुंगो लागेपछि महिनावारी हाजिरी मिलाउने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here