माथागढी ३ सराई वडाका योजना र कार्यक्रम प्रभावकारी रुपमा चल्दै

0
250

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेज घर्तीले चालु आर्थिक वर्षका योजनाहरुको सफल कार्यान्वयनका लागि आफूहरू निरन्तर लागिपरेको बताउनुभएको छ । उहा“ले वडाभित्र योजनाहरुको काम र अनुगमन प्रभावकारी रुपमा चलिरहेको बताउनुभयो ।

पाल्पा समाचारपत्रसँग कुराकानी गर्दै अध्यक्ष घर्तीले वडाभित्र वडा, पालिका, प्रदेश र संघ मार्फत बिनियोजित बजेटमार्फत संचालित योजनाहरुको नियमित अनुगमन कार्यलाई महत्व दिइएको र अनुगमन समितिले स्थलगत रुपमा अनुगमन गरी सुधार गर्नुपर्ने विषयहरुलाई तत्काल सुझावको रुपमा दिने गरिएको बताउनुभयो ।

वडामा सञ्चालित योजनाहरू मध्ये लगभग ९० प्रतिशत बढी योजनाहरू सम्पन्न भइसकेको र बाँकी केही योजनाहरुको काम पनि तीव्र रुपमा भइरहेको अध्यक्ष घर्तीले बताउनुभयो । वडामा अधिकांश योजना उपभोक्ता समिति मार्फत सञ्चालित छन् । केही योजनाहरुको काम कोटेशन मार्फत निर्माण व्यवसायीसँग सम्झौता गरी गरिएको छ । विद्यालय, कुवा मर्मत, सडक स्तरोन्नती कृषि, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माणका साथै मानवीय तथा सामाजिक विकासका योजनाहरु पनि वडाभित्र सञ्चालनमा रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।

बालबालिकादेखि अभिभावक सम्मलाई सचेतनाः
यो वडाले यस वर्ष बालबालिकादेखि अभिभावकसम्मलाई जागरण र सचेतनाको कार्यक्रम गरेको छ । यो कार्यक्रम जिल्लामै नमुना कार्यक्रम हो ।

यस कार्यक्रम अन्तरगत वडाभित्र रहेका ६ वटा बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय नागरिकहरुलाई सहभागी गराई बाल बिवाह न्यनुीकरण, नारी सचेतना, लागू औषध र यसबाट हुने हानी तथा बच्ने उपाय, कक्षा छोड्ने दर न्यूनीकरण, मातृशिशु स्वास्थ्य लगायतका बिषयमा सहजीकरण र सडक नाटक प्रस्तुत गरिएको थियो । यो कार्यक्रमका लागि वडाले ५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । यो कार्यक्रमबाट १ हजार बढी नागरिकहरू लाभान्वित भएको वडाध्यक्ष घर्तीले बताउनुभयो ।
आन्तरिक राजश्व संकलन बढी
यो वडाले चालु आर्थिक वर्षको बैशाख २४ गतेसम्म १७ लाख ८४ हजार ५ सय ६५ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । वडाका विभिन्न सेवा, गतिविधि र श्रोत उपयोग वापत राजश्व संकलन गरिएको वडाध्यक्ष घर्तीले बताउनुभयो । यसरी आन्तरिक राजश्व बढी उठाउनेमा यो वडा पालिकामै पहिलो हो । यो आर्थिक वर्षमा २५ लाखसम्म आन्तरिक राजश्व उठाउने उद्देश्य रहेको वडाध्यक्ष घर्तीले बताउनुभयो । माथागढी गाउँपालिकामा सबैभन्दा धेरै राजश्व यो वडाले गाउँपालिकाका ८ वटा वडा मध्ये ३ नं. वडा कार्यालय कसेनीले सबैभन्दा धेरै राजश्व संकलन गरेको अध्यक्ष घर्तीले बताउनुभयो ।

कृषि क्षेत्र प्राथमिकतामा
कसेनीको अधिकांश भुभाग कृषि तथा पशुपालनका लागि उपयुक्त रहेको छ । यसकारण पनि वडाले कृषि तथा पशुपालनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । सोही बमोजिम हालै वडाभित्रका १ सय जना बढी किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।

ओलेस क्षेत्रमा धनियाँ खेतीको राम्रो सम्भावना रहेकोले धनिया पकेट क्षेत्र निर्धारण गरि सिंगो गाउँलाई पुग्ने गरि १ सय किलो धनियाँको बिउ वितरण गरिएको छ । अन्य २० जना किसानाई ५० किलो धनियाको बिउ वितरण गरिएको हो । २५ जनालाई प्लाष्टिक मल्चिङ, ३५ जनालाई प्लाष्टिक टनेल, ३७ जनालाई स्प्रेयर र ७ जनालाई पोखरीका लागि प्लास्टिक वितरण गरिएको वडाध्यक्ष घर्तीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here