Site icon PALPA SAMACHAR

नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर

पाल्पा । तानसेनको श्रीनगरमा पर्यटन पूर्वाधार निर्माण भएको छ । श्रीनगर प्रवेश गर्न ५ सय बढी सिंढी चढेर जान सकिने बनाईएको हो ।

तानसेन नगरपालिकाको सहयोगमा वडा नं. १ को कार्यालयले ५ सय ३६ बढी सिंढी निर्माण गरि पर्यटन पूर्वाधार तयार गरेको हो । अब तानसेन वडा नं. १ कार्यालय नजिक (युनाईटेड मिशन अस्पताल) माथिबाट श्रीनगर डाँडामा प्रवेश गर्न सकिने भएको छ । पर्यटकीय नगर तानसेनमा नववर्ष २०८१ मनाउन देश तथा विदेशबाट पर्यटकहरुले भित्रने हुँदा उनीहरुलाई मनोरजनात्मक क्रियाकलाप गराउन पूर्वाधार निर्माणका कार्यलाई निरन्तर रुपमा अगाडी बढाउँदै आएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । “विगतका वर्षहरुमा पनि यहाँ नयाँ वर्ष मनाउन धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । श्रीनगरमा पूर्वाधार निर्माण गरिएकोले विगतमा भन्दा यस पटक बढी रौनकता थपिनेछ ।” उहाँले भन्नुभयो ।

गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगानका साथ रमाउन तराई क्षेत्र रूपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ । तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल कुमार बस्यालले तानसेन नगरपालिका कार्यालयको ५ लाख र अन्य स्थानीयहरुको सहभागितामा सात लाख रुपैयाँको लागतमा विभिन्न पूर्वाधार निर्माणको कार्य सकिएको बताउनुभयो । श्रीनगर प्रवेश गर्न रंगरोगन गरिएको सिंढी निर्माण गरिएको छ । बीच भागमा प्रतिक्षालय निर्माण गरिएको छ । विभिन्न स्थानमा पर्यटकहरूका लागि चाहिने विश्राम बेन्च निर्माण, चाँद निर्माण तथा सरसफाई र रंगरोगनको कार्य सम्पन्न गरिएको वडाध्यक्ष बस्यालले बताउनुभयो । अब श्रीनगर जाने प्रमुख प्रवेशद्धार यहि पूर्व क्षेत्र हो । यहाँ स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्थाका् कार्यका लागि पहल गरिरहेका छौं । उहाँले भन्नुभयो ।

तानसेन १ का वडा सदस्य राम प्रसाद भट्टराईले श्रीनगर प्रवेश गर्नमात्र होईन श्रीनगर डाँडाबाट सूर्योदय हेर्न पनि सहज भएको बताउनुभयो । मर्निङ वाक गर्नेहरु सिढीं चढेर माथी श्रीनगर जाने गर्दछन् । यसले शारिरीक व्यायामसँगै स्वस्थ्य जीवनशैली अवलम्बन गर्न पनि टेवा पुगेको छ । उहाँले भन्नुभयो ।

Exit mobile version