Site icon PALPA SAMACHAR

बिरामी भएपछि जचाउन जाने की कागजपत्र बनाउन ?

पाल्पा । मानिस बिरामी भएपछि उपचार गर्न अस्पताल जाने कि कागजपत्र मिलाउन तिर लाग्ने ? सबैको सहजै जवाफ आउँछ तत्काल अस्पताल गइहाल्न प¥यो नि । तर यहाँ बिरामी एक दिन लगाएर रेफर कागज बनाएपछि अर्को दिन मात्रै उपचार गर्न जान पर्ने बाध्यता छ । कागजपत्र बनाउने क्रममा कतिपय बिरामीको अवस्था झनै बिग्रिसकेको हुन्छ ।

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बीमाको सेवा लिन बिरामीलाई सकस हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा टिकट लिन र रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता छ ।

गरिव तथा विपन्न नागरिकहरुले सहज रुपमा औषधी उपचार सेवा पाउन सकुन् भन्ने पवित्र सो सहित आएको स्वास्थ्य बीमा कार्यक्रमको सहज सञ्चालन हुन सकेको छैन । पाल्पाका २ ठूला नीजि अस्पतालमध्ये लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । यो अस्पतालमा उपचार गराउन आउनु अघि जिल्ला अस्पतालमा गई रेफर पत्र अनिवार्य रुपमा बिरामीले बनाउनुपर्छ । रेफर कागज बनाउनका लागि समस्या झेल्दै आएको बगनासकाली–३ नायरनमतलेसका श्याम बहादुर कनौजेले बताउनुभयो । बिरामी उपचार गराउन सिधै सम्बन्धित अस्पताल जानुपर्नेमा रेफर बनाउनकै लागि अर्को अस्पताल पुग्नु पर्ने अवस्थाले बिरामीलाई झनै सास्ती भएको उहाँले बताउनुभयो ।

पाल्पाका अस्पताल पाल्पाका सूचना अधिकारी प्रमिला पाठकले पाल्पा अस्पतालमा दैनिक ४ सय देखि ६ सय जना सम्म बिरामी आउने गरेको बताउनुभयो । जसमध्ये २ सय जनासम्म रेफर कागज बनाउन आउने गरेको उहाँले बताउनुभयो । पाल्पा अस्पतालमा उपचार सम्भव भएका बिरामीको उपचार सोही अस्पतालमा हुने सम्भव नभएका बिरामीलाई मात्र रेफर गर्ने गरिएको उहाँले बताउनुभयो । अस्पतालमा टिकट, बिरामी जाँच, रिपोर्ट उपलब्ध गराउने र रेफर दिने लागयतका कार्य छिटो छरितो रुपमा गर्ने कोशिस गरिएपनि आवश्यकता भन्दा कम जनशक्ति भएका कारण समस्या भएको उहाँले बताउनुभयो । टिकटका लागि टोकन लागू गरिएको र पालो आएपछि बिरामीले चेकजाच गराउन पाउने भएकोले बिरामी लाइनमा उभिनुपर्ने समस्या केही हदसम्म भएपनि समाधान भएको पाठकले बताउनुभयो ।

पाल्पा अस्पतालमा १८ जना डाक्टर दरबन्दी रहेकोमा स्थायी १ जना कार्यरत छन् । छात्रबृत्ति करारमा ७ जना डाक्टर कार्यरत छन् । १० जना डाक्टरको दरबन्दी रिक्त छ । हेल्थ असिस्टेन्ट १ जनाको दरबन्दी रहेकोमा उनी पनि २० दिन देखि काजमा अञ्चल अस्पताल बुटवल गएका छन् । त्यस्तै अहेव २ जनाको दरबन्दी रहेकोमा २ जना कार्यरत छन् ।

नेपालमै पाल्पाबाटै पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । यो कार्यक्रम अन्तरगत एउटा परिवारमा ५ जनाको एकमुष्ट ३५ सय रुपैयाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रुपैयाँ बरावरको उपचार निःशुल्क पाउने ब्यवस्था रहेको छ । त्यस्तै ५ जना भन्दा बढी ब्यक्ति भएको परिवारले ५ जना भन्दा माथि प्रति ब्यक्ति ७ सय रुपैयाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजारको उपचार सुविधा पाउने कार्यक्रम रहेको स्वास्थ्य बीमा बोर्ड पाल्पाका दर्ता अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम मार्फत २ लाख ४० हजार ४ सय ५० जनाले सेवा लिएका छन् । त्यस्तै १२ हजार ७ सय ६० जनाले जेष्ठ नागरिक सेवा लिँदै आएको पौडेलले बताउनुभयो ।

Exit mobile version