Site icon PALPA SAMACHAR

महेन्द्र बोधिमा परियत्ति शिक्षा लागू हुने

झविन्द्र देवकोटा
पाल्पा, तपाईँका बालबच्चाले घरमा धेरै मोबाइल हेर्ने गरेका छन ? तपार्इँलाई नै अटेरी गर्ने भइसकेका छन् कि ? जंकफुड खान पाए खुसी, घरमा बनेका खानेकुरा दिँदा रिसाउने गरेका त छ्रैनन् ? पढाइमा भन्दा अनावश्यक समय अन्यत्रै खर्च गर्ने गरेका छन ? यी र यस्तै यावत कुराले बालबालिकाबाट हैरानी खेप्नु परेको छ भने चिन्ता नलिनुस् । बालबालिकालाई अब यी कुराहरूबाट छुटकारा दिइ नैतिकवान र अनुशासित बनाउन एमबिएस स्कुल(महेन्द्र बोधि मावि)ले परियत्ति शिक्षा लागू गर्ने भएको छ ।
विद्यालयले तानसेनको महाचैत्य विहार तानसेन ३ टक्सारटोलसँग सम्झौता गरी विद्यालयमा निःशुल्क परियत्ति कक्षा सञ्चालन गर्ने भएको हो । सम्झौतामा शुरुको चरणमा बुक फ्रि फ्राइडेको दिन परीक्षणको रुपमा कक्षा ५,६,७ का विद्यार्थीहरूलाई १ घण्टा परियत्ति कक्षा सञ्चालन गरिने, पहिलो बर्ष परियत्तिको कक्षा १ को मात्रै कक्षा सञ्चालन गर्ने,  शिक्षाको प्रभावकारीता मूल्याङ्कन तीन सदस्यीय समितिले गर्ने, कार्यक्रम श्रावणको दोस्रो हप्ता पछि लागू गर्ने लगायतका विषयमा सम्झौता भएको विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनु भयो । अहिलेको बालबालिकामा नैतिक शिक्षाको कमी देखिएकाले विद्यालयले परियत्ति शिक्षा लागू गर्न लागेको उहाँले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला श्रेष्ठले परियत्ति शिक्षाले विद्यालयलाई समुदायसँग जोड्ने र बालबालिकाको नैतिक शिक्षाको पक्ष बलियो हुने बताउनु भयो । उहाँले परियत्ति शिक्षाको कक्षा १, २ र ३ कक्षाको पाठ्यक्रमलाई अतिरिक्त शिक्षाको रुपमा लागू गर्ने र आफूले पनि यो शिक्षा लिने बताउनु भयो ।
महाचैत्य विहार परियत्ति केन्द्रकी का.वा. केन्द्राध्यक्ष सौन्दर्यवती शाक्यले विहारले निःशुल्क रुपमा बालबालिकालाई शिक्षा दिने र विहारका अन्य कार्यक्रममा विद्यालयलाई पनि जोड्ने बताउनु भयो । परियत्ति शिक्षा लागू गर्ने विषयमा चलाइएको छलफल कार्यक्रममा महाचैत्य विहार ज्ञानमाला सभाका अध्यक्ष मनिप्रसाद बज्राचार्य, ज्ञानमाला संघका अध्यक्ष एवम् आनन्द विहार परियत्ति संरक्षक उत्पलकुमार बज्राचार्य, परियत्ति शिक्षाका केन्द्रीय उपाध्यक्ष केशवलाल बज्राचार्य, विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्रमान शाक्य, ज्ञानमाला सभाका सचिव विरेन्द्र बज्राचार्य लगायतले परियत्ति शिक्षाको महत्व बताउँदै बुद्धशिक्षा अन्तर्गत बालबालिकालाई नैतिकवान र चरित्रवान बनाउने सबैभन्दा सस्तो शिक्षाको रुपमा परियत्ति शिक्षा रहेको बताउनु भयो । उहाँहले बालबालिकालाई विहारले सञ्चालन गर्ने योग तथा ध्यानका विभिन्न कार्यक्रममा समेत समावेश गर्ने प्रतिवद्धता जनाउनु भयो । उपस्थित परियत्ति शिक्षाका वक्ताहरूले विद्यालय स्तरमा लुम्बिनी प्रदेशमै पहिलो पटक महेन्द्र बोधिमा परियत्ति शिक्षा लागू हुने कुरामा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक झविन्द्र देवकोटाले गर्नु भएको थियो ।
स्मरण रहोस् महेन्द्र बोधि नामको “बोधि” अर्थात ज्ञान र यसको विद्यालयसँगको इतिहास खोजी गर्ने क्रममा परियति शिक्षा भेटिएको हो । २०३१ सालमा तानसेनमा रहेको महाबोधि विद्यालय र महेन्द्र रात्री हाइस्कुल मिलाई  महेन्द्र बोधि मावि बनाइएको थियो । महाबोधिको इतिहासलाई संरक्षण गर्न विद्यालयमा बौद्ध शिक्षा अन्र्तगत परियत्ति शिक्षा लागू गरिने भएको हो । नैतिक शिक्षा भएकाले यो शिक्षा जुनसुकै उमेर समूहले पनि लिन सकिने कार्यक्रममा बताइएको थियो ।
Exit mobile version