Site icon PALPA SAMACHAR

नेपाल पत्रकार महासंघको अधिवेशन सम्पन्न, जेठ २६ गते निर्वाचन हुँदै

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १४ औं साधारण सभा तथा ११ औं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै दिन अर्थात् यही जेठ २६ गते निर्वाचन गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ । कार्यक्रममा कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने आर्थिक प्रतिवेदन र संस्थाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले प्रस्तुत गर्नुभएको ३ वर्षीय कार्यकालको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पाली पत्रकारिता क्षेत्र शाखाको गरिमा कायम राख्न वर्तमान कार्य समिति पूर्ण रुपमा सफल भएको बताउनुभयो ।
उपाध्यक्ष भरत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शुभकामना दिँदै पत्रकारले वस्तुनिष्ठ भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताको गरिमालाई उँचो बनाइराख्न पत्रकार नै जिम्मेवार हुनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा शाखाका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पत्रकार महासंघ पाल्पा शाखा र पाल्पाली पत्रकारिता क्षेत्रको गौरवपूर्ण इतिहास रहेको बताउनुभयो । पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गैरेले स्थानीय मिडिया जोगाउने अभियान कै रूपमा लैजान र युग सुहाउँदो मिडिया बनाउनुपर्ने बताउनुभयो ।

शाखाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, सल्लाहकार कमलराज तिमिल्सिना, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य गीता ज्ञवाली, प्रदेश परिषद् सदस्य मिलन बिक, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियन पाल्पाका सभापति मन गैरे, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरे, जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Exit mobile version