Site icon PALPA SAMACHAR

तानसेनको खानेपानी प्रणाली सुधारका लागि माओवादी केन्द्रको ज्ञापनपत्र

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र तानसेन नगर कमिटिले विभिन्न माग सहित तानसेन खानेपानी उपभोक्ता समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
खानेपानी समिति मार्फत सस्तो खानेपानी वितरण, पूर्व निर्धारित समयमा पानी वितरण, वितरण प्रणालीमा सुधार होस् भन्ने उद्देश्यले उक्त ज्ञापनपत्र बुझाएको पार्टीले जनाएको छ ।

नेपाल सरकारले विद्यतु महसुलमा दिएको अनुदानको आधारमा खानेपानी महसुलमा कटौटी गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । त्यस्तै खानेपानी महसुल दर निर्धारणमा प्रगतिशील र वैधानिक महसुल पद्धति लागू गर्नुपर्ने, मासिक ५ हजार लिटर भन्दा कम पानी खपत गर्ने विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

त्यस्तै खानेपानी वितरणको समय तालिका सम्बन्धित उपभोक्तालाई १ दिनपुर्व नै जानकारी गराउनुपर्ने, खानेपानी वितरणमा एकरुपता कायम गरिनुपर्ने, फोन र भनसुनको आधारमा पानी वितरण गर्ने प्रचलनको अन्त्यको माग समेत गरिएको छ ।

त्यस्तै खानेपानी उपभोक्ता समितिमा कार्यरत कर्मचारीको तलव भत्ता समयसापेक्ष बृद्धि गर्न र लामो समयदेखि कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न समेत माग गरिएको छ । त्यस्तै उपभोक्ता समितिले गरेका कामहरु र खर्च विवरणका सम्वन्धमा बार्षिक रुपमा समक्षिा तथा सार्वजनिक सुनुवाईको थालनी गर्न समेत माग गरिएको छ । ज्ञापनपत्रमा पार्टीका नगर कमिटि सहइन्चार्ज केशव पौडेल र सचिव नवराज बस्यालले हस्ताक्षर गर्नुभएको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले वर्तमान कार्यसमिति आएपश्चात तानसेनको खानेपानी सुधारका लागि धेरै पहल भएको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेखित सुझाव तथा मागहरुलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

Exit mobile version