जनअपेक्षा अनुसार काम गरिरहेका छौंः वडाध्यक्ष दर्लामी

0
231

पाल्पा । माथागढी गाउँपालिका–४ झडेवाका अध्यक्ष शंकर दर्लामीले चालू आर्थिक वर्षमा वडाका योजनाहरू लगभग सम्पन्न भएको बताउनुभयो ।

उहाँले वडाभित्रका योजनाहरुको अनुगमनसँगै योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि आफूहरू प्रतिबद्ध भई लागिपरेको बताउनुभयो । पाल्पा समाचारपत्रसँग कुराकानी गर्दै माथागढी गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका दर्लामीले झडेवाभित्र अहिले देउगीर झडेवा सडक, देबीनगर झडेवा सडकको बिस्तार तथा स्तरोन्नतीको काम तीव्र रुपमा भइरहेको बताउनुभयो । १५ शैयाको अस्पताल पनि झडेवामा बनिरहेको छ । यो अस्पतालको निर्माण कार्य पनि झण्डै ९० प्रतिशत सम्पन्न भइसकेको छ । यो अस्पताल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकहरुले दक्ष स्वास्थ्य डाक्टरको साथमा उपचार तथा परामर्श पाउने बनाउनुभयो ।

हालै झडेवालाई पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । झडेवासँगै समग्र माथागढी नै पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । गाउँपालिकाको केन्द्र पनि रहेको झडेवा वडाको विकास तथा मानवीय बिकासलाई सँगसँगै अगाडि बढाइएको उहाँले बताउनुभयो । बाँसटारी झडेवा दुम्कीबास बाटोलाई स्तरोन्नती गरी थप ब्यवस्थित बनाउने वडा तथा पालिकाको योजना रहेको छ । वडाभित्र रहेका मुख्य ३ फाँटहरुमा ब्यवस्थित सिंचाईका लागि पहल गरिएको छ । कतिपय स्थानमा सिंचाई कुलो निर्माणको काम चलिरहेको छ । त्यस्तै डिप बोरिङको पनि पहल भएके छ ।

कृषि क्षेत्रमा बिशेष प्राथमिकताः
कृषि क्षेत्रमा झडेवा वडाले बिशेष प्राथमिकता दिएको छ । यो वडाबाट यस वर्ष मात्रै झण्डै ५० लाख रुपैयाँ बढीको काफल निर्यात भएको छ । यस वर्ष काफल उत्पादन गर्ने किसानलाई क्यारेट बितरण गरिएको थियो । आगामी वर्ष काफल पकेट क्षेत्र घोषणा गर्ने तयारी समेत छ । यहाँको अर्को उत्पादन आलु पनि हो । आलु पकेट कार्यक्रम अन्तरगत स्थानीय किसानहरुलाई सहुलियत मुल्यमा १५ सय ५० केजी आलुको बिउ बितरण गरिएकोमा किसानले २६ हजार किलो भन्दा बढी आलु उत्पादन गरेका छन् ।

त्यस्तै खुर्सानीका लागि पनि झडेवा उत्तिकै सम्भावनाको वडा हो । गत वर्ष मात्रै झडेवाका किसानले ५० लाख बढीको खुर्सानी निर्यात गरेका थिए । यो वर्ष सोही रकम भन्दा बढीको खुर्सानी निर्यात हुने अपेक्षा रहेको वडाध्यक्ष दर्लामीले बताउनुभयो । यसै वडामा कोल्ड स्टोर पनि छ । अहिले कोल्ड स्टोरमा ४० क्वीन्टल आलु बिउको रुपमा राखिएको छ ।

सचेतना बिस्तारमा पनि बिशेष जोडः
यो वडाले भौतिक विकाससँगै मानवीय चेतना तथा नेतृत्व विकासका कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएको छ । चालु आर्थिक वर्षमा वडाले लक्षित वर्गका लागि ६ लाख रुपैयाँ बिनियोजन गरि कार्यक्रम संचालन गरेको वडाध्यक्ष दर्लामीले बताउनुभयो । वडाभित्रका युवा, बालबालिका, जेष्ठ, नागरिक, जनजाति, दलित, महिला लगायत लक्षित वर्गको नेतृत्व विकास गर्दै अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले भौतिक विकासभन्दा महत्वपूर्ण मानवीय विकास हो भन्ने कुरालाई वडाले राम्रो गरी आत्मसात् गरेको बताउनुभयो ।

नागरिक, जनप्रतिनिधि र कर्मचारी सम्बन्धः
वडाको समग्र विकासका लागि नागरिक, जनप्रतिनिधि र कर्मचारी सम्बन्ध सुमधुर हुनुपर्ने अध्यक्ष दर्लामीको भनाई छ । झडेवामा सबै पक्षको सुमधुर सम्बन्ध र सहकार्यबाटै जनअपेक्षा अनुसार काम गर्न सकिएको उहाँको भनाई छ । अहिले वडामा आगामी वर्षको नीति कार्यक्रम र बजेटका लागि टोलभेला गर्ने तयारी गरिएको छ । टोल टोलमा पुग्ने, जनताहरुको माग र आवश्यकता पहिचान गरी अत्यावश्यक विषयमा बजेट बिनियोजन गर्ने गरिएको उहाँले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here