बाख्रापालक किसानको प्रवर्धनमा रिब्दीकोटको जोड

0
104
पाल्पा । रिब्दीकोट गाउँपलिका–५ कुखुमखोला नयाँटोलाका ४७ वर्षीय उमानसिं रानाले ब्यवसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।
उहाँ बैदेशिक रोजगारीका लागि मलेसियामा ३ वर्ष र कतारमा २ वर्ष बसेर नेपाल फर्कनुभयो । बिदेशमा धेरै दुःख गर्दा पनि राम्रो आम्दानी भएन । एकातिर घरपरिवारसँग टाढा रहनुपर्ने र अर्कोतर्फ सोचेजति आम्दानी नभएपछि रानाले घरमै फर्केर बाख्रापालन थाल्नुभएको हो ।
अहिले रानाको खोरमा ३२ वटा बाख्रा छन् । आफ्नो केही बारी सहित ३ रोपनी जग्गा भाडामा लिएर ब्यवसायिक रुपमा तरकारी खेती समेत गर्दै आएको रानाले बताउनुभयो ।  रानाका २ छोरी छन् । ठूली छोरीले ब्याचलर र सानी छोरीले कक्षा १२ मा पढ्छन् । छोरीहरू पढाउन र घर खर्च चलाउन बाख्रापालन र तरकारी खेतीको आम्दानीबाट सहज भएको उहाँको भनाई छ ।
रानाकी श्रीमति प्रेमी रानाले बाख्रापालन सजिलो पनि हुने र आम्दानी पनि बढी हुने बताउनुभयो । उहाँहरुलाई रिब्दीकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा खोर ब्यवस्थापनका लागि २५ हजार अनुदान उपलब्ध गराएको थियो । त्यही रकमबाट खोर ब्यवस्थापनको काम भएको छ । पालिकाको पशुसेवा शाखा मार्फत प्राविधिक सहयोग हुँदै आएको छ ।
पालुङमैनादीका धन बहादुर कुँवरले पनि आकृति कृषि तथा पशुपंक्षी फर्म दर्ता गरी ब्यवसायिक रुपमा बाख्रापालन र तरकारी खेती गर्दै आउनुभएको छ । ३ वर्ष मलेसिया बसेर फर्कनुभएका कुँवरले २०७२ सालदेखि निरन्तर रुपमा कृषि कार्य गर्दै आउनुभएको छ । गाउँमै बसेर कृषि तथा पशुपालनको काम गर्दा परिवारसँगै पनि रहन पाइने र राम्रो आम्दानी हुने भएकोले पनि आफू यही काममा लागिपरेको उहाँको भनाई छ । तरकारी र बाख्रा जति उत्पादन भएपनि बजारीकरणको लागि समस्या नरहेको उहाँको भनाई छ ।
यसअघि गाउँपालिकाबाट घास काट्ने चापकटर ५० प्रतिशत अनुदानमा उपलब्ध भएको र अघिल्लो वर्ष खोर सुधारका लागि २० हजार रुपैयाँ अनुदान भएको उहाँले बताउनुभयो । गाउँपालिकाका कृषि तथा पशु प्राविधिकहरू समय समयमा आफ्नो खोर तथा बारीमा आएर समस्याको समाधान गरिदिने गरेको उहाँले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाकी पशुसेवा शाखा प्रमुख गीता नेपालीले गाउँपालिकाले कृषि र पशुपालनका लागि महत्वपूर्ण कार्यक्रम गर्दै आएको बताउनुभयो । किसानहरुको माग संकलन गरी मागको आधारमा तालिम, प्राविधिक सहयोग तथा अनुदानका कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोट गाउपालिकाको मुख्य सम्भावनाको रुपमा कृषि र पशुपालन भएकोले गाउपालिकाले सोही बमोजिम नीति कार्यक्रम बनाउँदै आएको बताउनुभयो । गाउपालिकाले बाख्रापालक किसानहरुका लागि खोर व्यवस्थापनका लागि अघिल्लो वर्ष ९० जनालाई अनुदान उपलब्ध गराएको र अन्य समयमा पनि तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । “बिदेशबाट फर्केका युवा र बिदेश जान चाहेका युवाहरुलाई बिदेशमा भन्दा पनि स्वदेशमै धेरै अवसर र सम्भावना छ भन्ने देखाउनका लागि गाउँपालिकाले योजना बनाएको छ ।” अध्यक्ष कार्कीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here