पाल्पा । नेकपा एमाले पाल्पाको १०औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन यही जेठ ११ र १२ अर्थात् भोलि र पर्सि तानसेनमा हुँदै छ । एमाले पाल्पाले बिहिबार तानसेनमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
अधिवेशन मूल आयोजक समितीका संयोजक एवं एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो। अधिवेशनको एमाले महासचिव शंकर पोखरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनलाई पार्टी सचिव एव लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटिव्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरी, पोलिटब्यूरो सदस्य ठाकुर गैरे, दल बहादुर राना, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल लगायतका केन्द्रीय नेताहरू पाल्पा आइपुग्नुभएको छ । अधिवेशनको लागि जेठ ५ गते नै ८१ वटा वडा कमिटी, १० वटा पालिका, २० वटा भातृसंगठनबाट ४ सय ५० जना प्रतिनिधीहरु छनौट भएका छन । छनौट भएका प्रतिनिधिहरूको ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनय गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा १०५ जना जिल्ला कमिटी सदस्यहरू निर्वाचित हुनेछन् । ३३ प्रतिशत महिला, १५ प्रतिशत ४० बर्ष भन्दा कम उमेर युवारू तथा उत्पीडित, अल्पसंख्यक समुदायबाट पनि जिल्ला कमिटीमा रहने पार्टी अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नयाँ नेतृत्वको लागि सर्वसम्मतको पहिलो प्रयास रहने उहाँले बताउनुभयो । अधिवेशनमा पहिलो जिल्ला सचिव झपेन्द्र बहादुर जिसी र दोस्रो कार्यकालको जिल्ला सचिव दल बहादुर रानालाई सम्मान गर्ने, जाजरकोट भुकम्पमा सहयोग गर्न पुगेका पार्टीका उपाध्यक्ष देवीलाल लामिछाने, पाल्पा क्षेत्र नंं १ का प्रतिनिधी सभा सदस्य नारायण आचार्य लगायतका १५ जना लाई प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम रहेको घिमिरेले बताउनुभयो ।
अधिवेशनको लागि करिब १० लाख रुपैया खर्च हुने अनुमान छ । खर्च प्रतिनिधीहरुबाट नै अनिवार्य एक एक हजार रूपैयाँ सहयोग उठाएर, पार्टीका अन्य विभाग तथा क्षेत्रबाट चन्दा उठाएर खर्चको व्यबस्थापन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको स्वागत र अधिवेशन प्रचारप्रसार उपसमितीका संयोजक मिलन विश्वकर्माको संचालनमा भएको थियो ।