Site icon PALPA SAMACHAR

लुम्बिनीको स्वास्थ्य मन्त्री सारूको किशोरीहरुको स्वास्थ्य तथा पोषणमा पहिलो चासो

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधारको निर्णय गर्नुभएको छ । उहाँले महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधि तयारीका लागी मस्यौदा समिति गठन गरी यथासिघ्र मस्यौदा पेश गर्ने गर्ने निर्णय जिम्मेवारी सम्हालेको पहिलो दिनमै गर्नुभयो ।
मन्त्री सारुले महिलाहरुको स्वास्थ्य राम्रो भए समग्र समाजकै स्वास्थ्य राम्रो हुने बताउनुभयो । उहाँले महिलाहरू आमा, दिदीबहिनी, श्रीमती, हजुरआमाको रुपमा परिवारको महत्वपुर्ण हिस्सा भएकोले उहाँहरुको पोषण महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रदेश सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. १ (२) बाट निर्वाचित हुनुभएका सारूले हालै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउनुभयो । उहाँ ५ हजार बढी मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । तत्कालीन जल्पा गाविसको माथिल्लो झेरुदीमा आमा खगीसरा सारु र बुवा जंगबहादुर सारुका ५ सन्तानमध्येका दोश्रो सन्तानका रुपमा २०३६ साल कात्र्तिक ५ गते उहाँको जन्म भएको हो । उहाँले लामो समय पाल्पाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउनुभयो । शैक्षिक तथा राजनीतिक क्षेत्रमा सारुलाई शालीन, भद्र र स्वच्छ छविको नेताको रुपमा धेरैले चिन्छन् ।

सानै उमेरदेखि बहुमुखी प्रतिभाको रुपमा रहनुभएका सारू बाल क्लव, युवा क्लव हुँदै कलेज पढ्दाको समयमा अनेरास्ववियुमा संगठित हुनुभएको थियो । विद्यार्थी राजनीतिमा २०५४ सालमा लाग्नुभएका मन्त्री सारू नेकपा एमालेको गाउँ कमिटि हुँदै जिल्ला कमिटि सदस्य समेत बन्नुभयो । उहाँ सामाजिक संस्था लायन्स क्लवको नेतृत्वमा समेत रहनुभयो ।
उहाँले आधारभूत तहको शिक्षा गाउँमै हालको शम्भु माविबाट लिनुभयो । २०५२ सालमा जनता मावि तानसेनबाट एसएलसी उतीर्ण गर्नुभयो । त्रिभुवन बुहमुखी क्याम्पसबाट अग्रेजी र राजनीतिशास्त्रमा स्नातक पूरा गर्नुभयो । उहाँले तानसेन बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नुभएको छ । तानसेनकै चर्चित बेथल बोर्डिङ स्कुललाई आजको अवस्थासम्म ल्याउन उहाँको अतुलनीय योगदान रहेको छ ।

Exit mobile version