Site icon PALPA SAMACHAR

बाँदरले मान्छे लखेट्न थाले

मान्छेले बाँदर लखेट्नुको साटो बाँदरले मान्छे लखेट्न थालेका छन् । बाँदरकै कारण गाउँ शुन्य हुने अवस्था बनेको छ । किसानले दुःख गरी बाली लगाउँछन् तर अन्तमा बाँदर सखाप बनाउँछ । गाउामा बसेर खेती किसानी गर्ने र लगाएको बाली राम्रोसँग भित्र्याउन नपाएपछि गाउँ बस्नुको के अर्थ भन्नेहरु बढेका छन् । यसकारण पनि बसाइसराइ बढ्दो छ । हुन त यो विषयमा हामीले पटक पटक लेखिरहेका छौं । सम्पादकीय मात्रै हैन समाचार पनि बनाएका छौं । अन्य संचारमाध्यमले पनि किसानका कुरा आउनासाथ बाँदर समस्या जोडेकै छन् । किसानले हैरानी खेपिरहेका छन् । कतिपय किसानको त यतिबेला बसाई नै बारीमा हुने गरेको छ । अहिले मकै बाली पाक्ने तयारीमा छ । बाँदरका हुल बारीमा पस्ने र एकैछिनमा मकैबारी सखाप बनाउने डरले किसानहरुले बिहानदेखि साँझको समय बारीमै बिताउने गरेका छन् । यस्ता दृश्यले किसानलाई उत्साही बनाउनुको साटो उल्टै निराश बनाएको छ ।

बाँदर समस्या पाल्पाका लागि सबैभन्दा ठूलो समस्या हो । यहाँका सबै पालिकाहरुमा बाँदरको आतंक नै छ । बाँदरकै कारण हैरान भएर धेरै परिवारले खेती किसानी नै गर्न छाडेका छन् । बाँदरकै कारण खेतबारी बाँझो रहने अवस्था बनेको छ । स्थानीय तह निर्वाचनका बेला नेताहरुले सबैभन्दा बढी उठाएको बिषय नै बाँदर समस्याको समाधान हो । जव चुनाव जिते त्यसपछि बाँदर समस्या बिर्से । आफूहरू सदरमुकाम बस्ने, कार्यालय आउने जाने, कहिलेकाहि गाउँ जाँदा जनताको दुखेसो सुने जस्तो गर्ने तर समस्या समाधानका लागि केही पनि पहल नगर्ने परम्परा कायमै छ ।

हुन त यो विषयमा नीतिगत रुपमा नै समस्या समाधानको खोजी हुनु आवश्यक छ । यहा“बाट निर्वाचित प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुले पनि बाँदर समस्या समाधानका विषयमा संसदमा गतिलो गरी कुरा उठान गर्नुपर्छ । किसान हैरान भइसकेका छन् । हुने खानेहरुका लागि त खासै समस्या नहोला तर बाँदर आंतककै कारण गरिवहरुले खेती गरेर खान पाउने अवस्था समेत बाँकी रहेन । यसकारण पनि यस विषयमा अलि सम्वेदनशील हुनु आवश्यक छ । बाँदर मात्रै हैन राते, दुम्सी लगायत जंगली जनावरहरुले किसानलाई हैरान बनाएका छन् । अव यो समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्छ । नत्र वर्षेनी समस्या हुने, लेख्ने बोल्ने तर समाधान नहुने परम्परा कायमै रहन्छ ।

पाल्पा समाचारपत्र वर्ष १४ अंक ४ को सम्पादकीय

Exit mobile version