बाख्रा बेचेर करोडौ रकम भित्रिन्छ रम्भा गाउँपालिकामा

0
262

पाल्पा । रम्भा गाउँपालिका–२ फोक्सिङकोटकी हुमीकुमारी पाँडे सँग अहिले ५३ वटा बाख्रा छन् । बाख्रापालनबाटै पाँडे परिवारको गुजारा चलेको छ ।

आफूले २०६९ सालदेखि ब्यवसायिक रुपमा बाख्रापालन गर्दै आएको हुमीसराले बताउनुभयो । गाउँमा हेफर परियोजना मार्फत बाख्रापालन कार्यक्रम संचालन भएको थियो । त्यतिबेला देखि नै बाख्रापालन गर्दै आएकी छु । उहाँले भन्नुभयो । गाउँमा घास र चरनको समस्या नभएको र सामान्य मेहनतबाट पनि बाख्रापालनबाट राम्रो आम्दानी गर्न सकिने भएकोले आफू बाख्रापालनमा लागेको उहाँले बताउनुभयो । बाख्रा बेच्न समस्या छैन । गाउँकै सहकारी मार्फत बाख्रा संकलन र बजारीकरण हुदै आएको छ ।

फोक्सिङकोटका निवर्तमान वडा अध्यक्ष उमानसिं सारू अहिले बाख्रापालनमै रमाउनुभएको छ । बाख्रापालनका लागि ब्यवस्थित खोर बनाउनुभएको सारूले । केही दिनअघिसम्म सारुसँग ५० वटा बाख्रा थिए । यो बीचमा केही बाख्रा बेचेपछि अहिले उहाँसँग ३४ वटा बाख्रा छन् । आफ्नो घरमा आफूले जान्ने बुझ्ने भएदेखि नै बाख्रापालन गर्दै आएको र ब्यवसायिक रुपमा भने ६ वर्ष अघिदेखि बाख्रापालन गर्न थालेको सारुले बताउनुभयो ।

काम गर्न दुःख मान्न हुदैन । सामान्य मेहनत गर्न सकेपनि बाख्रापालन राम्रो सँग गर्न सकिन्छ । बाख्राको बिमा हुन्छ । क्षति भइहाले पनि किसानले राहत पाउछन् । बिक्री वितरणका लागि पनि समस्या छैन । सारुले भन्नुभयो । फोक्सिङकोट क्षेत्र घास उत्पादनका हिसावले राम्रो भएकोले पनि आफू सहित यहाँका धेरै किसान बाख्रापालनमा लागिपरेको सारुले बताउनुभयो ।

रम्भा गाउँपालिका–१ हुगीका यम बहादुर जर्घाले ४ वर्ष शिक्षण पेशामा बिताउनुभयो । अस्थायी जागिर भन्दा उद्यमशीलता गर्नु नै उत्तम हुने निष्कर्ष निकाली ७ वर्ष अघिदेखि उहाँले बाख्रापालन थाल्नुभयो । जर्घाको खोरमा अहिले ७५ वटा बाख्रा छन् । यी मध्ये अधिकांश बोयर जातका छन् । जसमध्ये बोका छन् । बाख्रापालनबाट आफू सन्तुष्ट रहेको जर्घाले बताउनुभयो । बेच्न समस्या छैन । समस्या आइहालेपनि बाख्राको बिमा छ । गाउँपालिकाले पनि आर्थिक प्राविधिक सहयोग गर्र्दै आएको छ । उहाँले भन्नुभयो । राम्रो मेहनत गर्ने हो भने बाख्रापालनबाट मनग्ये आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

रम्भा ५ ताहुका प्रदिप बराल पनि पुर्व शिक्षक हुनुहुन्छ । शिक्षणमै उहाँले १४ वर्ष बिताउनुभयो । उहाले अस्थायी जागिर भन्दा ब्यवसाय नै उत्तम ठानेर ६ वर्षदेखि ब्यवसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँसँग अहिले २८ ओटा बाख्रा छन् । यो बीचमा घासपातको समस्या भएकोले केही बाख्रा बेचेको र अव छिटै बाख्रा थप्ने तयारीमा रहेको बरालले बताउुनभयो ।

रम्भा गाउँपालिकामा रहेका बाख्रापालक किसानहरुले स्थानीय सहकारी मार्फत बिक्री गर्दै आएका छन् । यहाँका ३ वटा सहकारीले खसीबोका बिक्री गरेर पौने तीन करोड रुपैंया आम्दानी गरेका छन् । गत आर्थिक बर्षमा गाउँपालिकाको वडा नं. २ को उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले १ करोड ८० लाख रुपैंयाको खसीबोका बिक्री गरेको हो ।
पिपलडाँडाको सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक बर्षमा ४९ लाख ५० हजार रुपैंयाको खसीबोका बिक्री गरेको छ भने वडा नं. १ को रम्भादेवी सानाकिसान कृषि सहकारी संस्थाले ३७ लाख ८० हजार रुपैंयाँको खसीबोका बिक्री गरेको छ । उपहारले १३ सय वटा खसीबोकाको ३६ हजार केजी, पिपलडाँडाले ३ सय ६० खसीबोकाको १० हजार ३ सय ३० केजी र साना किसानले २ सय ४० खसीबोकाको ८ हजार ४ सय केजी जिउँदो तौल गरी बिक्री गरेको छ ।

रम्भा गाउँपालिकाले बाख्रापालक किसानका लागि सहयोग गर्दै आएको छ । पालिकाले सहकारी मार्फत किसानलाई प्रतिकिलो २५ रुपैंया अनुदान दिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष प्रतिकिलो ५० रुपैयाँ थियो । त्यस्तै सहकारीलाई खसीबोका संकलन तथा बिक्री गरेवापत प्रतिकिलो २ रुपैंयाँ र मसलन्द खर्च वापत बार्षिक एकमुष्ठ १५ हजार रुपैंया उपलब्ध गराउने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिका मार्फत किसानका लागि प्राविधिक सहयोग पनि हुदै आएको छ । वडा वडामा रहेका कृषि प्राविधिकहरुले किसानलाई सहयोग गर्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here