बगनासकाली गाउँपालिकाद्वारा अभिभावक बिहीन बालबालिकाको अभिभावकत्व ग्रहण

0
204

पाल्पा । बगनासकाली गाउँपालिकाले पालिका भित्रका १९ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।

गत वर्ष १९ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरी प्रति बालबालिका मासिक १ हजार रुपैयाँका दरले गाउँपालिकाले उनीहरुका लागि शैक्षिक सहयोग खर्च उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

गाउँपालिकाको लोककल्याणकारी कार्यक्रमको रुपमा अगाडि बढाइएको यो कार्यक्रमबाट अभिभावक बिहीन बालबालिकाहरुको शिक्षा दिक्षाका लागि राम्रो सहयोग पुगेको छ । जसबाट अभिभावक बिहीन बालबालिकाहरू खुशी छन् । यो वर्षका लागि बिद्यालयहरुबाट निवेदन आह्वान गरिएको र वडाहरुबाट निवेदन संकलन भई आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको र नागरिकहरुका अप्ठेरोहरुमा सदैब सँगै रहेको अनुभुति गराउने गरी काम गरिरहेको बताउनुहुदै अध्यक्ष चिदीले अभिभावक बिहीन बालबालिकाहरुको शिक्षा दिक्षाका लागि सहयोगी होस् भन्ने उद्देश्यले मासिक १ हजार रुपैयाँ गाउँपालिकाबाट उपल्ब्ध गराउदै आएको बताउनुभयो ।
बगनासकाली गाउँपालिकाले बालबालिका र शिक्षा क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम गर्दै आएको छ । जिल्लाकै पहिलो स्थानीय बालमैत्री शासन कार्यक्रम लागू भएको यस गाउँपालिकाले बालमैत्री कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

बालअधिकार शैक्षिक बिकासका सन्दर्भमा बगनासकालीमा धेरै कामहरु भइरहेको बगनासकाली गाउँपालिकाका बालकल्याण अधिकारी नारायण तिमिल्सेनाले बताउनुभयो । वडा नं. ६ यम्घा दर्पुकका बोटे जातिका बालबालिकाहरुको नियमित शिक्षाका लागि सहयोगी हुने गरी गाउँपालिकाले बोटे जातिबाटै हेरालु शिक्षिकाको ब्यवस्था गरेको छ । बोटे जातिका बालबालिकामा अहिलेपनि नियमित रुपमा बिद्यालय नजाने र कक्षा छोड्ने दर बढी छ । यो समस्या समाधान गर्नका लागि स्थानीय भगवती आधारभुत बिद्यालयमा रुपा बोटे हेरालु शिक्षिकाको रुपमा रहनुभएको छ । शिक्षिका बोटेले बोटे जातिका बालबालिकाहरुलाई घरघरमा पुगेर बिद्यालयसम्म र लैजान पहल गर्दै आउनुभएको छ । यसको प्रभाव राम्रो देखिएको छ ।

त्यस्तै बगनासकालीले कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी बिद्यालयहरुमा पठाएको छ । उक्त पाठ्यपुस्तकबाट बिद्यार्थीहरुले स्थानीय बिषय बस्तुबारे जान्ने बुझ्ने मौका पाएका छन् ।
यस वर्ष देखि बगनासकाली गाउँपालिकाले शिक्षा क्षेत्रमा जिल्लामै नमुना कार्यक्रम संचालनमा ल्याएको छ । कोभिड लगायत अन्य कारणले बिद्यार्थीहरुमा भएको शैक्षिक उपलब्धीको ह्रासको विषयमा अध्ययन गर्नका लागि नियमित परीक्षा बाहेक २ वटा छुट्टै परीक्षा समेत सञ्चालन गरिएको छ ।

बेसलाईन टेस्ट र इनलाइन टेस्टका माध्यमबाट बिद्यार्थीहरुको शैक्षिक उपलब्धी मापन गरिएको हो । यसको ब्यवस्था गाउँपालिका आफैले गरेको थियो । परीक्षाका लागि निरीक्षक समेत फरक बिद्यालयको राखिएको र फरक बिद्यालयका शिक्षकले कापी जाँच गरी सम्बन्धित बिद्यालयलाई सुधार गर्न पर्ने पक्ष सहितको जानकारी गराइएको र पुनः ३ महिनापछि इनलाइन टेस्ट मार्फत उनीहरुमा आएको परिवर्तन र सिकाई उपलब्धीको मापन गरिएको तिमिल्सेनाले बताउनुभयो ।

यसबाहेक गाउँपालिका शिक्षा शाखा मार्फत बिभिन्न रचनात्मक कार्यक्रमहरू संचालन हुदै आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनुभयो । मासिक साप्ताहिक अतिरिक्त क्रियाकलाप, राष्ट्रपति रनिङ शिल्ड लगायतका कार्यक्रमहरू पनि शाखा मार्फत हुदै आएको उहाले बताउनुभयो । आगामी दिनमा पनि शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको सहयोग समन्वय र सुझावका आधारमा अन्य कार्यक्रमहरु संचालन गर्दै जाने उहाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here