शिक्षामा रम्भाको नमूना अभ्यासः बिद्यार्थीको बीमादेखि गुरुकुलसम्म

0
147

पाल्पा । रम्भा गाउँपालिकाले जिल्लामा नमुना कार्यक्रमहरू संचालन गर्दै आएको छ । यस आलेखमा हामीले रम्भा गाउँपालिकाले शिक्षा क्षेत्रमा गर्दै आएका रचनात्मक कार्यक्रमहरुलाई उठान गर्ने कोशिष गरेका छौं ।

रम्भा गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तरगत १० वर्षे गाउँ शिक्षा योजना बनाएको छ । उक्त योजना गाउँसभाबाट पास समेत भइसकेको छ । योजनामा शिक्षा विकासको अल्प कालिन मद्यकालीन र दीर्घकालिन योजनाहरुलाई समावेश गरिएको छ ।

रम्भाको जिल्लाकै नमुना कार्यक्रमको रुपमा रहेको एउटा महत्वपूर्ण कार्यक्रम सिक्दै पढ्दै पनि हो । बिद्यार्थीलाई सिकाउने, टिकाउने र बिकाउने कार्यक्रम अन्तरगत यो कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रम अन्तरगत गाउँपालिकाले हरेक वर्ष कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीहरुलाई बिभिन्न ७ प्रकारका तरकारी बालीको बिउ बितरण गरिएको छ । यसरी पालिकाबाट प्राप्त बिउ बिद्यार्थीले आफ्नो घरको करेसबारीमा लगाउँछन् । यो कार्यमा वडामा रहेका कृषि प्राविधिकहरूले पनि सहजीकरण गर्छन् । बिद्यार्थीहरुको करेसाबारीमै पुगेर उनीहरुको मेहनत र उत्पादनको अवस्था समेत हेरिने र सोही बमोजिम प्राक्टिकलको नम्बर दिने गरिएको छ ।

शिक्षाक्षेत्र अन्तरगत नै रम्भामा जिल्लाका अन्य पालिकाहरुमा भन्दा नमुना काम भएको छ । सरकारले कक्षा १ देखि ५ सम्म दैनिक दिवाखाजा वापत दैनिक प्रतिबिद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउने गरेकोमा रम्भामा कक्षा ६ देखि ९ सम्मका बिद्यार्थीहरुलाई पनि समेटिएको छ । यसको खर्च गाउँपालिकाले बेहोर्दै आएको छ । अहिले यहाँका बिद्यार्थीहरुले दैनिक २० रुपैयाँका दरको खाजा खादै आएको शिक्षा शाखा प्रमुख मिना आचार्यले बताउनुभयो । गाउँपालिकाको यो असल अभ्यासबाट बिद्यार्थीहरू खुशी भएका छन् ।

रम्भा गाउँपालिको शिक्षा कार्यक्रम अन्तरगत गुरुकुलम शिक्षा पनि महत्वपूर्ण कार्यक्रम हो । यस अन्तरगत संस्कार सहित आविस्कार नारा सहित संस्कृत ब्याकरण सहित संस्कृत भाषाका ३ र बाँकी बिषय अंग्रेजी माध्यममा पढाइ हुदै आएको छ । यहाँ हाल ५० जना भन्दा बढी बालबालिकाहरु रहेका छन् ।

त्यस्तै रम्भा गाउँपालिकाले जिल्लामै पहिलो पटक बिद्यार्थीहरुको दुर्घटना बिमा गरिदिएको छ । गाउँपालिकाले शिक्षक कर्मचारी, गाउँपालिकामा कार्यरत कर्मचारी र बिद्यार्थीहरुको एकमुष्ट रुपमा दुर्घटना बिमा गरेको हो । जस अन्तरगत शिक्षक कर्मचारीको रु ३ लाख र बिद्यार्थीको १ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो । त्यस्तै हालै शिक्षक कर्मचारी र गाउँपालिका बीच कार्यसम्पादन करार सम्झौता कार्य भएको उहाँले बताउनुभयो ।

गाउँ शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिई अगाडि बढाएकै कारण पनि राम्रो प्रतिफल देखिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । आधुनिक र प्रविधिमैत्री रुपमा ब्यवहारिक रुपमा पढाई हुन थालेपछि कतिपय बन्द हुने अवस्थामा पुगेका सामुदायिक बिद्यालयहरुमा पनि बिद्यार्थीहरुको संख्या बढेको अध्यक्ष भण्डारीले बताउनुभयो । शिक्षा क्षेत्र राम्रो भयो भने मात्र सबै क्षेत्र राम्रो हुने भएकोले पनि आफूहरुले पहिलो प्राथमिकताको रुपमा शिक्षा क्षेत्रलाई नै लिएको अध्यक्ष भण्डारीको भनाई छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here