बगनासकालीमा लामाधामी झाक्रीहरुसँग नागरिकको स्वास्थ्य प्रवर्धनबारे अन्तरक्रिया

0
229

पाल्पा । बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामा धामी र झाक्री, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरुसँग नागरिकको स्वास्थ्य प्रवर्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

गाउँपालिका भित्रका ४५ जना लामाधामी तथा झाक्रीहरु, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार लगायतले नागरिकको स्वास्थ्य प्रवर्धनका लागि आआफ्नो तर्फ निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रममा छलफल भएको थियो । प्रवक्तासँग पत्रकार कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रममा सहभागी लामाधामी झाक्रीहरुलाई आफूहरुकहाँ आउने बिरामीहरुको समय कत्ति पनि नअल्झाई स्वास्थ्य संस्थामा पठाउन अनुरोध गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम खनालले गाउँपालिकाभित्रका नागरिकहरुको स्वास्थ्य अवस्था, स्वास्थ्य शाखा र सम्वन्धित स्वास्थ्य चौकीहरु मार्फत हुँदै आएको सेवाप्रवाहबारे जानकारी गराउनुभयो । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजकी डा. समता नेपालले अझै पनि मानिसहरु बिरामी भएपछि पछिल्लो चरणमा धामी झाक्रीकोमा जाने प्रचलन कायमै रहेकोले धामी झाक्रीहरुले बिरामीलाई तत्काल अस्पताल पठाउनुपर्ने बताउनुभयो ।

पूर्व स्वास्थ्यकर्मी शालिकराम पहारी, युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी चन्द्र भष्मले लामाधामी झाक्रीहरूले बिरामीको समय अल्झाउँदा बिरामी जटिल अवस्थामा पुगिसक्ने भएकोले आफूलाई भेट्न आउने बिरामीलाई तत्काल अस्पताल पठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा लामाधामी झाक्रीहरुले पनि आआफ्नो अनुभव सुनाएका थिए । उनीहरुले आफूहरुकहाँ आउने बिरामीलाई सान्त्वना दिँदै अस्पताल वा स्वास्थ्य संस्था पठाउने गरेको बताउनुभयो । चापपानीका तेजलाल तिमिल्सिना, बरांगदीका हरिलाल बस्याल, चापपानीका तीर्थ बस्याल, नायरका देव बहादुर बिश्वकर्मा, पोखराथोककी सुमित्रा बराइली, तारा बहादुर सिंजाली लगायत १७ जना लामाधामीहरुले आआफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामीले समुदायमा रही सेवाभावले काम गर्दै आउनुभएका लामाधामीहरुलाई नागरिकको स्वास्थ्य प्रवर्धनका लागि जिम्मेवार बनाउन उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले लामाधामी झाक्री, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र संचारक्षेत्रको समन्वयमा नागरिकको स्वास्थ्य प्रवर्धन गर्न सहज हुने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यो कार्यक्रमले दीर्घकालसम्म पनि प्रभाव पर्ने बताउनुभयो । समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह नहुँदै वा अस्पताल नबन्दै देखि सेवाभावले काम गर्दै आउनुभएका लामाधामी झाक्रीहरुलाई समय सापेक्ष रुपमा नागरिकको स्वस्थ्य प्रति सचेत र जिम्मेवार रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकारहरु देव पचभैया र नारायण न्यौपानेले कार्यक्रमका सन्दर्भमा सुझाव सल्लाह दिनुभएको थियो ।
गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले गाउँ्रपालिकाले आगामी दिनमा पनि यसप्रकारको कार्यक्रम गर्दै जाने बताउनुभयो । कार्यक्रमकै अवसरमा सहभागी लामाधामी झाक्रीहरुलाई दोसल्ला लगाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराज न्यौपानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here