Site icon PALPA SAMACHAR

पाल्पामा डेंगीका बिरामीको संख्या बढ्दो

पाल्पा । सचेतना र उचित  सावधानीको अभावमा पाल्पामा डेंगी संक्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेंगीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनुभयो ।  यो वर्ष जिल्लामा कुल संक्रमित संख्या ८९ पुगेको छ । जसमा जिल्लाभित्रका ५० जना र अरु जिल्लाबाहिरबाट आएका नागरिक रहेको डा. गिरीले बताउनुभयो ।
बिभिन्न स्थानीय तहहरुबाट तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको उहाँले बताउनुभयो । जनवरीदेखिको तथ्यांकमा पछिल्लो महिनामा सबैभन्दा धेरैमा संक्रमण देखा परेको उहाँले बताउनुभयो । निजी स्वास्थ्य संस्थामा जाँच गराएका र घरमै बस्नेहरुको तथ्यांक यसमा समावेश नभएकोले पनि संख्या अझ बढी रहेको डा. गिरीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत टिकाराम अधिकारीले डेंगी के हो र यसबाट कसरी बच्ने भन्नबारे जनचेतना बिस्तारको पहल गरिएपनि पूर्ण हुन नसकेको बताउनुभयो । अझै पनि नागरिकमा जनचेतनाको अभाव र चेतनशील नै भएपनि उचित सावधानी छैन त्यसैले पनि डेंगी संक्रमण बढ्दो रुपमा रहेको छ । परीक्षणको दायरा बढाइएको र अहिले घामपानीको मौसम भएकोले पनि लामखुट्टेको संख्या बढ्ने भएकोले पनि डेंगीका बिरामी बढेको अधिकारीले बताउनुभयो ।
संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न गरी सचेतना फैलाउने काम भइरहेको उहाँले बताउनुभयो । तर ती कार्यक्रमहरू उचित जनशक्ति र स्थानीय बासिन्दाहरुको पनि कम चासोका कारण टोलटोलसम्म पु¥याउन नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
लामखुट्टेको टोकाइँबाट हुने डेंगीको संक्रमण भएमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने लगायतका लक्षण देखिने उहाँले बताउनुभयो ।
Exit mobile version