किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण

0
167

पाल्पा । तानसेन नगरपालिकाले किसाहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको छ । नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिमका किसानहरू ४७ जनालाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जना किसानहरूलाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न नगरपालिकाले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताउनुभयो । तानसेन नगरपालिकाको सम्भावना कृषि र पर्यटनबाट नै सम्भव रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

उप–प्रमुख प्रतिक्षा सिंजालीले हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न सजिलो हुने,खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले किसानलाई हाते ट्याक्टर दिइएको बताउनुभयो । आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले नगरपालिकाले कृषि र वन पैदावारको औद्योगीकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको र सोही अनुरूप नगर सरकारले आफ्ना गतिविधि अगाडि बढाएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले कृषि यन्त्र खरिद बापत हाते ट्याक्टर,चाप कटर र डिजिटल तराजु कुल ४० लाख बजेटबाट र मौरीजन्य सामाग्री कुल २० लाख बजेटबाट वितरण गरेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरू सुनिल कुमार बस्याल, हेमन्तराज शाक्य,सागरमान महर्जन लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here