कविता – आसुले नै संसार किन्छिन् नारी

0
416

किन रुन्छिन् नारी
रुन्छिन् धेरै रुन्छिन्
किन रुन्छिन् रुन्छिन्
कठोर मन टुटाएर रुन्छिन्
मुटु फुटाएर रुन्छिन्
तर रुन्छिन् खै किन रुन्छिन्

व्यथा लुकाउन रुन्छिन्
पिर फुकाउन रुन्छिन्
पीडा भगाउन रुन्छिन्
दुःख बगाउन रुन्छिन्
तर रुन्छिन् धेरै रुन्छिन् खै किन रुन्छिन्

लुकी लुकी रुन्छिन्
आँसुले मुख धुन्छिन्
विगतलाई सम्झेर रुन्छिन्
सपना बल्झिएर रुन्छिन्
कति रुन्छिन् रुन्छिन् खोइ किन रुन्छिन्

चाहेर रुन्छिन्
नचाहेर रुन्छिन्
आँखा मिचेर रुन्छिन्
मुटु थिचेर रुन्छिन्
तर रुन्छिन् धेरै रुन्छिन् खै किन रुन्छिन्

आफू जन्मिँदा रुन्छिन्
अन्मिदा रुन्छिन्
आफूले जन्माउँदा रुन्छिन्
अन्माउँदा रुन्छिन्
सम्झेर रुन्छिन्
बिर्सेर रुन्छिन्
तर रुन्छिन् किन रुन्छिन् नारी

सन्तानको दुःखमा दर्दले रुन्छिन्
उनैको सुखमा हर्षले रुन्छिन्
आफ्नो दुःख बिर्सेर रुन्छिन्
मैन जस्तै पग्लिन्छन्
रोइ रोइ सकिन्छन्
किन रुन्छिन् ,धेरै रुन्छिन् आँसु लुकाएर रुन्छिन्।

आमासँग रुन्छिन्
श्रीमानसँग रुन्छिन्
छोराछोरीसँग रुन्छिन्
बुहारीसँग रुन्छिन्
बचपनमा रुन्छिन्
बुढेसकालमा नि रुन्छिन्
साहारा हुँदा नि रुन्छिन् टुट्दा नि रुन्छिन्
तर धेरै रुन्छिन् आँसु दबाएर रुन्छिन्

सम्झाउँदा नि रुन्छिन्
फकाउँदा नि रुन्छिन्
रिसाउँदा नि रुन्छिन्।
साथ पाउँदा नि रुन्छिन्
तर रुन्छिन् भक्कानिएर रुन्छिन्

नारीहरु धेरै रुन्छन् भन्छन्
तर देखाउँदैनन्
सबै पीडा आँसुले धुन्छन्
सबै खुसी आँसुले किन्छन्
त्यही आँसुमा जिन्दगी बुन्छन्
अनि जिउने आधार चुन्छन्

त्यसैले महान छु भन्छिन् नारी
रोएर नि बाँच्न सक्छिन्
रोएर नि हाँस्न सक्छिन्
रोएर नि गाउन सक्छिन्
रोएर नि नाच्न सक्छिन्
खुसी सबै साच्न सक्छिन्

त्यसैले त नारी महान छिन्
आँसुलाई आफ्नो अमृत ठान्छिन्
सुख र दुःखको जित अनि प्रीत मान्छिन्
त्यसैले कमजोर नठान्नु आँसुलाई
आँसुले नै आफ्नो पराई चिन्न सक्छिन्।
आँसुले नै संसार किन्न सक्छिन्
तिनै नारीन हुन्
रुन्छिन् रुन त बग्न दिन्निन्
आँसु घुटुक्क पिउँछिन्
आफू हाँस्दै जगत हँसाउछिन्

शोभा कडरिया कोइराला
माथागढी रुप्से
पाल्पा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here