अभिभावक बिहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै माथागढी

0
149
पाल्पा । माथागढी गाउँपालिकाले पालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै आएको छ ।
गाउँपालिकाले अघिल्लो वर्ष ६४ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको पठनपाठनका लागि आवश्यक पाठ्पुस्तक, कापी, कलम तथा अन्य स्टेशनरी, पोशाक जुत्ता उपलब्ध गराएको छ ।
यो वर्ष उक्त कार्यक्रमका लागि गाउँपालिकाभित्रका १ सय जना बढी बिद्यार्थीले आवेदन दिएका छन् । गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व सम्वन्धी कार्यबिधि नै बनाएको छ । कार्यबिधिमा कस्ता प्रकारका बालबालिकाहरुलाई अभिभावक बिहीनको रुपमा लिने भन्ने बिषय स्पष्ट रहेको छ ।
नेपालमा संविधानमा निःशुल्क शिक्षाको ब्यवस्था गरिएपनि उनीहरुका लागि आवश्यक स्टेशनरी र पोशाक नहुदा कतिपय बालबालिकाहरुले बिद्यालय नजाने र गएकाहरू पनि नियमित हुने, कक्षा छोड्ने दर बढी भएकोले गाउपालिकाले यो अभ्यास गरेको गाउपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । “गाउपालिकाले अभिभावकत्व ग्रहण गरी १२ कक्षासम्म यसै गरी सहयोग प्रदान गर्दै जानेछौं ।” अध्यक्ष चिदीले भन्नुभयो । यसबाट अभिभावक बिहीन बालबालिकाहरुका लागि धेरै हदसम्म सहयोग पुगेको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रको विकास महत्वपूर्ण रहेकोले आफूले शैक्षिक विकासका लागि महत्व दिएको गाउँपालिकाका अध्यक्ष चिदीले बताउनुभयो । पालिकाले समय सापेक्ष प्राविधिक शिक्षा संचालनका लागि छलफल समेत गर्दै आएको उहाँले बताउनुभयो ।
अभिभावक बिहीन बालबालिकाहरुको तथ्यांक बार्षिक रुपमा अद्यावधिक हुने गरेको छ । अभिभावक बिहीन बालबालिकाभित्र बाबु आमा दुबै नभएका, बावु आमा कारागार रहेका लागयत कार्यबिधिमा उल्लेखित बुँदा अन्तरगत पर्ने बालबालिकाहरू समेटिएका छन् । यसैगरी गाउँपालिकाले अभिभावकत्व ग्रहण गरेपछि अभिभावक बिहीन बालिकाहरुमा बिद्यालय जाने र पढ्ने थप हौसला मिलेको छ ।
माथागढी गाउँपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा अन्य धेरै नमुना कार्यक्रमहरू संचालन गर्दै आएको छ । शिक्षकहरुका लागि सञ्चालित सक्षम कार्यक्रम अन्तरगत गणित, अंग्रेजी, सामाजिक, बिज्ञान बिषयका शिक्षकलाई तालिम प्रदान गर्ने, वक्र्ससप गराउने र बिद्यालयहरुमा अभ्यास गराउने कार्यक्रम रहेको छ । यो कार्यक्रम अन्तरगत शिक्षक, अभिभावकलाई पनि तालिम प्रदान गरिन्छ । बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई पनि तालिम दिइन्छ । यो कार्यक्रम निरन्तर छ । शिक्षकको पेशागत बिकास, शिक्षक सञ्जाल गठन लगायतका कार्यक्रम पनि जोडिएका छन् ।
वडा नं. २, ३ र ४ का बिद्यालयका प्रधानाध्यापकहरुको मासिक घुम्ती बैठक हुने गरेको छ । सामाजिक श्रोत विकास केन्द्रको पहलमा हुदै आएको यो बैठकबाट मासिक रुपमा बिद्यालयहरुको अवस्थाबारे छलफल गरी निष्कर्ष निकालिने गरिन्छ ।
गाउपालिकाले पालिका भित्रको शैक्षिक सुधारका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । पालिका भित्रका विद्यालयहरुलाई समयसापेक्ष विकास गर्दै गुणस्तरीय शिक्षाका लागि कार्यक्रम संचालन गर्दै आएको गाउ“पालिकाका शिक्षा संयोजक प्रेम बहादुर बारघरेले बताउनुभयो । यस गाउँपालिकामा १३ माध्यमिक, ५ आधारभुत, २३ प्राथमिक र ४ संस्थागत विद्यालयहरू रहेका छन् ।
गाउँपालिकाले बार्षिक शिक्षा योजना निर्माण गरि गाउँपालिकाले शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ । पञ्च वर्षीय गाउँ शिक्षा योजना निर्माण गरी कार्य गरेको छ । शैक्षिक क्यालेन्डर निर्माण बर्षेनी गर्दै आएको छ । पालिकाले स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक निर्माण गरेको छ । यसरी पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने माथागढी गाउँपालिका सम्भवतः जिल्लाको पहिलो पालिका हो । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू भएको छ । यसबाट बिद्यार्थीहरुले स्थानीय बिषयबस्तु जान्ने बुझ्ने मौका पाएका छन् ।
गाउँपालिका भित्रका विद्यालयका प्रअ तथा शिक्षकहरुको क्षमता विकासका लागि बिभिन्न तालिमहरू संचालन गरिएका छन् । पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हरेक वर्ष गर्दै आएको छ । शिक्षा क्षेत्रको सुधार भएमात्रै अन्य क्षेत्रको सुधार हुने बुझाई गाउपालिकाको रहेको छ । शिक्षक, बिद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुसँग छलफल समन्वय गर्दै उनीहरुकै सुझाव सल्लाह बमोजिम गाउपालिकाले शिक्षा कार्यक्रम बनाउने गरेको प्रम्ख बारघरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here